सुर्खेत: फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा गाउँ–सहरमा चुनावी चहलपहल तीव्र बन्दै गएको छ । राजनीतिक दलका नेता तथा उम्मेदवारहरू मतदातासँग भेटघाट गर्न गाउँ–गाउँमा पुगिरहेका छन्, घरदैलो अभियान चलाइरहेका छन् र विभिन्न प्रतिबद्धता सार्वजनिक गरिरहेका छन् । तर कर्णाली प्रदेशका धेरै ग्रामीण बस्तीमा भने चुनावी माहोल एकतर्फी देखिन्छ, युवा मतदाता नै गाउँमा छैनन् ।
ग्रामीण बस्तीमा अहिले देखिने मुख्य दृश्य भनेको दलका झण्डा, चुनावी नारासहितका पम्प्लेट र उम्मेदवारको उपस्थितिभन्दा पनि वृद्धवृद्धा र महिलाको मात्र बाक्लो उपस्थिती हो । मतदाता सूचीमा नाम भएका अधिकांश युवा रोजगारीको खोजीमा गाउँ छाडेर बाहिर गइसकेकाले गाउँमा राजनीतिक गतिविधि भए पनि सक्रिय सहभागिता कमजोर देखिएको हो ।
कर्णालीका धेरै युवाहरू रोजगारीका लागि विशेषगरी भारत जाने परम्परा पुरानै हो । पछिल्ला वर्षहरूमा खाडी मुलुक र अन्य देशतर्फ जाने क्रम बढेको भए पनि भारतमा मौसमी तथा अस्थायी रोजगारीमा जाने चलन अझै बलियो छ । खेतीपातीको सिजन, दशैं–तिहारजस्ता ठूला चाडपर्व वा पारिवारिक कामका बेला मात्र गाउँ फर्कने र बाँकी समय विदेशमै बस्ने प्रवृत्तिले ग्रामीण जनसंख्याको संरचना नै परिवर्तन गरेको छ ।
निर्वाचन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारहरू गाउँ–गाउँ पुगेर मत मागिरहेका छन् । तर युवा मतदाता नभेटिँदा उनीहरूको अभियान अपेक्षाकृत प्रभावहीन बन्ने संकेत देखिएको छ । घरदैलो कार्यक्रम गर्दा अधिकांश घरमा वृद्धवृद्धा, महिला वा विद्यालय जाने उमेरका बालबालिका मात्र भेटिनुले गाउँमा युवाको अभाव स्पष्ट झल्किन्छ ।
सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–५ का स्थानीय लोकेन्द्र सिंहराज थापाले अहिले गाउँमा युवाहरू प्रायः नभेटिने गरेकाे बताए । ‘यहाँका युवाहरू खेतीपातीको सिजन र चाडपर्वको बेलामा मात्रै गाउँ आउँछन्, अन्य समय रोजगारीका लागि भारततिर जाने गर्दछन्,’उनले भने, ‘यो चुनाव मंसिर अथवा वैशाखतिर भएको भए धेरै मतदाता गाउँमै हुन्थे । अहिले अकस्मात् राजनीतिक घटनाक्रमले देश निर्वाचनतिर गयो, त्यसैले युवाहरू बाहिरै छन् । चुनावमा सक्रिय सहभागिता कम हुन सक्छ ।’
थापाले गाउँमा निर्वाचनको रौनक बढे पनि मतदाता समूह असन्तुलित देखिएको बताए । उनका अनुसार अहिले गाउँमा महिला र वृद्धवृद्धा मात्र बढी छन्, जसले गर्दा चुनावी बहस, विकासका मुद्दा र भविष्यका योजनामा युवाको आवाज कमजोर बनेको छ । उनले दीर्घकालीन समाधानका रूपमा गाउँमै रोजगारीको वातावरण सिर्जना गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।
साेही ठाउँकी सितादेवी नेपाली पनि गाउँमा युवाको अभावबारे चिन्तित छिन् । उनका अनुसार अहिले अधिकांश युवा जीविकोपार्जनको चिन्ताले विदेशिन बाध्य छन् । ‘राजनीतिभन्दा पनि परिवार कसरी चलाउने भन्ने चिन्ता ठूलो छ,’उनले भनिन्, ‘गाउँमा रहेका अन्य युवाहरू पनि रोजगारी खोज्दै बाहिर जाने तयारीमा छन् । अब निर्वाचित हुने प्रतिनिधिहरूले यही समस्यालाई प्राथमिकतामा राख्नुपर्छ ।’
स्थानीय तहका जनप्रतिनिधिहरूले युवालाई गाउँमै राख्ने उद्देश्यले विभिन्न स्वरोजगार तथा सीपमूलक तालिम कार्यक्रम सञ्चालन गरिरहेको दाबी गरे पनि ती कार्यक्रम पर्याप्त प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो छ । चौकुने गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बान्तोलाले पालिकाले कृषि, पशुपालन, साना उद्योग र सीप विकाससँग सम्बन्धित कार्यक्रम ल्याए पनि युवाहरू दीर्घकालीन आम्दानी सुनिश्चित नदेखेर बाहिरिने गरेकाे बताए । ‘कार्यक्रम सञ्चालन भएका छन्, तर युवालाई गाउँमै टिकाइराख्ने गरी रोजगारीको स्थायित्व दिन अझै चुनौती छ,’उनले भने।
विश्लेषकहरूका अनुसार युवा जनशक्तिको पलायनले निर्वाचनको प्रतिनिधित्वमा पनि असर पार्ने देखिन्छ । गाउँमा बसोबास गर्ने मतदाता समूह उमेरगत रूपमा असन्तुलित हुँदा विकासका एजेन्डा पनि फरक प्राथमिकतामा पर्न सक्छन् । युवा मतदाताको अनुपस्थितिले रोजगार, प्रविधि, उद्यमशीलता र दीर्घकालीन आर्थिक रूपान्तरणजस्ता विषयहरू चुनावी बहसमा कमजोर बन्ने जोखिम हुन्छ । यता, मत माग्न गाउँ पुगेका उम्मेदवारहरूले भने रोजगारी सिर्जना गर्ने, कृषि आधुनिकीकरण गर्ने, साना उद्योग प्रवर्द्धन गर्ने र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रतिबद्धता दोहोर्याइरहेका छन् । तर गाउँमै रोजगारी नहुँदा युवाहरू निरन्तर बाहिरिने चक्र तोड्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न यथावत् छ ।
कर्णालीका ग्रामीण बस्तीमा देखिएको युवा अभाव केवल निर्वाचनसँग सम्बन्धित अस्थायी समस्या मात्र होइन, यो दीर्घकालीन सामाजिक, आर्थिक चुनौती पनि हो । चुनावी चहलपहल बढे पनि गाउँको वास्तविकता भने युवाविहीन बस्ती, वृद्ध र महिलामा सीमित मतदाता सहभागिता तथा रोजगारीको खोजीमा विदेशिन बाध्य पुस्ताको कथा बोकेर उभिएको छ । निर्वाचन सकिएपछि पनि यही मुद्दा समाधानका लागि ठोस नीति, लगानी र कार्यान्वयन आवश्यक रहने देखिन्छ ।

खुलानजर । ४ फाल्गुन २०८२, सोमबार १०:४५