समूह प्राविमा वृक्षारोपण कार्यक्रम सम्पन्न

पञ्चपुरी : ‘हाम्रो विद्यालय, हरित विद्यालय’ भन्ने नाराका साथ पञ्चपुरी नगरपालिका–६ स्थित कर्णाली प्रदेशको नमुना विद्यालय समूह प्राथमिक विद्यालयको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न जातका ८५ वटा बिरुवा रोपिएको विद्यालयले जनाएको छ । कार्यक्रम पञ्चपुरी नगरपालिका नगर प्रमुख लालवीर भण्डारीको प्रमुख आतिथ्यमा र विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेन्द्र प्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न गरिएको छ । वडा सदस्य अनिता बिक, विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बिष्ट, जनता बहुमुखी क्याम्पसका सोभियु सभापति चेतन नेपाली, स्थानीयवासीहरू, विद्यार्थी, शिक्षक र अभिभावकहरूको समेत सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै वक्ताहरूले वृक्षारोपणलाई हरियाली संरक्षणको मूल आधारका रूपमा लिएर हरेक विद्यालय परिसरमा यस्ता कार्यक्रम अनिवार्य गर्नुपर्नेमा जोड दिए । उनीहरूले जङ्गलको विनाश भइरहेकाले सामुदायिक वन तथा स्थानीय निकायको सहकार्यमा वृक्षारोपणका अभियानहरूलाई व्यापक बनाउनुपर्ने धारणा राखे । नगर प्रमुख भण्डारीले युवाहरूलाई आ–आफ्नो क्षेत्रमा वृक्षारोपणमा जुट्न आग्रह गर्दै सामुदायिक वन चौर तथा खुल्ला क्षेत्रमा बोटबिरुवा रोपेर हरियाली अभियानमा सक्रिय भूमिका खेल्नुपर्ने बताए । कार्यक्रमको समन्वय समूह प्राविका शिक्षक, व्यवस्थापन समिति र स्थानीय सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा गरिएको थियो ।