स्थानीय सरकारको क्षमता अभिवृद्धिका लागि विपद् जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

सुर्खेत । स्थानीय सरकारको क्षमता अभिवृद्धिका लागि विपद् जोखिम व्यवस्थापन सम्बन्धी तीन दिने तालिम बराहतालमा सम्पन्न भएको छ । भदौ २० गते सुरु भई २२ गतेसम्म सञ्चालन भएको तालिम युसएसएआईडी र मर्सिकोर नेपालको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित भकारी कार्यक्रम अन्तर्गत तालिम सञ्चालन भएकाे हाे ।

तालिममा विपद् जोखिम सम्बन्धि नेपाल सरकारको नीतिहरु, स्थानीय विपद् जोखिम व्यवस्थापन ऐन, स्थानीय विपद् जोखिम व्यवस्थापन समितिको काम र कर्तव्यहरु, पूर्व चेतावनी प्रणाली, जोखिमको वित्तीय व्यवस्था, जोखिम हस्तान्तरण संयन्त्र र स्थानीय तहमा विपद् जोखिम व्यवस्थापन कोष सञ्चालन कार्यविधि जस्ता विषयमा सहभागीहरुलाई जानकारी दिइएको छ। सहभागीहरुले सिकाई सँगै नगरपालिकाको विपद् व्यवस्थापनका लागि कार्य योजना समेत तयार पारेको छ ।

तालिम समापन कार्यक्रममा बोल्दै बराहताल गाउँपालिकाका अध्यक्ष भिम बहादुर भण्डारीले स्थानीय विपद् व्यवस्थापन कोषको व्यवस्था गरिएको र आउन सक्ने विपद् तथा जोखिमका लागि पूर्व तयारीका आवश्यक सामाग्रीको पनि तय गरिने प्रतिवद्धता समेत व्यक्त गरे । विपद्काे बेला कसैलाइ पनि भेदभाव नगरी सहयाेग गर्नुपर्ने बताए ।

गाउँपालिकाले नीति र विधिमा रहेर काम गर्नुपर्ने अध्यक्ष भण्डारीले बताए । साथै उक्त तालिम कार्यक्रमबाट बराहताल गाउपालिकाले आफ्नो क्षेत्र भित्र विपद्बाट हुनसक्ने जोखिमलाई न्युनिकरण गर्दै आफ्नो समुदायको अमुल्य जनजीवन, धन सम्पत्ति तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न मानवीय सिद्धान्त, लैंगिक समानता र सामाजिक समावेशितालाई समेत आत्मसात गर्दै तत्काल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि १० बुँदे नेपाल विपद् व्यवस्थापन घोषणा पत्र समेत जारी गरेको छ ।

कार्यक्रममाथि प्रकाश पार्दै भकारी परियोजना संयोजक जनक नारायण आचार्यले स्थानीय तहको सहयोगबाट नै जोखिम न्यूनिकरण गर्न सकिने र कार्यक्रम पनि सफल हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित भकारी परियोजना बराहताल गाउँपालिकाका २, ४,५, ६ र ८ गरी ५ वटा वडाका २३ वटा समुदाय लगायत चौकुने गाउँपालिकाका ५ वडाका १२ समुदाय र पञ्चपुरी नगपालिकाका ४ वटा वडाका १२ समुदाय गरी ३ वटा पालिकाका १४ वटा वडामा ४७ समुदायलाई समेटेर सन् २०२० अक्टोबरदेखि परियोजना लागू गरिएको हो ।

परियोजनाले कृषि, विपद् व्यवस्थापन, उत्पादनमूलक पानी, लैंगिक समानता र समावेशीकरण, आकस्मिक सहयोगका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदम लामिछाने र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत कृष्ण बहादुर रोकायले सहजिकरण गरेको कार्यक्रममा बराहताल गाउपालिकाका अध्यक्ष भिम बहादुर भण्डारी, उपाध्यक्ष लक्ष्मी पुन मगर लगायत सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य गाउँपालिका मातहतका कार्यालय प्रमुख तथा प्रतिनिधिहरु, रेडक्रस सोसाइटीका प्रतिनिधि, प्रहरी चौकी बड्डीचौरका प्रतिनिधि र बजार व्यवस्थापन समितिका प्रतिनिधिहरु लगायत २३ जना सहभागीहरुको सहभागिता रहेको थियो ।