बुवा स्वर्गीय टंकनाथ पाठक (पौडेल) र आमा कमला लक्ष्मी पौडेलको कोखबाट वि.सं. २०३९ साल काठमाडौंमा जन्मिएका डा. केएन पौडेल चिकित्सक हुन् । उनको जन्म काठमाडौंमा भएपनि स्थायी ठेगाना अर्घाखाँची जिल्लाको खिदिम हो । भरतपुरबाट एमबीबीएस गरेका उनले धरानबाट मास्टर्स गरे । २०७२ सालमा लोकसेवाबाट नाम निकालेपछि कर्णालीकै `पोस्टिङ´ रोजेका हुन् । २०७४ सालमा संघीय सरकारअन्तर्गत नवौं तहमा नाम निस्केपनि उनले पुनः कर्णाली प्रदेश अस्पताल नै रोजे । स्वास्थ्य सेवा क्षेत्रमा विगत १० वर्षदेखि उनले कर्णालीको दुर्गम भेगमा रहेर जनताको उपचार गर्दै आएका छन् । सहरका सुविधासम्पन्न अस्पतालहरूमा आकर्षक अवसर हुँदाहुँदै पनि उनले दुर्गम कर्णालीलाई आफ्नो कर्मभूमि बनाएका उनै वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. पौडेलसँग अंगराज परियारले गरेका संघर्ष र सफलताका कुरा :बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झिनुहुन्छ ?
मेरो बाल्यकाल निकै अनुशासनयुक्त वातावरणमा बितेको छ । बुबा पेशाले नेपाल सरकारको अधिकृत हुनुहुन्थ्यो त्यही कारणले होला मेरो बाल्यकालमा विशेष कठिनाइ भोग्नुपरेन । पारिवारिक आर्थिक अवस्था राम्रो भएकाले प्रारम्भिक शिक्षामा माइतीदेवी बोर्डिङ हाई स्कूल, काठमाडौंमा अध्ययनका लागि राम्रो अवसर पाएँ । अभिभावक शिक्षित तथा अनुशासनप्रिय भएका कारण मेरो अध्ययनप्रति झुकाव सानैदेखि नै थियो ।
विद्यार्थी जीवनमा के बन्ने लक्ष्य थियो ?
मलाई बाल्यकालदेखि नै विज्ञानमा रुची थियो । विद्यार्थी जीवनमा विभिन्न विषयहरूमध्ये जीवविज्ञान र स्वास्थ्य विज्ञानमा मेरो रुचि बढ्दै जाँदा राम्रो डाक्टर बन्ने इच्छा थियो । चिकित्सक बन्ने प्रेरणा तपाईंलाई कसरी प्राप्त भयो?
मेरो मेडिकल अध्ययनको यात्रा निकै नै चुनौतीपूर्ण भए पनि रोमाञ्चक रह्यो । उच्च माध्यमिक शिक्षा अमृत साइन्स क्याम्पसमा क्ष्क्अ उत्तीर्ण गरेपछि घरपरिवारको सल्लाहअनुसार मैले मेडिकल पढ्ने निर्णय लिएँ । प्रवेश परीक्षामा उत्तीर्ण भएपछि म नेपालकै प्रतिष्ठित मेडिकल कलेजमा भर्ना भएँ।
मेडिकल अध्ययनको यात्रा कस्तो रह्यो?
अध्ययनको सुरुवाती दिनहरू निकै कठिन थिए । जीवविज्ञानका गह्रुँगा सिद्धान्तहरू बुझ्नुपथ्र्यो, लामो समय अध्ययन गर्नुपथ्र्यो, अनि थुप्रै प्रयोगात्मक अभ्यासहरू गर्नुपर्ने हुन्थ्यो । तर समयसँगै मैले सिक्ने तरिका सुधारेँ, अनुभव बढाएँ, अनि मेरा गुरुहरू र सहपाठीहरूको सहयोगले अघि बढेँ । क्लिनिकल प्राक्टिसको समय झन् रोमाञ्चक रह्यो । जब वास्तविक बिरामीहरूसँग संवाद गर्ने अवसर पाइयो, तब मैले किताबहरूमा मात्र पढेको ज्ञानलाई व्यवहारमा उतार्न सक्ने भएँ । बिरामीहरू निको हुँदा आएको खुसीले मलाई अझै राम्रो चिकित्सक बन्ने प्रेरणा दियो । एमबीबीएस पुरानो मेडिकल कलेज, भरतपुर । एमडी बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पास गरेको हो ।
अध्ययनपछिको यात्रा कस्ताे भयाे ?
