सुर्खेत: इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीसमेतले कर्णाली प्रदेश सरकारविरुद्ध दायर गरेको रिट निवेदनमा उच्च अदालत सुर्खेतले सम्बन्धित पुरानो मुद्दाको मिसिल झिकाउन आदेश दिएको छ। उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारी र न्यायाधीश हरिप्रसाद जोशीको संयुक्त इजलासले मंगलबार उक्त आदेश दिएको हो।
सुवेदीसमेतले कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश प्रमुखको कार्यालय विरुद्ध ०८३ असोज १२ गते उत्प्रेषण तथा परमादेशको माग गर्दै रिट निवेदन दिएका थिए । उच्च अदालत सुर्खेतको असोज १३ गतेको इजलासले निवेदकको माग बमोजिम तत्काल अन्तरिम आदेश दिइरहनुनपर्ने आदेश दिएको थियो । त्यसयता कात्तिक १३ र मंसिर १ गते पेशी तोकिएको थियो । दुई पटक नै दुबै पक्षबाट पेसी सारिएको थियो ।
रिट निवेदनमाथि सुनुवाइका क्रममा निवेदकका तर्फबाट उपस्थित कानुन व्यवसायी र विपक्षी कर्णाली प्रदेश सरकारका तर्फबाट उपस्थित मुख्य न्यायाधिवक्ताको कार्यालयका कानुन व्यवसायीहरूको बहस सुनेपछि इजलासले रिट निवेदनमा उल्लेख गरिएको पुरानो मुद्दाको मिसिल झिकाउने आदेश दिएको हो। रिट निवेदकका तर्फबाट अधिवत्ता पीताम्बर ढकाल, मातृका खनाल, खगेन्द्र खनाल, मंगल सार्की र नवराज चौलागाईलंले वहस गरेका थिए ।
अदालतको आदेशमा रिट निवेदनको प्रकरण १ (घ) मा उल्लेख गरिएको ०७८-WO-००२७ नम्बरको छिनुवा मिसिल अभिलेख शाखाबाट झिकाई अध्ययनका लागि साथै राख्न र नियमानुसार पेस गर्न भनिएको छ।
यस आदेशसँगै अदालतले सम्बन्धित पुरानो मुद्दाको अभिलेख अध्ययन गरी रिट निवेदनको सुनुवाइ प्रक्रियालाई अगाडि बढाउने बाटो खोलेको छ। तर, यो आदेश रिटको मागबारे अन्तिम फैसला भने होइन।
रिट निवेदकहरूले कर्णाली प्रदेशमा मन्त्रिपरिषद् गठनको समावेशीता सम्बन्धी यसअघिको अदालतको आदेशलाई समेत आधार बनाएर रिट दर्ता गरेका थिए । निवेदनमा निवेदक शेरबहादुर खत्रीलगायत र कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत विपक्षी रहेको मुद्दा नम्बर ०७८-WO-००२७ मा उच्च अदालत सुर्खेतबाट ०७८ फागुन १० गते मन्त्रीपरिषद् समावेशी बनाउन आदेश भएको थियो।

खुलानजर । ९ मंसिर २०८३, मंगलवार १५:२१