बुवा कर्ण बहादुर सुनार र आमा पुतली सुनारको कोखबाट २०४५ माघ ३० गते चन्दननाथ नगरपालिका –३ जुम्लामा जन्मिएका डा.रत्नवीर सुनार कर्णाली प्रदेश अस्पतालमा इमरजेन्सी मेडिसिन विभागको नवौं तहमा कार्यरत छन् । उनले एमबिबिएस बि.पी इन्चिच्युट अफ हेल्थ साइन्स धरानमा गरेका हुन् भने स्नातकोत्तर एमडि जीपि एन्ड जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन इन्स्टिच्युट अफ मेडिसिन, महाराजगञ्ज चिकित्सा विज्ञान त्रिभुवन विश्वविद्यालय काठमाडौंमा पास गरेका हुन् । डाक्टरी क्षेत्रमा पेशागत शुरुवात मिसन अस्पताल चौरजहारी र केही महिना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सेवा गरेपछि उनले २०७२ सालमा आठौं तहको लोकसेवामा नाम निकालेपछि मुगु जिल्लामा पोस्टिङ्ग भए । उनै सुनारसँग अंगराज परियारले गरेको संघर्ष र सफलताको कुरा :
बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झनुहुन्छ ?
मेरो बाल्यकाल सामान्य परिवारमा सुख दुःखमा बित्यो । गाउँको शान्त वातावरणमा हुर्किएको हुँ । बुवा पेशाले सिकर्मी गर्नुहुन्थ्योे । आमाले खेतबारीमा काम गर्नुहुन्थ्यो । आर्थिक रुपमा कमजोर भएकाले परिवार पाल्नको लागि बुवाले धेरै दुःख पाउनुभयो । म कक्षा एकदेखि १० सम्म गाउँकै चन्दनाथ माध्यमिक विद्यालयमा पढेको हुँ । मेरो सानैदेखि पढाई राम्रै हुँदा जहिले नि प्रथम हुन्थें । एसएलसीमा पनि प्रथम भएँ । राम्रै अंकले पास गरेको हुँदा सरहरुले पनि काठमाडौं गएर राम्रो विषय लिएर पढ भन्नुभयो । त्यही सल्लाहमा काठमाडौं झरेँ । त्यो बेला दलित समुदायमा काठमाडौंमा आएर उच्च शिक्षा हाँसिल गर्ने कमै थिए । सानैदेखि पढाई राम्रो भएकाले शिक्षकहरुले पनि राम्रो विषय लिएर पढ भनेर सल्लाह दिनुभयो । सबैको सल्लाहले गर्दा साइन्स पढ्ने निर्णय गरेँ । मैंले आइएसी काठमाडौं विश्वविद्यालय धुलिखेलमा पुरा गरेँ ।
विद्यार्थी जीवनमा के बन्ने लक्ष्य थियो ?
त्यो बेला स्वास्थ्य क्षेत्रमै जागिर खाने मन थियो । एसएलसीमा जिल्ला प्रथम भएपछि विज्ञान संकाय पढ्नको लागि काठमाडौंमा झरें । पढाई सकाएपछि एमबिबिएसको तयारीमा लागेँ । पछि छात्रवृत्तिमा नाम निस्कियो । जेहोस एमबिबिएस पढ्ने अवसर पाएँ ।
चिकित्सक पढ्न के कुराले प्रेरित हुनुभयो ?
गाउँमा त्यो बेला रोगब्याधीले गर्दा मानिसहरु उपचार नपाएर अकालमा धेरैले ज्यान गुमाउन पर्यो । एकबेला जुम्लामा हैजा झाडापखाला र कालाजर निकै फैलियो । त्यसको लागि उपचार गर्ने गाउँमा राम्रो अस्पताल थिएन । सिटामोलको नपाईने ठाउँमा अस्पताल भएर पनि के साध्य ? मृत्युको मुखमा पुगेका गरिब मानिसहरुलाई बाँच्न सम्भव थिएन । हुनेखानेले मात्र औषधी पाउँथे । गाउँमा सिमए पढेको छ भने पनि ठूलै मानिन्थ्यो । धामी र झाँक्रीकै अन्धविश्वासले गर्दा धेरैले ज्यान गुमाए । बेला बेलामा मनमुटुलाई घोचिरहन्थ्यो कि यस्ता विद्यमान रोगब्याधीको उपचार गर्न डाक्टर बन्नु पर्छ भनेर यी कुराले मलाई उत्प्रेरित गर्यो । मलाई लाग्यो यो समाजमा राम्रो डाँक्टर भएर आयो भने उनीहरुको राम्रै उपचार गर्दा यो समाजमा रोगब्याधीले थलिएकाहरुका मानिसहरुको उपचारका लागि डाक्टर पढ्ने निधो गरेँ ।

चिकित्सक पढाइको यात्रा कस्तो रह्यो ?