मेडिकल अध्ययनपछिको यात्रापनि निकै दुख गर्नुपर्ने भयो । चितवनमा डेढ वर्ष अडिएपछि २०७२ साउनमा निजी अस्पतालमा काम गर्ने गरी सुर्खेत आएपछि मैंले तीन महिना सुर्खेत अस्पतालमा काम गरें । त्यसपछि स्वयंसेवकका रूपमा प्रदेश अस्पताल सुर्खेतमा प्रवेश गरें । चार महिना काम गरिसकेपछि म सोही अस्पताल व्यवस्थापन समितिको निर्णयमा करार सेवामा नियुक्त भएको थिएँ । २०७२ सालमा लोकसेवाबाट नाम निकालेपछि मैंले कर्णालीकै पोस्टिङ रोजे । २०७४ सालमा संघीय सरकारअन्तर्गत नवौं तहमा नाम निस्केपनि आफूले काम गरेको अस्पतालको विभागमा गरेको काम सम्झिएँपछि मेरो मनलाई कर्णालीमै तान्यो ।
कर्णाली नै किन रोज्नुभयो ?
म आउनुभन्दा पहिले यहाँ १-२ जना फिजिसियन केही समयका लागि मात्र आएर जानुभएको थियो । त्यसपछि मैले काम गर्न सुरु गरेको हो । म यहि अस्पतालमा मात्रै सीमित नभएर म दुर्गम गाउँमा पुगेर साथीभाइसँग मिलेर स्वास्थ्य शिविर पनि चलाएको छु । शिविर लिएर जाजरकोट पुगेको छु । महामारी फैलिएका बेला हुम्लाको ताजाकोट गाउँपालिकामा गएको छु । रुकुमदेखि दैलेखसम्म पुगेको अनुभव पनि छ ।
कर्णाली किन बसेको ? सिनियर डाक्टर होस्, पैसा पनि कमाएकै छस् । सुर्खेतमा राखेर छोराछोरीलाई किन पढाएको ? भनेर अप्रत्यक्ष रुपमा मलाई धेरैले प्रश्न गरेका छन् । यसकारण मेरो बुझाइमा कर्णालीले अझै पनि पर्याप्त डाक्टर पाएको छैन । नौ वर्षयता मैंले सुर्खेतमै कर्मथलो बनाएर बसेको छु मलाई यो भन्दा सुविधा किन चाहियो र ? ठिक छ सेवाग्राही म प्रति सन्तुष्टि छन् यही नै हो मेरा लागि सुविधा ।

कर्णालीमा धेरै डाक्टरले किन भविष्य देख्दैनन् ?
यो प्रश्नमा मेरो आफ्नै उत्तर छ । जुन ठाउँमा बस्ने हो, त्यही ठाउँमा भविष्य बनाउने हो भन्ने सोच धेरै डाक्टरको हुने भएकाले डाक्टरहरू कर्णालीमा आउन नसकेको मेरो बुझाइ छ । अरू जिल्लाको डाक्टर आएर जिन्दगी नै कर्णालीमा बिताउँछु भन्ने वातावरण तयार गर्न सक्यो भने मात्र डाक्टर यहाँ आउँछन् । नभए १-२ वर्षलाई बढुवाका लागि आउने जाने अवस्था मात्रै रहन्छ ।
दुर्गम स्थानका नागरिकलाई सेवा प्रदान गर्दा ठूलो चुनौती के छ ?
यहाँका दुर्गम स्थानमा स्वास्थ्य सेवा प्रदान गर्नुपर्दा सबैभन्दा ठूलो चुनौती बिरामीहरूको पहुँच हो । धेरै टाढाबाट आउने बिरामीहरूले यातायात खर्चमै १५ देखि २० हजार रुपैयाँसम्म खर्च गर्नुपर्छ । यस्तो अवस्थामा ‘के उपचार गर्ने, के भाडा तिर्ने?’ भन्ने अवस्था आउँदा मन साँच्चै खिन्न हुन्छ । त्यसैगरी, यहाँ आवश्यक औषधि र उपकरणहरूको अभाव पनि ठूलो चुनौती हो । कयौँ पटक बिरामीको तत्काल उपचार गर्नुपर्ने अवस्थामा औषधि वा उपकरण नपाएर अन्यत्र रेफर गर्नुपर्ने बाध्यता हुन्छ । यसले समयमै उपचार नपाएर ज्यान गुमाउने जोखिम बढाउँछ ।
अर्को समस्या स्वास्थ्य जनशक्तिको अभाव हो । दुर्गम क्षेत्रमा स्थायी रूपमा सेवा दिन इच्छुक डाक्टर, नर्स र स्वास्थ्यकर्मी कम छन् । अलि सुविधायुक्त ठाउँमा जाने सोच धेरैको हुने भएकाले यहाँ स्थायी जनशक्ति टिक्दैनन् ।
बिरामीको सेवा गर्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ?
