सुर्खेत: कर्णालीमा ३ सय ११ वटा सहकारी दर्ता भई सञ्चालनमा रहेका छन् । कर्णाली प्रदेशमा स्थापना भएका सहकारीहरूमा बचतकर्ताको रकम सुरक्षित रहेको पाइएको छ । सुप्रिम, सूर्यदर्शन, शिव शिखरलगायत सहकारीका सञ्चालक र कर्मचारीको मिलेमतोमा बचतकर्ताको रकम अपचलन गरेर बदनाम बनाउन खोजिएको सिंगो सहकारी क्षेत्रको साख कर्णालीमा भने सुरक्षित देखिएको भूमि व्यवस्था तथा सहकारी रजिष्टार कार्यालय सुर्खेतका वरिष्ठ शाखा अधिकृत भीमबहादुर कार्कीले बताए । ‘यहाँका सबै सहकारीहरू संकटमुक्त छन् । नियमित अनुगमन र सुपरिवेक्षणका क्रममा अन्य प्रदेशमा जस्तो कर्णालीमा बचतकर्ताको रकम जोखिम छैन,’ उनले भने, ‘सहकारीहरूमा १ लाख ८२ हजार ५०३ महिला र ७९ हजार ८२० पुरुष गरी दुई लाख ६२ हजार ३२३ जना शेयर सदस्य छन् ।’ शाखा अधिकृत कार्कीका अनुसार यी सहकारीहरू प्रदेश सरकार मातहतमा दर्ता भएका हुन् । जसअन्तर्गत सुर्खेतमा १०२ सहकारी दर्ता भएका छन् । त्यस्तै, दैलेखमा ३७, जुम्लामा ३४, कालीकोटमा ३२, जाजरकोटमा २७, सल्यानका २५, रुकुमपश्चिममा २३, हुम्लामा १५, मुगुमा ११ र डोल्पामा पाँचवटा सहकारी प्रदेश मातहत दर्ता भएका छन् ।
कार्कीले कर्णालीमा दर्ता भई सञ्चालनमा रहेका सहकारीमा भुलवस हुने गल्तीबाहेक सञ्चालक र कर्मचारीमा कुनै खालको बदनियत नरहेको दाबी गरे । कर्णालीका १० जिल्लालाई कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेका सहकारीहरूको कुल पुँजी १७ अर्ब रहेको उनले बताए ।
कार्कीले भने, ‘कार्यालयमा दर्ता भएका सहकारीहरूको शेयर पुँजी १७ अर्ब ५३ करोड ८३ लाख ३१ हजार, कुल बचत ८ अर्ब १९ करोड ४४ लाख छ भने कुल ऋण लगानी ११ अर्ब ५१ करोड ६४ लाख छ ।’ उनका अनुसार कर्णालीका सहकारीको कुल सम्पत्ति तथा दायित्वः १४ अर्ब छ । यी सहकारीबाट महिला ५७६ र पुरुष ५२२ गरी एक हजार ९८ जनाले प्रत्यक्ष रोजगारी पाएको शाखा अधिकृत कार्कीले बताए ।
सहकारीको संख्याअनुसार रोजगारी सिर्जनाको अवस्था भने कमजोर रहेको उनको भनाई छ । उनका अनुसार कारोबार कम हुनुले रोजगारी सिर्जनामा चुनौती छ । कर्णालीमा बचत तथा ऋण, कृषि, बहुउद्देश्यीय, उपभोक्ता, जडीबुटी, तरकारी बिउ उत्पादन, सामाजिक उद्यमी, विद्युत्, वैकल्पिक ऊर्जा, मौरीपालन, सञ्चार, साना किसान, स्वास्थ्य, पर्यटन, वातावरण संरक्षण, निर्माण मजदुर, दुग्ध, घरेलु, शैक्षिकलगायत सहकारी सञ्चालनमा छन् । उनले कार्यालयबाट सहकारी दर्ता, नियमन र प्रवद्र्धन गर्दै आएको बताए ।