मैंले एमबिबिएस बि.पी इन्चिच्युट अफ हेल्थ साइन्स धरानमा गरेको हुँ । पहिलो कुरा त बढी मात्रामा मेहनतमा नखटेपछि एमबिबिएस पढ्न सजिलो छैन । अध्ययनको सुरुवाती दिनहरू निकै कठिन थिए । एमबिबिएस सजिलै पढिने विषय पनि होइन । मेरो सानैदेखि पढिरहने बानी भएकाले राम्रै भयो । आधा त सरकारले व्यहोरेको थियो केही घरबाटै खर्च गर्नुपर्ने हुन्थ्यो । समस्या भनेको समयमै पैंसा नआउँदा गाह्रो हुन्थ्यो । जीवविज्ञानका सिद्धान्तहरू रट्नै पर्ने । बुझ्नका लागि १० पटकसम्म पढ्नुपर्ने हुन्थ्यो । प्रयोगात्मक अभ्यास नगरेपछि झन भारी हुन्थ्यो । दोस्रो वर्षदेखि क्लिनिकल अभ्यास सुरु भयो । प्रत्यक्ष बिरामीहरूसँग काम सिक्दा किताबमा पढेको कुरा व्यवहारमा उतार्न सक्ने अवस्था आयो । एमबिबिएस पढाई सकिएपछि केही समयसम्म अस्पतालमा काम गरेँ । केही रकम जम्मा भएपछि स्नातकोत्तर एम. डी. इन जनरल प्र्याक्टिस एण्ड इमर्जेन्सी मेडिसिनमा इन्स्टिच्युट अफ मेडिसिन, महाराजगञ्ज चिकित्सा विज्ञान त्रिभुवन विश्वविद्यालय काठमाडौंमा पास गरेँ । २०७२ सालमा आठौं तहको लोकसेवामा नाम निस्केपछि जिल्ला अस्पताल मुगुमा पहिलो पाेष्टिङ भयाे । त्यसपछि मिसन अस्पताल रुकुममा गएँ ।
सरकारी जागिरको अनुभव कस्तो रह्यो ?
मेरो २०७२ सालमा आठौं तहको लोकसेवामा नाम निस्केपछि पहिलो पोष्टिङ मुगुमा भयो । त्यहाँबाट मेरो सरकारी जागिरको यात्रा सुरु भयो । मुगुपछि भोजपुर, जुम्ला, कालिकोट, डोल्पा र दैलेखको जिल्ला अस्पतालमा काम गरेँ । अनुभवका विषयमा कुरा गर्ने हो भने कर्णालीको दुर्गम ठाउँका अस्पतालका स्वास्थ्य क्षेत्रको व्यापक रुपले अनुभव बटुल्ने मौका पाएँ । हाल म बैशाखदेखि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा नवौं तहमा कार्यरत छु । यो चिकित्सक पेशा अत्यन्तै संवेदनशिल र जिम्मेवारी भएकोले अनुभवले राम्रै भइरहेको छ ।
दलित समुदायबाट डाक्टर बन्न सजिलो कि गाह्रो ?
मेरो हकमा भन्ने हो त गाह्रो यो संसारमा गाह्रो भन्ने केही छैन । हुनत म पढने बेला अहिलेको जस्तो सजिलो त थिएन । तर असम्भव पनि छैन । मैले कहिल्यै म दलित हुँ भनेर कहिल्यै हार मानिन । मलाई लाग्छ मेहेनत गर्ने मान्छे कहाँबाट आएको हो भन्नेले फरक पार्दैन । सरकारबाट दलितका लागि केही कोटा र छात्रवृत्तिको व्यवस्था छ । तर धेरैले त्यो अवसरको सदुपयोग गर्न सक्दैनन् । प्रतिस्पर्धामा टिकिरहनका लागि पढाइमा अल्छि गर्नुहुँदैन भन्ने मेरो मान्यता हो । मानिसहरुमा बढी अल्छि छ त्यसले झन् असर गर्छ । मेहनत र लगाव नै सफलताको कडी हुन् । अर्को कुरा म के भन्न चाहान्छु भने पढने उमेरमा राजनीतिमा सहभागी हुन्छौं । अलिअलि पढाईमा अलिअलि नेता बन्न खोजेपछि प्रगती गर्न गाह्रो छ । यसकारण पढ्ने बेलामा नेतागिरी गरेर भविष्य गुमाउनु हुँदैन ।
बिरामीको सेवा गर्दा कस्तो अनुभूति हुन्छ ?
