सुर्खेतका खड्काले गरे लुबुचेकाे सफल आरोहण 

सुर्खेत:  सुर्खेतका कृष्णबहादुर खड्काले खुम्बु क्षेत्रको लुबुचे हिमालको सफल आरोहण गरेका छन्।
वीरेन्द्रनगर–७ इत्रामका खड्काले अघिल्लो साता ६ हजार १२० मिटर अग्लो हिमाल लुबुचेको सफल आरोहण गरेका हुन्।
खड्काले अर्को वर्ष सगरमाथाको आरोहण गर्ने बताएका छन्। ‘त्यसैको तयारीका लागि यो वर्ष लुबुचे हिमाल आरोहण गरेको हुँ,’ उनले भने, ‘अर्को वर्ष सगरमाथाको चुचुरो चुम्ने लक्ष्य छ।’ लुबुचे हिमाल चढ्ने खड्का सम्भवतः कर्णालीको पहिलो व्यक्ति हुन्।
खड्कासँगै सात जना विदेशी नागरिकले पनि लुबुचे हिमाल आरोहण गरेका थिए। ती मध्ये चार जना यहीँ सिजनमा सगरमाथा चढ्दै छन्। उनले हिमाल आरोहण चुनौतीपूर्ण रहेको अनुभव सुनाए।
‘हिमाल आरोहण सजिलो विषय होइन,’ उनले भने, ‘चुनौतीको सामना गर्दै कर्णालीको प्रतिनिधित्व गर्न पाउँदा भने खुसी छु।’
उनले सगरमाथा चढ्ने सानै देखिको सपनालाई साकार पार्ने अभियानमा आफू लागेको बताए।
 ‘घर–परिवार र कर्णालीवासीको माया र ममताले यो सपना साकार हुँदैछ,’ उनले भने, ‘लुबुचे हिमाल आरोहण गरिसकेपछि सगरमाथा चढ्ने आँट आएको छ।’
खड्काले अमेरिकामा रहेर कर्णाली र समग्र नेपालको पर्यटन प्रवर्द्धनमा आफू सक्रिय रहेको बताए।
पेशाले इन्जिनियर रहेका खड्का अमेरिकाको फ्लोराडो सहरमा बस्छन्।
‘हिमाल आरोहण गरिसकेपछि कर्णाली र नेपालको पर्यटन प्रवर्द्धनमा अझ सघाउ पुग्छ,’ उनले भने, ‘कर्णाली र नेपालका पर्यटकीय क्षेत्रको अमेरिकामा प्रचार–प्रसार गर्ने काममा लागिरहने छु।’