११ वर्षीया बालिकाको बलात्कारमा यसरी बन्यो लेनदेनको कागज !

सुर्खेत : गत साउन ४ गते दिउँसो वीरेन्द्रनगर–१२ मा दिदीको कोठामा दिउँसै बलात्कारको सिकार बनिन् ११ वर्षीया बालिका। उनकी दिदी  वीरेन्द्रनगरमा कोठा भाडामा बस्थिन्। उनी त्यही बसेर एक विद्यालयमा कक्षा पाँचमा पढ्दै थिइन्।
दिउँसो सोही वडाका २१ वर्षीय मनन सापकोटा, २५ वर्षीय कृष्ण रिजाल उनको कोठामा आए। कृष्ण बाहिर बसे। मननले बलात्कार गरे। त्यतिबेला बालिकाका दिदी र दाइले बजारमा काम गर्न गएका थिए।
साँझ सात बजेतिर बलात्कार गर्न मनन र कृष्ण पुन: बालिकाको कोठामा पुगे। कृष्ण बाहिर बसेर मान्छेको आवतजावत हेरिरहेका थिए भने, मनन किशोरीको कोठामा पस्नै लागेका थिए।
त्यतिकैमा पीडित बालिकाकी दिदी र उनका भाइ उनीहरूलाई समाते। गंगाले मननलाई र उनका भाइले कृष्णलाई समातेर प्रहरीलाई खबर गरे। दिदीको हातबाट मनन भाग्न सफल भए। कृष्णलाई प्रहरीले पक्राउ गरेर ल्यायो।
मुद्दा मिलाउन चलखेल शुरू भयो। तर, जबर्जस्ती करणीको मुद्दा चल्यो। त्यतिबेलासम्म मनन फरारै थिए।
कृष्णलाई अदालतले घटनामा संलग्न भएको भन्दै धरौटीमा छोड्यो। मननलाई पक्राउ गर्न प्रहरीले खोजी तीव्र पार्यो। मनन पक्षबाट यो घटना मिलाउन पीडितको दिदीलाई अनेक लोभ देखाइयो।
पीडित किशोरीको विवाह आफ्नै छोरासँग गराइदिने, डेढ कट्ठा जग्गा पास गरिदिने, काठमाडौंमा पढाइदिने लोभ देखाइयो। विपक्षीका आफन्त, नजिकका जनप्रतिनिधि र विपक्षीका वकिलले दिदीलाई फकाउन थाले। सर्त थियो बयान बदल्ने।
साधारण लेखपढसम्म गर्न नजान्ने दिदीलाई फकाएर उनीहरू लेनदेनको मुद्दा बनाउन लागे। मननको परिवारले पीडितकी दिदिबाट तीन लाख रूपैयाँ ऋण लिएको र त्यसको चेक बुझाएको कागज बनाइयो।
पुस १४ गते बनाइएको कागजमा एनआईसी एसिया बैंक सुर्खेत शाखाको चेक नम्बर ००३९०४९००३२३०१ पुस महिनाको २५ गतेभित्र साटिनेगरी पीडितको दिदीलाई बुझाइएको बनाइयो।
सोही अनुसार दिदीलाई कागजमा औंठाछाप गर्न लगाइयो। तर, कागज बनेपछि चेक विपक्षीले नै लिए। कागज मात्रै दिएर पठाए। उनले चेक माग्दा ‘यही महिनाभित्र नगद दिन्छौं अहिले नै तिमीलाई के चाहियो’ भनेर थामथुम पारे।
लेनदेनको कागज मनन सापकोटाको घरपरिवारको नाममा नबनाएर आफ्नी सम्धीनी नाता पर्ने वीरेन्द्रनगर-१२ कै ३४ वर्षीय विष्णु खड्काको नाममा बनाइयो। मुद्दा लेनदेनमा मिल्ने भएपछि मनन फागुनमा पक्राउ परे।
पीडित बालिकाको बयान बदलियो अदालतमा। चैत २२ मा मनन एक लाख रूपैयाँ धरौटीमा छुटे। पीडितको दिदीले न पैसा पाइन् न पीडितले न्याय।
पीडितको दिदी अहिले आफूलाई परिबन्धमा पारेर मुद्दा कमजोर बनाइएको बताउँछिन्।
