सुर्खेत: शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व र दिगो सरकार निर्माणका लागि प्रमुख दुई दलबीच सहकार्य भएको बताएका छन्। आइतबार नेपाल प्रेस युनियन सुर्खेतले सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनचाहना अनुसार संविधान संशोधन गर्दै दिगो र स्थायी सरकार निर्माण गर्नका लागि नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा आएको बताए।
दिगो सरकार चाहियो भन्ने जनचाहना अनुसार प्रमुख दुई दल मिलेर सरकार बनेको हो।’ उनले भने, अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेकाले सोचे अनुसार काम हुन नसकेको पनि स्वीकार गरे । नेपाली कांग्रेसका नेता समेत रहेका सिंहले विधान र संविधानको परिधिभित्र रहेर पार्टी अधिवेशन हुने पनि स्पष्ट पारे । आफू अघिल्लो पटक पनि पार्टी सभापति उठिसकेकाले त्यो भन्दा तल आफ्ना लागि ठाउँ नभएको जिकिर उनको थियो। उनले सरकारले ल्याएको अध्यादेश छिटै पारित हुने पनि जानकारी दिए।
खुलानजर । १८ फाल्गुन २०८१, आईतवार १२:५२