कर्णालीका दलित सांसदको एउटै स्वर–‘संसदमा दलित समुदायको आवाज बोल्छौं’

सुर्खेत: कर्णाली प्रदेशसभामा निर्वाचित दलित सांसदहरुले संसदमा दलित समुदायको आवाज बोल्ने प्रतिवद्धता व्यक्त गरेको छन् । शुक्रबार सुनचाँदी व्यवसायी संघ सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशसभाका नवनिर्वाचित दलित प्रदेशसभा सदस्यहरुलाई सम्मान कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
हुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद रणसिंह परियारले समग्र दलित समुदायको आवाज संपदुमा राख्ने बताए ।
‘प्रदेशसभामा मेरो आवाज सिमान्तकृत र दलित समुदायको पक्षमा हुनेछ । यो समुदायको पेसा, व्यवसाय र हकअधिकारका लागि निरन्तर आवाज उठाउने छु,’उनले भने, ‘प्रदेशमा अड्कीएर रहेको दलित विधेयकलाई छिटो अगाडी बढाउने हामी सबै सांसदको मुख्य अजेण्डा रहनेछ ।’
उनले दलित समुदायको हकअधिकार र पेसा व्यवसायका लागि आवश्यक पर्ने कानुनहरु बनाउने र बनेका कानुनहरुको कार्यान्वयनमा आफु सदैब लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै दैलेखखकी एमालेबाट समानुपाति सांसद बनेकी गौमता विकले आफुहरु संसदमा एक ढिक्का भएर दलित समुदायको समस्या र त्यसको समाधानका लागि पहल गर्ने बताइन् ।
‘दलित समुदायका थुप्रै समस्याहरु छन् । पेसा व्यवसायहरु लोप हुने अवस्थामा छन् । जातिय विभेदकै कारण धेरै दलितहरुले ज्यान गुमाउनु परेको छ,’उनले भनिन्, ‘त्यसका विरुद्ध हामी संसदमा एकढिक्का भएर बोल्नेछौं ।’
                                                                       डोल्पाकी माओवादीबाट समानुपातिक सांसद बनेकी उर्मिला विश्वकर्माले पाँच वर्षसम्म दलित समुदायको समस्या र विभिन्न मुद्दामा संसदमा आवाज उठाएर अगाडी बढ्ने बताइन् ।
‘कर्णाली प्रदेशमा दलितको समुदायको संख्या धेरै छ । दलितका समस्याहरु पनि धेरै छन् । हिमाल, तराई, पहाड सबै ठाउँका दलितका पीडा उही हुन्,’यनले भनिन्, ‘त्यी पीडाहरुमा कसरी मलहम लगाउन सकिन्छ, त्यही विषय नै मेरो मुख्य अजेण्डा हुनेछ । दलितका हक अधिकारका लागि कानुन बनाई त्यसको कार्यान्वयनमा हामी दलित माननीयहरु एकजुट हुनेछौं ।’
सरकार गठनको पहिलो चरणमा नै दलित समुदायको प्रतिनिधित्व हुनेगरी पार्टीमा छलफल भइरहेको उनको भनाई छ ।
सुनचाँदी व्यवसायी संघ सुर्खेतका अध्यक्ष ज्ञानेन्द्र विश्वकर्माले खलो प्रथाबाट व्यवसायमा आएक दलितहरुको हकअधिकारको विषयमा निर्वाचित सांसदहरुले आवाज उठाउनुपर्नेमा जोड दिए ।
सुनचाँदी व्यवसायी संघ सुर्खेतका वरिष्ठ उपाध्यक्ष लालबहादुर सुनारले दलित समुदायका विधायकहरुले हकअधिकारका लागि आवाज उठाउने आशा व्यक्त गरे ।
उनले दलितका सवाल र मुद्दामा काम गर्न अनुरोध गरे । सचिव चित्र सुनारले दलितहरुको हकअधिकारको रक्षा गर्न दलित सांसदहरुले दिएकोभन्दा पनि रोजेको मन्त्रालय पाउनुपर्ने बताए । कार्यक्रममा कालिगढ संघ सुर्खेतका अध्यक्ष राजेश सुनार, संघका महासचिव मोहन सुनारले पुख्यौली पेसा र हकअधिकारका लागि सांसदहरुको आवश्यक पहल गर्न सुझाव दिएका थिए ।
सल्यानकी कांग्रेसबाट समानुपातिक सांसद बनेकी लक्ष्मी सुनार भने कार्यव्यतताका कारण कार्यक्रममा आउन सकिनन् ।
कर्णाली प्रदेशसभामा माओवादीबाट दुई, एमाले र कांग्रेसबाट एक–एक जना प्रदेशसभा सदस्यहरु छन् । जसमध्ये हुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद रणसिंह परियार मात्र हुन् । अन्य तीन जना समानुपातिक हुन् । ४० सदस्यीय प्रदेशसभामा २०७४ पाँच जना दलित सांसद्को प्रतिनिधित्व थियो । जसमध्ये दुइ जना मात्रै प्रत्यक्ष निर्वाचित सांसद थिए ।