
सुर्खेत: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहका अधिवेशन तथा नेतृत्व चयन प्रक्रिया अघि बढिरहेका बेला सुर्खेत पश्चिमको चौकुने गाउँपालिकामा युवा नेतृत्वको बहस सुरु भएको छ । चौकुने गाउँपालिका–२ लगामका युवा नेता हरिचन्द्र भण्डारीले गाउँपालिकाको सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै स्थानीय कांग्रेस वृत्तमा नेतृत्व परिवर्तन र पुस्तान्तरणको विषय चर्चामा आएको हो ।
भण्डारीले सामाजिक सञ्जाल फेसबुक मार्फत चौकुने गाउँपालिका सभापति पदमा उम्मेदवारी दिने निर्णय सार्वजनिक गरेका हुन् । उनले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकको सहयोग र समर्थनको अपेक्षा गर्दै आफू नेतृत्वका लागि अघि बढेको बताएका छन् ।
पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र सक्रिय बनाउने तथा कांग्रेसलाई जनस्तरसम्म अझ प्रभावकारी बनाउने उद्देश्यले उम्मेदवारी घोषणा गरेको भण्डारीले बताए । उनका अनुसार पछिल्लो समय राजनीतिक दलप्रति युवा पुस्ताको चासो र अपेक्षा बढिरहेका बेला पार्टीको संगठनात्मक संरचनामा पनि युवाको सक्रिय सहभागिता र नेतृत्व आवश्यक रहेको छ ।
उनले कांग्रेसको परम्परागत संगठनात्मक अभ्यासलाई समयअनुकूल बनाउँदै नयाँ पुस्तालाई पार्टीको मूलधारमा जोड्ने, कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने र स्थानीय तहमा पार्टी संगठनलाई चलायमान बनाउने आफ्नो प्राथमिकता रहेको बताए।
भण्डारीको उम्मेदवारी घोषणालाई चौकुने कांग्रेसमा नेतृत्व परिवर्तनको सम्भावित संकेतका रूपमा समेत हेरिएको छ । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहदेखि गाउँपालिका तथा क्षेत्रीय तहसम्म नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला चौकुनेमा युवा पुस्ताबाट सभापति पदका लागि दाबी प्रस्तुत हुनुलाई संगठनभित्र पुस्तान्तरणको बहससँग जोडेर हेरिएको काँग्रेसका युवा नेताहरु बताउँछन् ।
भण्डारीले आफूलाई कुनै व्यक्तिगत स्वार्थका लागि नभई संगठन निर्माणको उद्देश्यले नेतृत्वको दाबेदारका रूपमा अघि सारेको बताए । उनका अनुसार गाउँपालिकाभित्र कांग्रेसको संगठनलाई थप व्यवस्थित गर्दै प्रत्येक वडा र टोल तहसम्म पार्टी गतिविधि विस्तार गर्न आवश्यक छ ।
‘पार्टीलाई थप सुदृढ, व्यवस्थित र सक्रिय बनाउँदै संगठन विस्तारमा भूमिका खेल्ने उद्देश्यले सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ,’ भण्डारीले भने, ‘युवा पुस्तालाई पार्टीको नेतृत्व र निर्णय प्रक्रियामा अर्थपूर्ण रूपमा सहभागी गराउनुपर्छ ।’
स्थानीय तहमा पार्टीको संगठन बलियो बनाउन युवाको ऊर्जा, प्रविधिको प्रयोग र नयाँ राजनीतिक सोचलाई संगठनात्मक गतिविधिसँग जोड्नुपर्ने उनको धारणा छ ।
चौकुने गाउँपालिका भौगोलिक रूपमा विकट क्षेत्रसमेत भएकाले स्थानीय तहमा पार्टी संगठनलाई प्रभावकारी बनाउन स्थानीय मुद्दा र जनताको दैनिक सरोकारलाई प्राथमिकतामा राख्नुपर्ने भण्डारीको भनाइ छ । शिक्षा, स्वास्थ्य, रोजगारी, सडक, कृषि, युवाको अवसर तथा स्थानीय विकासका सवालमा पार्टीले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्नुपर्ने उनले बताए ।
उनले पार्टीभित्र आन्तरिक एकता कायम गर्दै फरक विचार र पुस्ताबीच सहकार्यको वातावरण निर्माण गर्न आफूले भूमिका खेल्ने प्रतिवद्धता जनाए ।
स्थानीय कांग्रेसका युवा कार्यकर्ताले पनि पार्टीभित्र नयाँ पुस्ताको सहभागिता बढाउनुपर्ने आवाज उठाउँदै आएका छन् । नेतृत्व चयनका क्रममा युवाले जिम्मेवारीका लागि दाबी प्रस्तुत गर्न थालेसँगै कांग्रेसभित्र पुस्तान्तरणको बहस थप बलियो बन्ने देखिएको छ ।
भण्डारीको उम्मेदवारी घोषणासँगै चौकुने कांग्रेसमा नेतृत्वका लागि प्रतिस्पर्धा र आन्तरिक समीकरणबारे पनि चर्चा सुरु भएको छ । यद्यपि अन्तिम नेतृत्व चयन पार्टीको महाधिवेशनअन्तर्गत निर्धारित निर्वाचन प्रक्रियाबाट हुने भएकाले उम्मेदवारी र समर्थनको वास्तविक अवस्था अधिवेशनका क्रममा थप स्पष्ट हुनेछ ।
कांग्रेसको १५औँ महाधिवेशनले वडा तहदेखि पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै जिल्ला र केन्द्रसम्म नयाँ नेतृत्व चयन गर्ने भएकाले स्थानीय तहको नेतृत्व चयनलाई पार्टीको भावी संगठन निर्माणसँग जोडेर हेरिएको छ । यही क्रममा चौकुने गाउँपालिकामा भण्डारीको उम्मेदवारीले युवा पुस्ताको प्रतिनिधित्व र संगठनात्मक परिवर्तनको मुद्दालाई अगाडि ल्याएको छ ।
‘अनुभवी नेताको अनुभव र युवाको ऊर्जा मिलाएर संगठनलाई अघि बढाउनुपर्छ,’उनले भने, ‘नेतृत्वमा पुस्तान्तरणसँगै सहकार्य पनि आवश्यक छ ।’
युवा नेता भण्डारीले स्थानीय निकाय हुँदादेखि स्थानीय तहसम्म पार्टीका विभिन्न कमिटीमा बसेर काम गरिसकेका छन् ।

खुलानजर । ७ आश्विन २०८३, बुधबार ०९:५९