रातामाटे गाउँ सडक सञ्जालमा जोडिँदा स्थानीयमा खुशीयाली

सुर्खेत: चाैकुने गाउँपालिका वडा नं. ६ स्थित रातामाटे गाउँ सडक सञ्जालमा जोडिएको छ। चाैकुने गाउँपालिका र स्थानीय बासिन्दाको सहकार्यमा करिब १० लाख रुपैयाँको लागतमा करिब २ किलोमिटर सडक निर्माण सम्पन्न भएपछि स्थानीयको दैनिक जीवन सहज बनेको हो।
लामो समयदेखि सडक पहुँचको अभाव झेल्दै आएका रातामाटे गाउँका बासिन्दाले अब सहज आवतजावत गर्न पाउने भएका छन्। सडक निर्माण भएसँगै निर्माण सामग्री ढुवानी, खाद्यान्न ओसारपसार, विद्यालय तथा स्वास्थ्य सेवासम्म पुग्न ठूलो सहजता भएको स्थानीयले बताएका छन्।
नवनिर्मित सडकको स्थलगत अनुगमन चाैकुने गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा प्राविधिकसहितको टोलीले गरेको थियो। अनुगमनका क्रममा सडक पहुँच विस्तारले रातामाटे क्षेत्रमा आर्थिक गतिविधि वृद्धि हुने विश्वास व्यक्त गरिएको छ।
सडक पुगेपछि रातामाटेमा उत्पादन हुने अम्बा, सुन्तला, केरा, तोरीलगायत फलफूल तथा खाद्यान्न बालीले सहजै बजार पाउने भएकाले स्थानीयलाई व्यावसायिक र सम्भावनायुक्त खेतीतर्फ आकर्षित हुन सुझाव दिइएको छ।
सडक निर्माणले गाउँको समग्र विकासमा टेवा पुग्नुका साथै स्थानीयको आयआर्जन बढ्ने अपेक्षा गरिएको छ।