इनिसा विक हत्या प्रकरणका चारै जना बालकलाई बाल सुधार गृहमा पठाउने आदेश

सुर्खेत: बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसा विकको घटनाका चार जना आरोपितहरुलाई जिल्ला अदालत सुर्खेतले बाल सुधार गृह पठाउने आदेश दिएको छ । मंगलबार अदालतका न्यायाधीस दीपक ढकालको इजलासले आरोपित बालकहरुलाई बाल सुधार गृह पठाउने आदेश दिएको जिल्ला अदालत सुर्खेतका सुचना अधिबारी उज्ज्वलदेव राववले जानकारी दिए । ‘चारै जनाविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोगपत्र दायर भएको थियो । घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म बाल सुधार गृहमै राखेर मुद्दा अघि बढाउने आदेश भएको छ,’सूचना अधिकारी उज्वल रावलले भने । अदालतमा सोमबारदेखि थुनछेक बहस चलेको थियो । मंगलबार पनि साढे आठ बजेसम्म पीडत पक्षका आफन्तहरु अदालतको गेटमै धर्ना बसेका थिए । अदालतको आदेश आएसँगै उनीहरु स्वागत गरेका छन् ।


प्रहरीले चैत ११ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत सुर्खेतमा अभियोग पत्र दर्ता गराएको थियो ।
‎‎गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिसा हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् ।
फागुन २३ गते शनिवार बिहान ६ बजे नै प्रयोगात्मक कक्षामा जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् । ‎‎प्रहरीले उनलाई प्रदेश अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले घटनास्थलबाट नै एक १६ वर्षे बालकलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो, जसले इनिसाको प्रेमी भएको बयान दिएका थिए । उनले आफुले अन्य साथीहरुलाई सहयोगका लागि बोलाएको बयानमा भनेका थिए । त्यस्तै १४, १५ र १६ वर्षीय तीन बालकलाई २४ गते प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको प्रहरीले भने सामूहिक नभएर एकल करणी भएको निष्कर्ष निकालेको थियो । यद्यपि, सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालतमा दायर गरिएको अभियोग पत्रमा भने सामूहिक बलात्कार भएको दाबी गरिएको थियो ।

२४ दिनसम्म उठेन शव
इनिसा विकको शव २४ दिनसम्म पनि उठ्न सकेको छैन । उनको शव अझै प्रदेश अस्पतालको शवगृहमा राखिएको छ । शवको दाहासंस्कार बारे परिवारले अझै निर्णय गरेको छैन ।
मृतक इनिसाकी आमा तिला विकले छोरीको हत्यामा संलग्नहरुलाई अदालतले गरेको आदेशको सम्मान गर्दै आगामी दिनमा पनि सत्य, तथ्य र निष्पक्ष न्यायको आसा गरेको बताइन् । घटनाबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सहित नेपाल प्रहरीका चार टोलीले अनुसन्धान गरिसकेको छ ।