‘सहकारी शिक्षा कार्यक्रमलाई निरन्ता दिँदै आएका छौँ । सहकारी संघ संस्थाको निरन्तर अनुगमन गरी सुधारसँगै बदलिँदो परिस्थितिमा सहकारीमा देखिएका बेथितिलाई सुधार गर्ने प्रयास निरन्तर भइरहेका छन्,’ शाखा अधिकृत कार्कीले भने ।
सरोकारवालाहरूले भने राज्यले सहकारी दर्ता र नवीकरण मात्र नभई प्रवद्र्धनमा ध्यान दिनुपर्ने माग गरेका छन् । सहकारी अभियान्ता हरिहरनाथ योगीले राज्यले सहकारी दर्ता गरेको तर प्रवद्र्धनको पाटोमा ध्यान पुर्याउन नसकेको बताए । उनले पछिल्लो समय २३ वटा ठूलो कारोबार भएका सहकारीका कारण सिंगो नेपालकै सहकारी क्षेत्र बदनाम बन्न पुगेको दाबी गरे । ‘३२ हजार सहकारीले वित्तीय क्षेत्रमा पु¥याएको योगदानलाई एकाध व्यक्तिको बदमासीसँग जोडेर सिंगो सहकारी क्षेत्रलाई बदनाम गर्ने काम भएको छ,’ उनले भने, ‘यसो हुनुको प्रमुख कारण नै राज्य हो । सहकारी क्षेत्रमा विद्यमान कानुनी व्यवस्था कार्यान्वयनमा राज्य चुक्दा अहिलेको अवस्था आएको हो ।’
उनले कर्जा सूचना केन्द्र, बचत सुरक्षण प्रवद्र्धन कोष कार्यान्वयन नहुँदा सहकारी क्षेत्रमा टाउको दुखाइको विषय बनेको बताए । पछिल्लो समय सहकारीका सञ्चालक र कर्मचारीलाई हेरिने दृष्टिकोण चिर्न आवश्यक रहेको उनको भनाई थियो । यस्तै, अर्का अभियन्ता चन्द्र थानीले सहकारी दर्ता, नियमन र प्रवद्र्धनमा राज्य गम्भीर हुनुपर्ने बताए । सरकारले सहकारीलाई तीनखम्बे अर्थ नीतिमा समावेश गरेको भए पनि यसको प्रवद्र्धनमा ध्यान दिन नसकेको गुनासो गरे । अर्का अभियन्ता शान्ति सिंहले प्रभावकारी अनुगमनको पाटोमा सरकारको उदासिनताले कतिपय सहकारीहरू भद्रगोल बनेको बताइन् । उनले सहकारीबाट ऋण लिने तर ‘तिर्दैनौँ’ भन्नेलाई राज्यले उन्मुक्ति दिँदा बचतकर्ताको लगानी जोखिममा पर्ने अवस्था आएको बताइन् । बचतकर्ताको रकम ऋण लिएर नतिर्नेलाई उन्मुक्ति दिएर सञ्चालक र कर्मचारीलाई थुन्ने नीतिले समस्या झन् बल्झिने सिंहको दाबी छ ।
यसमा राज्यले सुरक्षाको प्रत्याभूति दिलाउन ढिला गर्न नुहने बताइन् । उनले सहकारी हेर्ने जिम्मेवारी तीनै तहका सरकारलाई दिइँदा थप अन्यौलता सिर्जना भइरहेको दाबी गरिन् । सहकारी सम्बद्ध मौजुदा कानुन, सहकारी कानुनहरूमा भएका पछिल्ला संशोधन, चालु आर्थिक वर्षको बजेटमा सहकारी क्षेत्रको अवस्था, नियामकीय मापदण्डका मुख्य प्रावधान, सहकारी क्षेत्रमा संशोधित ऐन र जारी मापदण्डको प्रभाव र सहकारी क्षेत्रको आगामी मार्गदर्शनका बारेमा सरोकारवाहरुले ध्यान दिन सुझाव दिएका छन् ।

खुलानजर । ५ मंसिर २०८२, बिहीबार १०:१६