‘यो घटनामा मलाई लोभ, लालच देखाएर परिबन्धमा पारियो, यसको मुख्य भूमिका विपक्षी वकिल उत्तम आचार्यले खेल्नुभयो। बहिनीको जीवन बनाउँछौँ, काठमाडौंमा पढाइदिन्छौं, जग्गा पास गर्छौँ, छोराको बिहे गरिदिन्छौँ भनेपछि मैले पनि बहिनीको भविष्य बन्छ भने ठिकै छ भनेर उनीहरूले भनेअनुसार गरेँ,’ पीडितकी दिदीले भनिन्- ‘अहिले न न्याय भयो, न त उनीहरूले कागज र बोले अनुसारको वाचा पूरा।’
कागज लेख्ने लेखापढि व्यवसायी बलाराम सापकोटा र विपक्षबाट वहस गर्ने वकिल उत्तम आचार्य मनन सापकोटाका नातेदार भएर यो स्थिति सिर्जना भएको पीडितको दिदीको दाबी छ।
‘हामीलाई केही पनि जानकारी नै भएन, कोही आफ्नो मान्छे पनि भएन, उनीहरूले जे सिकायो त्यहि भन्यौँ। अहिले उल्टै गाउँ समाज र छिमेकीले हामीलाई हेर्ने नजर नै फरक छ,’ पीडितको दिदीले भनिन्, ‘जाजरकोटका हामी यहाँ कोठाभाडामा बस्छौं, दलितहरूलाई भाडामा राख्दा समाज नै बदनाम भयो भनेर हेला गर्छन्। विपक्षीका वकिलले समेत देखिस् मेरो पावर भनेर खिस्याउँछन्। हामीलाई त मर्नु न बाँच्नु भाछ।’
‘दिउँसो आएका मान्छेले मात्रै आफूलाई बलात्कार गरेको र साँझ आएकाले बलात्कार नगरेकाे तथा दिउँसो आएकालाई आफूले चिन्दिनँ’ भनेर विपक्षीका वकिलले भन्न लगाएको पीडित बालिका बताउँछिन्।
‘उत्तम सरले अदालतभित्र मलाई एक्लै लिएर, दिउँसो आएकाले बलात्कार गरेका हुन्, उनीहरूलाई चिन्दिन, साँझ आएका मननहरूले आफूलाई केही नगरेको भन्न लगाउनुभयो, बयानमा मैले त्यही भनें’, पीडितले भनिन्, ‘यहाँ पाँचमा पढ्थेँ, अहिले त्यही कारणले छोडेर गाउँ नै फर्किएकी छु। अहिले गाउँ समाजमा मलाई यो त यस्ती हो भनेर जिस्क्याउँछन्।’
दोषी धरौटीमा छुट्दा आफ्नो मनमा चिसो लाग्ने गरेको भन्दै धन-पैसाभन्दा पनि उनलाई कारबाही गरे मात्रै न्यायको अनुभूति हुने उनी बताउँछिन्।
यता विवक्षीको तर्फबाट वकालत गरेका अधिवक्ता उत्तम आचार्यले आफूले पीडितले भनेजस्तो केही जालझेल नगरेको र विपक्षीको तर्फबाट वकालत गरेको दाबी गरे।
‘मैले मिलायो भनेर तपाईंलाई कसले भन्यो? उनीहरूले जे भन्यो तपाईंले त्यही विश्वास गर्नुहुन्छ भने त मेरो भन्नु केही छैन,’अधिवक्ता आचार्यले टेलिफोनमा भने, ‘यस्ता खालका कुरा म बाट हुन्छ त!’
दुवै पक्षले लेनदेनको कुरा भएको भन्दै कागज बनाइदिन अनुरोध गरेपछि बनाएको लेखापढी व्यवसायी बालाराम सापकोटाले बताए।
‘त्यो घटनाको विषयमा मलाई कुनै जानकारी नै थिएन। दुवै पक्ष आएर लेनदेनको कागज बनाइदिनपर्यो भनेपछि मैले बनाएर वडामा प्रमाणित गर भनेको थिएँ,’ लेखापढी व्यवसायी सापकोटाले भने, ‘चेक त जसले कागज बनाएका हुन् उनैसँग थियो, पछि पैसा मिलिहाल्छ, अहिले के चेक चाहियो? भनेर यहाँबाट गएका हुन्। त्यसपछि हाम्रो कुरा केही भएन।’ उकेरा