सुर्खेत:लेकबेसी नगरपालिका–१ लेखफर्साकी २२ वर्षीया संगीता परियार परिवारकी जेठी सन्तान। उनको एक १७ वर्षीय भाइ छन्, संगम परियार। गाउँकै एक किशोरी भगाएर गाउँबाट भागेका उनी अहिले भारतमा छन्।
संगीता १० वर्षको हुँदा नै उनकी आमाले अर्को विवाह गरिन्। मानसिक समस्या भएका बुवा जाँडरक्सीमै भुल्न थालेपछि संगीता र संगमले सानैमा खुब दुःख पाए। घरको अवस्थाका कारण चार कक्षा पढेपछि पढाइ छाड्नुपर्यो।
अर्कोसँग विवाहपछि पनि संगमलाई आमाले लिएर गइन् तर संगीतालाई छाडिदिइन्। उनी हजुरआमासँग बस्न थालिन्। बुढ्यौली लागेकी हजुरआमाकालाई संगीताकै पिर। आफू नबित्दै इष्टलाई हात पार्न पाए भनेर भगवान पुकार्थिन्।
एक दिन कोहलपुरबाट करिब ४० वर्षीय पुरुष विवाहका लागि केटी खोज्दै आए। हजुरआमाले सोचेजस्तै भइहाल्यो। उनले आएको भोलिपल्टै ती पुरुषसँग संगीताको विवाह गरेर पठाइदिइन्, त्यतिबेला उनी मात्र १५ वर्षकी थिइन्।
एक महिनापछि ती पुरुषले रक्सी आएर हिंसा गर्न थालेछन्। संगीता टिक्न सकिनछन् अनि मावली छिञ्चु आइन्। मामा माइजुले खोलाको बालुवा चालेर जीविकोपार्जन गर्थे। उनले पनि एक महिना त्यै काम गरिन्।
तीन वर्षको उमेरदेखि छारे रोगले सताउने गरेकी उनी काम गर्दागर्दै मुर्छा पर्थिन्। काम गर्न पनि सकिनन्। काम नगरेपछि मामाघरमा पनि राम्रो भएन, त्यसपछि छिञ्चुकै एक होटेलमा भाँडा माझ्ने र झाडुपोछाको काम गरिन्।
पाँच हजार रुपैयाँ तलब तोकिए पनि पूरा तलब कहिल्यै पाइनन् संगीताले। त्यो होटलमा छाडेर भेरीगंगाकै सत्तरीमा अर्को होटेलमा काम गरिन्। त्यहाँ पनि त्यस्तै गरेपछि उनले काम नगर्ने निर्णय गरिन्।
त्यसभन्दा अगाडी तीन वर्षसम्म त उनी ठूलो आमाको घरमा बसिन्। यसरी नै कहिले आफन्त र कहिले होटेलमा बसिन्।
आफ्नो उपचारका लागि संगीता भदौ १५ गते वीरेन्द्रनगर आइन्। तीन फूपुमध्ये दुईवटा फूपुको घर वीरेन्द्रनगर बजार आसपासमै छ। उनी कान्छी फुपुको घरमा जाँदा उनले मेरो घर बिग्रन्छ भनेर फर्काइन्।
जेठी फुपुको घरमा जाँदा पनि बास पाइनन्। त्यसपछि उकेराकर्मी र अधिवक्ताको सम्पर्कमा आएकी संगीतालाई उपासना चर्च वीरेन्द्रनरकी पास्टर माया गुरुङको घरमा राखिएको छ। उनको घरमा पनि केही दिन मात्र हो।
वीरेन्द्रनगरस्थित मानव सेवा आश्रम लगायतले पनि ठाउँ नभएको भन्दै उनलाई आश्रय मिलेको छैन।
संगीतासँग अहिलेसम्म न नागरिकता छ न त जन्मदर्ता नै। गाउँका मान्छेहरूले २०५८ सालमा जन्मेको भनेपछि त्यहि आधारमा उनले आफ्नो जन्म र बोलाउने नाम संगीता भएकोले त्यहि बताउँछिन्।
‘म मेरो रोगको उपचार गर्न चाहान्छु। तीन वर्षको हुँदादेखि लागेको यो रोगले बेला–बेला दुःख दिइरहन्छ। नागरिकता बनाइदिने मान्छे पनि कोही छैन,’ संगीताले भनिन्, ‘यही रोगकै कारण मलाई आफन्त र समाजले पत्याउँदैनन्। खान त के बस्न समेत दिँदैनन्। माया गर्नेभन्दा घृणा गर्ने धेरै छन्।’
छारे रोगले च्यापेका कारण उनको मानसिक अवस्था दिनप्रतिदिन गुज्रँदै गएको आश्रय दिइरहेकी माया बताउँछिन्।
‘अहिले संगीताको मानसिक अवस्था राम्रो छैन। मानसिक रूपमा ठिक छैनन् उनी,’ मायाले भनिन्, ‘रोगले धेरै च्यापेको छ। उनलाई अहिले उपचारको खाँचो छ। यहाँ पनि म एक्लै छु। धेरै दिन राख्न सक्ने अवस्था पनि छैन।’ उकेरा
जगतदल । २० भाद्र २०८०, बुधबार २२:४२