विरामीको सेवा गर्नु भनेको मेरो लागि पेशा मात्र होइन । त्यो त धर्मजस्तै हो । एउटा बिरामीलाई उपचार गरेर ठिक पार्न सक्छु, उसको अनुहारमा आएको खुसी हेर्दा मलाई जुन सन्तुष्टि मिल्छ । विशेषगरी कर्णालीजस्तो क्षेत्रमा गरीब पीडित, बाटो नपाएका मान्छेहरू मलाई हेरेर भरोसा गर्छन् । यस्तै बिरामीहरुको सेवा गर्दा कहिलेकाहीं थकान लाग्छ, गाह्रो हुन्छ, तर बिरामी हाँसेर जान थालेपछि त्यो सबै थकान बिर्सन्छु । जनचेतनाको कुरामा म अझ सक्रिय छु ।
स्वस्थ जीवन जिउन के गर्नपर्ला ?
कर्णालीमा उपचारात्मक सेवासँगै जनस्वास्थ्यको सेवालाई प्रभावकारी बनाउन धेरै जोडबल गर्न जरूरी छ । किनभने रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हो । हामीले हाम्रो समाजमा जनस्वास्थ्यका धेरै उपायहरु अपनायौ भने धेरै मानिसहरू स्वस्थ जीवन जीउन सक्छन । यसको लागि जनचेतनामूलक कार्यक्रमहरुको अहम भूमिका रहन्छ । किनभने रोग लागि सकेपछि जति सुकै विशिष्टकृत सेवा दिएपनि व्यक्तिको स्वास्थ्य पूर्ण रूपमा स्वस्थ रहँदैन ।
डाक्टर पढ्न चाहनेहरुका लागि केही सुझाव छ ?
पहिलो कुरा डाक्टर बन्ने सपना देख्नु राम्रो कुरा हो । तर त्यो सपना सजिलोचाहिँ छैन । यो यात्रा निकै चुनौतीपूर्ण हुन्छ । पढाई कठिन छ । धैर्यपनि चाहिन्छ । अर्को कुरा, पढाइप्रति गहिरो लगाव र अनुशासन चाहिन्छ । डाक्टरमा पनि आफूभित्र सेवा गर्ने भावना हुनुपर्छ । केवल प्रतिष्ठा, पैसामा मात्र नभएर अरूको पीडा बुझ्नुपर्छ । त्यसैले म भन्न चाहन्छु आफ्नो लक्ष्यमा स्पष्ट रहनुस अलमलमा नपर्नुस् ।
भावी योजना के छन् ?
खासमा भन्नुपर्दा मेरो त्यस्तो योजना केहि छैन । कर्णालीका विकट गाउँहरूमा अझै पनि धेरै बिरामीहरू उपचारको अभावमा अकालमै ज्यान गुमाइरहेका छन् । खासगरी गरिब, अशक्त र दूरदराजका बासिन्दाहरू उपचारको पहुँच बाहिर छन् । त्यसैले मेरो भावी योजना भनेको कर्णालीका तमाम दुर्गम जिल्लाहरूमा पुगेर, सम्भव भएसम्म म मेरो पेशापर्ती सधैं बफदार भएर काम गर्नेछु । स्वास्थ्य क्षेत्रमा काम गर्नु एकदम जोखीम मोलेर काम गर्नुपर्छ । त्यसको लागि म पछी हट्ने छैन ।
अन्त्यमा केही छ ?
मेरो जीवनको संघर्ष, अनुभव र विचारलाई स्थान दिनुभएकोमा यहाँलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । म ग्रामीण, सीमान्तकृत समुदायबाट आएको एक सामान्य व्यक्ति हुँ । तर सपना ठूलो थियो । त्यो सपना पुरा गर्न मैले निरन्तर मेहनत गरें । आज म जुन स्थानमा छु, त्यसका पछाडि मेरा आमाबुवाको त्याग, मेरो इमानदार श्रम, र समाजप्रतिको उत्तरदायित्वको भावना छ । सकेसम्म राम्रो गर्नेछु नसके नराम्रो गर्ने छैन ।

अंगराज परियार । २६ असार २०८२, बिहीबार ०९:२५