
सुर्खेत: चौकुने गाउँपालिकाले किशोरीहरूको आत्मविश्वास र सुरक्षात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आत्मरक्षा तालिम सञ्चालन गरेको छ। गाउँपालिका वडा नं. ६, ७ र ८ का कक्षा ८ देखि १२ सम्म अध्ययनरत किशोरी छात्राहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो।
किशोरी आत्मरक्षा तालिम २०८२ साल पौष २० गतेदेखि २४ गतेसम्म सञ्चालन हुने छ। चौकुने गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा भएको उक्त तालिममा जीवन ज्योति माध्यमिक विद्यालय झकमके, सिद्देश्वरी माध्यमिक विद्यालय सान्नेघारी र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भट्टेसराका गरी जम्मा ३० जना किशोरी छात्राहरूको सहभागिता रहेको छ।
तालिम कार्यक्रमको सभाध्यक्षता चौकुने गाउँपालिका अध्यक्ष खड्क वि.क.ले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर वि.क., शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टेकेन्द्र बहादुर बुढा, चौकुने गाउँपालिका खेलकुद विकास समिति उपाध्यक्ष विजय वि.क., महिला तथा बालबालिका शाखा प्रमुख मनिषा कुमारी कडेल तथा प्रशिक्षकहरू तेजु गुरुङ र सोना थापाको उपस्थिति रहेको थियो।
कार्यक्रममा मन्तव्य राख्दै शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टेकेन्द्र बहादुर बुढाले नयाँ सुरुवातका रूपमा सञ्चालन गरिएको यस तालिमबाट सहभागी किशोरीहरूले आत्मरक्षा सम्बन्धी व्यावहारिक सीप सिकेर आफ्नो क्षमता विकास गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर वि.क.ले स्रोतसाधनको अभावका कारण हाल सबै वडामा तालिम सञ्चालन गर्न नसकिएको भए पनि नमुनाका रूपमा गुटुबाट सुरुवात गरिएको बताउनुभयो। उहाँले सहभागी छात्राहरूलाई अनुशासित भई प्रशिक्षकले प्रदान गर्ने ज्ञान तथा सीपलाई आत्मसात गर्न आग्रह गर्दै तालिम सफलताको शुभकामना दिनुभयो।
कार्यक्रमका सभाध्यक्ष अध्यक्ष खड्क वि.क.ले आत्मरक्षा सीप अप्ठ्यारो परिस्थितिमा अत्यन्त उपयोगी हुने उल्लेख गर्नुभयो। उहाँले यस प्रकारको तालिमले किशोरीहरूलाई शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा समेत सशक्त बनाउने विश्वास व्यक्त गर्दै तालिमलाई गम्भीरता र अनुशासनका साथ लिन आग्रह गर्नुभयो।

जितबहादुर तिरुवा । २० पुष २०८२, आईतवार २१:१९