सुर्खेत: जाजरकोटको छेडागाड नगरपालिका—६ का ५३ वर्षीय भद्रबहादुर खड्कालाई जुनेचाँदे गाउँपालिका—४ लुवादह जान मजकोटखोला तर्नुपर्छ । एक ग्रामीण सहकारी संस्थामा कार्यरत उनी खोलामा पुल नहुँदा दैनिकजसो तुइन तर्न बाध्य छन् । ‘गाउँनजिकै पुल छैन, तुइन चढ्दा हातखुट्टामा चोटपटक लाग्ने, खस्ने जोखिम सधैं हुन्छ,’ उनले भने, ‘खोलामा बाह्रै महिना पानी धेरै हुन्छ, सोझै खोला तर्नुभन्दा कम जोखिम हुने भएकाले दैनिकजसो तुइन तर्नुको विकल्पै भएन ।’ बचत रकम र कर्जा असुलीका लागि दैनिकजसो तुइनबाट दुवै गाउँ पुग्ने गरेको उनले बताए । स्नातक अध्ययनरत रोमन विकलाई ज्ञानकुञ्ज क्याम्पस दशेरा जान तुइन नतरी हुँदैन । ‘एक घण्टा टाढाको अर्को गाउँबाट पुल तरेर जाँदा पढाइ छुट्ने भएकाले तुइनबाटै जान्छु,’ उनले भने, ‘पुल भए सुरक्षित, सजिलो र छोटो हुन्थ्यो, तर पुल निर्माणमा कसैले चासो दिएनन् ।’ उनीसहित १० जना विद्यार्थी तुइन तरेरै क्याम्पस पढ्न जाने गरेका छन् । तुइनबाट खसेर तीन वर्षअघि २ जनाले ज्यान गुमाएका थिए भने वर्षमा ४÷५ जना घाइते हुने गरेको उनले जानकारी दिए । जुनेचाँदे—४, छेडागाड—४ र ६ का स्थानीयले सहजताका लागि आठ वर्षअघि आफैं तुइन निर्माण गरेका हुन् । तर तुइनका लट्टा र कसिएका तारमा खिया लागेकाले स्थानीय जोखिमै जोखिममा वारपार गर्न बाध्य छन् । तुइनबाट दैनिक ५० जनाले वारपार गरेको जुनेचाँदे—४ का वडाध्यक्ष हरिबहादुर खड्काले बताए । उनका अनुसार मजकोटखोलाको बिराखोला र लामाताडामा झोलुंगे पुल निर्माण गरिएको छ । तर ती पुल तर्न स्थानीयलाई कम्तीमा एक घण्टा हिँड्नुपर्ने उनले जानकारी दिए । मजकोटखोलामै जुनेचाँदी—४ लुवादह र ११ नम्बर वडाको पाँगा जोड्ने अर्को तुइन छ । ११ नम्बर वडाको स्वास्थ्य जान बिरामीलाई पनि तुइन चढ्नुपर्ने बाध्यता रहेको आधारभूत विद्यालय लुवादहका शिक्षक कमल शर्माले बताए । ‘उतातिर अलि ठूलो बजार पनि छ, त्यसैले किनमेलका लागि दैनिकजसो तुइन चढ्नुपर्छ,’ उनले भने, ‘तुइन जीर्ण बनेकाले खस्ने हो कि भन्ने जोखिम सधैं हुन्छ, कहिलेकाहीँ त बीचमै तुइन अड्किँदा गाउँबाट मान्छे बोलाउनुपर्छ ।’ उनका अनुसार तुइनबाट खसेर दुई वर्षअघि एक जनाले ज्यान गुमाएका थिए भने बर्सेनि ४-५ जना घाइते हुने गरेका छन् । त्यसैगरी जुनेचाँदी गाउँपालिका—१ स्थित स्यालतडादेखि सिमलतडा जोड्ने तुइनमा पनि दैनिक १० देखि २० जनाले आउजाउ गर्छन् । सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–२ कुनिकका बासिन्दा भेरी नदीमा पुल नहुँदा हिउँदमा ट्युब र बर्खामा तुइनबाट वारपार गर्दै आएका छन् । झोलुंगे पुलको माग पूरा नभएपछि स्थानीयले आफ्नै खर्चमा नदी तर्न दुई वर्षअघि तुइन निर्माण गरेका थिए । बर्खामा ट्युबबाट तर्न नसकिने भएकाले तुइन हालेका हुन् । हुम्ला कर्णाली नदीस्थित हुम्लाको सर्केगाड गाउँपालिकाका—२ रिपगाउँ र कर्णाली करिडोर जोड्न दुई वर्षअघि नेपाली सेनाले बनाएको तुइनबाट दैनिक ३० जनासम्म स्थानीय वारपार गर्छन् । ‘पुल तर्न डेढ घण्टा टाढाको दुलीमुण्डी पुग्नुपर्छ,’ स्थानीय मनिराज बुढाले भने, ‘कर्णाली करिडोरबाट आउने खाद्यान्न र गाउँको उत्पादन बाटोसम्म पु¥याउन पनि यही तुइनकै भर छ ।’ उही तुइनबाट झण्डै एक दर्जन स्थानीय जनप्रतिनिधि दैनिकजसो आउजाउ गर्ने गरेपनि पुल निर्माणमा कसैले चासो नदिएको उनले गुनासो गरे । हुम्लामै चंखेली गाउँपालिका—४ को नेप्का र लोतीगाउँ जोड्न कर्णाली नदीमा अर्को तुइन बनाइएको छ । चंखेली—४ का वडाध्यक्ष पदमबहादुर शाहीले पुल निर्माण नहुँदा स्थानीय सास्ती भोग्दै तुइन चढ्न बाध्य भएको बताए ।
सरकारले तुइन विस्थापन घोषणा गरेको १० वर्षसम्म पनि कर्णालीका सर्वसाधारण अझै पनि तुइनबाटै नदी वारपार गर्न बाध्य छन् । २०७२ मा केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदा दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । तर, त्यसको दशकसम्म पनि जाजरकोट, हुम्ला र सल्यानका दर्जन बढी स्थानमा स्थानीयले तुइनबाटै वारपार गरिरहेका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार तुइनबाट खसेर आर्थिक वर्ष २०७६-०७७ यता ५ वर्षको अवधिमा ८ जनाले ज्यान गुमाएका छन् भने तुइनबाट खसेर २३ जना घाइते भएका छन् । एक वर्षयता भने तुइनबाट खसेर कसैको ज्यान नगएको प्रहरीको तथ्यांक छ । तर एक वर्षमा तुइनबाट खसेर ७ जना घाइते भएको कार्यालयले जनाएको छ । कर्णाली प्रदेशभरि कति तुइन छन् भन्ने तथ्यांक कुनै पनि निकायमा छैन । प्रदेश सरकारले चालु आर्थिक वर्षभित्र कर्णालीलाई तुइनमुक्त बनाउन नीति तथा कार्यक्रममा घोषणा गरेको छ । जसको कार्यान्वयनका लागि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जेठ २६ गते मातहतका निकाय र स्थानीय तहहरुका लागि सार्वजनिक सूचना जारी गरेको थियो । यो वर्ष प्रदेश सरकारले तुइन विस्थापित गरी झोलुंगेपुल निर्माण गर्न १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
खुलानजर । ५ श्रावण २०८२, आईतवार १३:११