सञ्चारकर्मीद्वारा सुर्खेतमा विरोधसभा

सुर्खेत: राजसंस्थाको पुनस्र्थानाको माग राख्दै शुक्रबार भएको प्रदर्शनका क्रममा सञ्चारकर्मी र सञ्चार माध्यममा भएको आक्रमणविरुद्ध नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको अगुवाईमा सुर्खेत स्थित सञ्चारकर्मीहरुले वीरेन्द्रनगर सुर्खेत पिपल चौतारामा विरोधसभा गरेका छन् ।
पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

शुक्रबार भएको राजावादीनिकटको आन्दोलनले हिंसाको रुप लिएको पत्रकार महासंघ सुर्खेत शाखाले ठहर गरेको छ । व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा भएको आन्दोलनमा सहभागी समूहले शुक्रबार तीनकुनेमा गरेको आगजनीमा परी रिपोर्टिङमा खटिएका एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो।

त्यस्तै विभिन्न संचार गृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुंगा हान्ने, सवारी साधन तोडफोड गर्ने र संचारकर्मीलाई आतंकित तुल्याउने काम भएको भन्दै सुर्खेत स्थित सञ्चारकर्मीहरुले उक्त घटनामा संलग्नमाथि कानुनी कारबाहीको समेत माग गरेका छन् ।