कर्णालीमा कांग्रेस संसदीय दलको नेता जीवन शाही नै हुने पक्का !

सुर्खेत: कर्णाली प्रदेश सभामा पहिलो दल बनेको नेपाली कांग्रेसको संसदीय दलको नेता को बन्छ भन्ने विषयमा अहिले चर्चा हुन थालेको छ । केन्द्रमा दलको नेता चयन हुने प्रक्रिया सुरु भएसँगै कर्णालीमा पनि यसको वहस उत्कर्षमा पुगेको हो ।
४० सदस्यीय प्रदेश सभामा १४ सिट रहेको नेपाली कांग्रेसबाट विषेशगरी दुई जनाले कर्णाली प्रदेश संसदीय दलको नेताका लागि आकांक्षा देखाएका छन् । बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही र जाजरकोटका राजीवविक्रम शाहले संसदीय दलको नेतामा दाबी गरेका छन् । संविधानमा भएकाे व्यवस्था अनुसार मुख्यमन्त्री हुन दलको नेता चयन गर्नुपर्ने भएकोले पनि यसलाई विषेश चर्चाका रुपमा हेर्न थालिएको हो ।
शाही र शाह दुवै जना संस्थापन पक्षका हुन् । कांग्रेसको केन्द्रीय कार्य–सम्पादन समितिका सदस्य समेत रहेका मुख्यमन्त्री शाहीले पुनः मुख्यमन्त्री बन्ने उद्देश्यसहित प्रदेशसभामै फकिएका हुन् भने जाजरकोटमा शक्ति बस्नेतलाई छोड्नुपर्ने भएपछि शाह भने प्रदेशमा झरेका हुन् ।
गठबन्धनका केन्द्रीय नेताहरुले समेत वचन दिएका कारण आफू नै दलको नेता बन्ने र सरकारको नेतृत्व पनि गर्ने कुरामा दुई मत नभएको मुख्यमन्त्री शाहीले बताउँदै आएका छन् ।
यता कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका शाहले भने पार्टीभित्र परिवर्तनको आवाज उठिरहेकोले आफू दलको नेतामा प्रतिस्पर्धा गर्ने दाबी गरेका छन् । तर, दलको नेता जीवन शाहीको बिकल्प नभएकोले शाही नै चयन हुने पक्का भएको कांग्रेसका एक केन्द्रीय पदाधिकारीले ठोकुवा गरेका छन् ।
‘अहिले जसले जे भनेपनि कांग्रेस संसदीय दलको नेतामा जीवन शाहीको बिकल्प नै छैन । विगतमा एक जना मात्रै प्रत्यक्ष निर्वाचित सांसद हुँदा पनि उहाँले सरकारको नेतृत्व गरेर पार्टीलाई अगाडी बढाउनुभयाे,’त्यी पदाधिकारीले भने, ‘ दलको नेता भएको अनुभव छ । जीवनभन्दा सिनियर अरु कोही छैन । त्यसैले केन्द्रबाट हामीले गर्ने निर्णयमा दलको नेता र सरकारको नेतृत्व गर्नेमा जीवन नै पक्का हुन ।’
त्यी पदाधिकारीका अनुसार केन्द्रबाटै जीवनलाई सर्वसम्मतरुपमा दलको नेता चयन गरिनेछ । सोही अनुसार अन्य सांसदहरुलाई पनि पार्टीले गरेको निर्णयमा सहयोग गर्न निर्देशन गरिएको छ ।
यदी दलको नेता चयनका लागि निर्वाचन नै भएपनि कांग्रेसका १४ जना सांसदमध्ये जीवन बहादुर शाही नै बहुमतमा देखिन्छन् । उनलाई संसदीय दलको नेतामा १० जनाले समर्थन गर्नसक्ने र बाँकी ४ जनाले मात्रै राजीवलाई सहयोग गर्नसक्ने कांग्रेस नेताहरूको दावी छ ।
यता नेपाली कांग्रेस कर्णाली प्रदेश समितिका प्रवक्ता दमन शाहीले केन्द्रको निर्देशन अनुसार समयसिमाभित्र दलको नेता छनोट गर्ने बताए ।
‘अहिले हामीलाई केन्द्रबाट त्यस्तो केही आएको छैन । केन्द्रको परिपत्रअनुसार समयसिमाभित्र हामी दलको नेता छनोटको प्रक्रिया अगाडी बढाउँछौं,’प्रवक्ता शाहीले भने, ‘२०७४ मा प्रदेश कार्यसमिति थिएन । अहिले यो संरचना नयाँ भएकोले केन्द्रसँग परामर्श गरेर काम अगाडी बढाउँछौं । सायद सर्वसम्मत नै दलको नेता चयन हुने संकेत छ ।’
निर्वाचन आयोगले शनिबार कर्णालीका प्रदेश प्रमुख तिलक परियार समक्ष निर्वाचन परिणाम प्रतिवेदन बुझाएसँगै कर्णालीमा पनि प्रदेश सरकार गठनको प्रक्रिया अघि बढेको छ । संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुख परियारले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने छन् । अबको एक महिनाभित्र प्रदेश सरकार पनि गठन भइसक्ने छ ।
प्रदेशसभाको ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले शपथ गराउने छन् । सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेल सभामुखको भूमिकामा ज्येष्ठ सदस्य रहनेछन् । ज्येष्ठ सदस्यले नै अन्य प्रदेशसभा सदस्यलाई शपथ गराउने छन् । त्यो बेलासम्म दलहरुले संसदीय दलको नेता चयन गरिसक्नुपर्ने प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख-उपसभामुखको निर्वाचन गराइसक्नुपर्ने हुन्छ ।
प्रदेशसभामा १३ सिटसहित दोस्रो दलको हैसियत नेकपा (माओवादी केन्द्र) ले र १० सिटसहित तेस्रो दलको हैसियत एमालेले बनाएको छ ।
यस्तै नेकपा एकीकृत समाजवादी र राप्रपाले १-१ सिटमा प्रतिनिधित्व गरेका छन् भने एक जना स्वतन्त्र सांसद छन् । प्रदेशमा सत्तारुढ गठबन्धनको बहुमत छ । गठबन्धनभित्रका दलहरु कांग्रेस, माओवादी र समाजवादीको गरी २८ सिट छ । कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा भने गठबन्धनको केन्द्रस्तरको निर्णयले तय गर्नेछ ।

यी हुन् नेपाली कांग्रेसबाट निर्वाचित सांसद
प्रत्यक्ष
हुम्ला (२) जीवनबहादुर शाही
जाजरकोट (२) राजिवविक्रम शाह
सुर्खेत (१) खड्ग पोखरेल
जाजरकोट (१) वेदराज सिंह
सल्यान (२) सुरेश अधिकारी
दैलेख–१ (१) पुर्णबहादुर खत्री
दैलेख–१ (२) कृष्ण विसी
दैलेख–२ (१) घनश्याम भण्डारी
कालीकोट (२) हिक्मतबहादुर विष्ट
समानुपातिक
सुर्खेत– बलिमाया बुढा
सुर्खेत – जानकी सिंह
हुम्ला– बिजया बुढा
दैलेख– इन्द्राकुमारी शाही
सल्यान– लक्ष्मी सुनार