लामो सयमसम्म एउटै अस्पतालमा भएकाले बिरामीसँग भावनात्मक सम्बन्ध पनि विस्तार भएको छ । बिरामीको सेवा गर्न पाउदा खुसी लाग्छ । बिरामीहरूको सेवा गर्नु मेरो पेशामात्र होइन यो मेरो मन, भावना र समर्पणसँग गाँसिएको कर्तव्य हो । लामो समय एउटै अस्पतालमा काम गर्दा बिरामीहरूसँग आत्मीय सम्बन्ध बन्न पुगेको छ । उनीहरूको पीडा बुझ्दै उपचार गर्न पाउँदा एक अनौठो सन्तुष्टि मिल्छ । जब कुनै बिरामी स्वस्थ भएर धन्यवाद दिन्छन्, त्यो पल मेरो लागि सबैभन्दा ठूलो पुरस्कार जस्तै लाग्छ ।
कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवामा के सुधार गर्नुभयो ?
कर्णालीको प्रादेशिक राजधानी सुर्खेतमा रहेको अस्पताललाई सुविधा सम्पन्न बनाउँदै जाने जिम्मेवारी पनि यहीँ कार्यरत चिकित्सकको हुन्थ्यो । त्यसकारण म लगायत यहाँका चिकित्सकको पहलमा अस्पतालमा अहिले डायलाइसिसदेखि आइसीयु सेवासम्म विस्तार भइसकेको छ । अस्पतालमा अहिले ६ जना विशेषज्ञ चिकित्सक छन् । यहाँ मुटुरोगको केही सेवा मैंले नै सुरु गरें । अहिले विस्तार हुँदै गएको छ । मुटुरोग विशेषज्ञ सहितको टिमले अस्पतालमै मुटुको इको सेवा दिइरहेका छन्।
विशेषज्ञ चिकित्सकहरु भएपछि अस्पतालमा विशेषज्ञ सेवाहरु पनि विस्तार हुँदै गएको छ । म १० वर्ष अघि आउँदा त विशेषज्ञ चिकित्सक नै थिएनन्, अहिले विशेषज्ञ चिकित्सक पनि थपिएका छन्, सेवाहरु पनि विस्तार भएको छ । अस्पतालमा हाल १२ वटा डायलाइसिस मेसिनहरु जडान गरिएका छन् । हेपाटाइटिस बी, हपाटाइटिस सी पोजिटिभ बिरामीका लागि पनि छुट्टै डायलाइसिस मेसिन दुईवटा र आइसीयु पनि छुट्टै व्यवस्थापन गरेर सेवा दिइरहेको छौं ।
हाल अस्पतालमा कर्णालीका १० जिल्लाका बिरामीहरु उपचारका लागि सुर्खेत प्रादेशिक अस्पतालमा आउने गर्छन् । विशेषगरी दैलेख, कालिकोट, सल्यान, जाजरकोट, लगायतका जिल्लाबाट धेरै बिरामी आउछन् । जुम्ला, हुम्लाका केही बिरामी पनि आउने गरेका छन् । मुटुका बिरामीहरुलाई एन्जियोग्राफी तथा एन्जियोप्लाष्टी सेवा भने अस्पतालमा नभएकोले हृदयघातका बिरामीलाई रेफर गर्नुपर्ने अवस्था रहेको छ ।
भावी कार्ययोजना के छ ?
मरो भावीयोजना कर्णालीमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न टेलिमेडिसिन सेवा थप प्रभावकारी बनाउने, दुर्गम क्षेत्रमा स्वास्थ्य सुधार गर्ने, गम्भीर रोगहरूको उपचार सुविधा बढाउने, जनचेतना फैलाउने, स्वास्थ्यकर्मीलाई तालिम दिने र अस्पतालको सेवा विस्तार गर्ने योजना बनाएको छु । कर्णालीको सेवा गरेर म अझै अघाएको छैन अझैं सेवा गर्नु बाँकी नै छ ।

खुलानजर । १२ चैत्र २०८१, बुधबार ०७:१७