लैङ्गिक हिंसाविरुद्ध तीन मन्त्रालयसँग सहकार्य सुरु

काठमाडौं: लैङ्गिक हिंसा, जातीय भेदभाव, छुवाछूत तथा सामाजिक बहिष्करणसँग सम्बन्धित उजुरीहरूको प्रभावकारी सम्बोधन, पीडितमैत्री सेवा प्रवाह तथा आवश्यक कानुनी र नीतिगत सुधारलाई थप सुदृढ बनाउन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तीन मन्त्रालयसँग औपचारिक सहकार्यको प्रक्रिया सुरु गरेको छ।

माननीय मन्त्री सिता बादीको मन्त्रीस्तरीय निर्णयअनुसार गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आधिकारिक पत्राचार गर्दै आ–आफ्नो कार्यक्षेत्रभित्र आवश्यक समन्वय, सहजीकरण र पहल गर्न अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयसँग लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी उजुरीहरूको छिटो, प्रभावकारी र भेदभावरहित सम्बोधन सुनिश्चित गर्न सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयबीच आवश्यक समन्वय गर्न आग्रह गरिएको छ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित कानुनी व्यवस्थाको पुनरावलोकन, आवश्यक संशोधन तथा नीतिगत सुधारका लागि सहकार्य गर्न अनुरोध गरिएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग भने स्थानीय तहसम्म सेवा प्रवाह, समन्वय संयन्त्र तथा सामाजिक न्यायसम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्न आग्रह गरिएको छ।

मन्त्रालयका अनुसार लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणजस्ता विषय एउटै निकायको प्रयासले मात्र समाधान हुन नसक्ने भएकाले अन्तरमन्त्रालयीय समन्वय, साझा जिम्मेवारी र एकीकृत कार्यसम्पादनमार्फत पीडितले समयमै न्याय र आवश्यक सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्नु यस पहलको मुख्य उद्देश्य हो।

मन्त्रालयले जारी गरेको पत्रमा अधिकांश उजुरी तथा गुनासाहरू लैङ्गिक हिंसा, जातीय भेदभाव, छुवाछूत, विभेद तथा सामाजिक बहिष्करणसँग सम्बन्धित हुने उल्लेख गर्दै यस्ता विषय कानुनी, प्रशासनिक र सामाजिक रूपमा संवेदनशील भएकाले प्रभावकारी समन्वय र संस्थागत सहकार्य अपरिहार्य रहेको जनाएको छ।

मन्त्रालयले यस पहलले लैङ्गिक हिंसा तथा सबै प्रकारका विभेदविरुद्ध राज्यका निकायबीचको समन्वयलाई संस्थागत गर्दै पीडितमैत्री, उत्तरदायी र प्रभावकारी सेवा प्रणाली निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।