राउटे समुदायले पाए तीन महिनाको भत्ता

सुर्खेत : सुर्खेतको लेकवेशी नगरपालिकामा अस्थायी रूपमा बसोबास गर्दै आएका लोपोन्मुख राउटे समुदायले तीन महिनाको सामाजिक सुरक्षा भत्ता पाएका छन् । दैलेखको गुराँस गाउँपालिकाले शनिबार राउटे बस्तिमै पुगेर भत्ता वितरण गरेको हो ।
भत्ता वितरण कार्यक्रममा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसी, उपाध्यक्षसहितको जनप्रतिनिधि टोली कर्मचारीहरू सहभागी भई भत्ता वितरण गरेका हुन् । गाउँपालिकाका अनुसार १ सय ३७ जना राउटे समुदायका सदस्यलाई मासिक तीन हजार रुपैयाँका दरले तीन महिनाको भत्ता वितरण गरिएको हो । प्रत्येक व्यक्तिलाई १२ हजार रुपैयाँका दरले रकम हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले लोपोन्मुख राउटे समुदायको जीवनयापन सहज बनाउन भत्ता समयमै उपलब्ध गराउने प्रयास गरिएको बताए । ‘राउटे समुदायको बसाइँसराइको अवस्थालाई ध्यानमा राख्दै बस्तिमै पुगेर भत्ता वितरण गरेका हौं,’उनले भने, ‘सरकारले उपलब्ध गराउने सुविधाबाट कोही पनि बञ्चित नहोस् भन्ने हाम्रो उद्देश्य हो ।’
गाउँपालिकाका अनुसार केही दिनअघि मात्रै राउटे समुदायका प्रतिनिधिले माघे सङ्क्रान्ति (माघ तिहार) मनाउन आर्थिक आवश्यक परेको भन्दै गाउँपालिका अध्यक्ष विसीलाई फोनमार्फत जानकारी गराएका थिए । त्यसपछि गाउँपालिकाले आवश्यक तयारी गरी बस्तिमै पुगेर भत्ता वितरण गरेको हो ।
राउटे समुदायका अगुवाहरूले भत्ता समयमै प्राप्त हुँदा दैनिक जीवनयापन र चाडपर्व मनाउन सहज भएको बताएका छन् । उनीहरूले भत्ता वितरणका लागि गाउँपालिका र जनप्रतिनिधिप्रति धन्यवाद व्यक्त गरेका छन् । हाल राउटे समुदाय लेकवेशीमा अस्थायी रूपमा बसोबास गर्दै आएको छन् । परम्परागत घुमन्ते जीवनशैली अपनाउँदै आएको यो समुदायलाई राज्यले लोपोन्मुख आदिवासी जनजातिका रूपमा सूचीकृत गरेको छ । संघीय सरकार र स्थानीय तहले सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा र संरक्षण सम्बन्धी कार्यक्रममार्फत राउटे समुदायको जीवनस्तर सुधारका प्रयास गर्दै आएका छन् ।