भोलीबाट सुर्खेतमा प्रादेशिक औद्योगिक प्रदर्शनी हुने

सुर्खेत: कर्णाली प्रदेश सरकारले लघु घरेलु तथा साना उद्यमीहरुको उत्पादन प्रवद्र्धन, बजारीकरण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले भोली (शुक्रबार) देखि २२ गतेसम्म तीनदिने प्रादेशिक औद्योगिक प्रदर्शनी आयोजना गर्ने भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतद्वारा आयोजित यो प्रदर्शनी वीरेन्द्रनगर–७ स्थित लघु औद्योगिक ग्राममा आयोजना हुने छ । प्रदर्शनीका लागि कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष ०८१-०८२ मा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
कार्यक्रमको मूल उद्देश्य कर्णाली प्रदेशका विभिन्न जिल्लामा रहेका लघु तथा घरेलु उद्योगहरुको उत्पादन, गुणस्तर, परिमाण, र ब्रान्डिङको जानकारी सर्वसाधारण, व्यापारी र सरकारी निकायमा पु¥याई बजार विस्तार र उपभोग बढाउने हो । यसबाट स्थानीय कच्चा पदार्थ परम्परागत प्रविधी, उद्योग र जनशक्तिको प्रवद्र्धन हुने विश्वास गरिएको निर्देशनालयका निर्देशक देविलाल सापकोटाले बताए । असार २० गते र्यालीसहित वीरेन्द्रनगर बजार परिक्रमा हुनेछ,भने उद्घाटन समारोह ११ः३० बजे हुनेछ, यस्तै सांस्कृतिक कार्यक्रम, र उद्योग अवलोकन असार २१ गते, उद्योग प्रदर्शनी, मूल्यांकन, र सांस्कृतिक प्रस्तुती असार २२ गते र समापन समारोह १ बजे हुने जनाइएको छ । पुरस्कार तथा प्रमाणपत्र वितरण, र सांस्कृतिक कार्यक्रम पनि सोही दिन हुनेछ । प्रदर्शनीमा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट ६० भन्दा बढी उद्योगहरू सहभागी हुनेछन् । सहभागी उद्योगमध्ये खाद्य प्रशोधन, प्राङ्गारिक मल, ढाका, च्याउ, आरन, हर्बल चिया, मह, छालाजन्य उत्पादन, अल्लो, वैकल्पिक ऊर्जा बहुमूल्य पत्थर आदिका उद्योग प्रमुख छन् । प्रदर्शनीमा सरकारी, गैरसरकारी, निजी, सहकारी संस्थाहरू, विद्यार्थी तथा आम सर्वसाधारणलाई सहभागी हुन आह्वान गरिएको छ । कार्यक्रममार्फत शैक्षिक संस्थाहरू, सरोकारवाला निकायहरू र उत्पादनकर्ताबीच समन्वय र सहकार्यको अवसर समेत सिर्जना हुने अपेक्षा गरिएको छ । सहभागी उद्योगहरूलाई निशुल्क प्रदर्शनी स्थल, दैनिक खाजा, खाना र वास खर्च, सामान ढुवानी खर्च, तथा यातायात खर्च उपलब्ध गराइने छ । विशेषतः सुर्खेत बाहिरबाट आउने उद्योगहरूलाई आउजाउ खर्च समेत व्यहोर्ने व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट प्रदर्शन गर्ने उद्योगहरूलाई ५०,००० रुपैयाँ (प्रथम), ३०,००० रुपैयाँ (दोस्रो) र २०,००० रुपैयाँ (तेस्रो) पुरस्कार प्रदान गरिनेछ। कार्यक्रमबाट स्थानीय कच्चा पदार्थ, जनशक्ति, प्रविधी र संस्कृतिको प्रवद्र्धन हुने, शैक्षिक संस्थालाई प्रदर्शनी, अन्तरक्रिया तथा कार्यशाला मार्फत शिक्षण अनुभव प्राप्त हुने, र कर्णालीको मौलिक कला–संस्कृति उजागर हुने अपेक्षा गरिएको छ ।