सडक विभागले जथाभावी काम गर्दा खानेपानीको पाइपलाइनमा करोडौंको क्षति

काठमाडौं : ढलको काम गर्दा सडक विभागले वनस्थली क्षेत्रमा मेलम्चीको पाइपलाइनमा थप ठूलो क्षति पुर्‍याइदिएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का अनुसार बिहीबार चक्रपथ सडक विस्तार आयोजना अन्तर्गत चक्रपथको वनस्थली क्षेत्रमा ढल निर्माण गर्दा नयाँ ठूला पाइपलाइनमा क्षति पुगेको छ ।

क्षति पुगेका कारण उक्त पाइपलाइनबाट कीर्तिपुरमा रहेको खानेपानी ट्याङ्कीमा हुँदै आएको मेलम्चीको खानेपानी आपूर्ति अवरुद्ध भएको छ ।

काठमाडौं चक्रपथ सडक विस्तार आयोजनाले वनस्थली क्षेत्रमा ढल निर्माणका क्रममा खानेपानीका ठूला पाइपहरु रहेको चेम्बर देखिएको जानकारी गराए लगत्तै आयोजना प्रबन्धकसहितको टोली र सडक विभागको टोलीले निरीक्षण गरेको थियो ।

निरीक्षणका क्रममा खानेपानीका पाइपलाइनमा क्षति नपुग्ने गरी काम गर्न निर्देशन दिएर टोलीहरु फर्केलगत्तै निर्माण व्यवसायीका कामदारहरुले काम गर्ने क्रममा खानेपानी पाइपलाइनमा क्षति पुर्‍याएको पीआईडीले जनाएको छ ।

‘पाइप फुटेर निस्किएको मेलम्चीको खानेपानी ढलबाट प्रवाह गराइएका कारण वनस्थली क्षेत्रको सडकमा पानी जम्न नपाएको स्थलगत अवलोकनबाट देखिएको छ,’ पीआईडीले एक विज्ञप्ति जारी गरेर भनेको छ ।

पीआईडीले खर्चमा पाइपलाइनको मर्मत थालेको छ । क्षतिको प्राविधिक मूल्याङ्कन गरी क्षतिपूर्ति रकम तय भएपछि काठमाडौं चक्रपथ सडक विस्तार आयोजनाबाट शोधभर्ना लिन आवश्यक प्रक्रिया अगाडि बढाइने आयोजना उपनिर्देशक एवम् प्रवक्ता चन्द्रकुमार श्रेष्ठले बताए ।

मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि बिछ्याइएको पाइपमा क्षति पुग्ने क्रम नयाँ हैन।२०७८ असारसम्म मेलम्चीको पानी नियमित रुपमा वितरण नहुँदै आयोजनाको पानी बाँड्न बिछ्याएको २४ करोड ३१ लाख रुपैयाँ बराबरको पाइपमा विभिन्न कारणले क्षति पुगेको थियो ।

सडक निर्माण गर्दा पर्याप्त सावधानी अपनाउन नसक्दा खानेपानीको थोक वितरण प्रणाली र वितरण सञ्जाल सुधारअन्तर्गतका ८ प्याकेजका निर्माण व्यवसायीले पाइप बिछयाई पुर्ने कार्यसमेत सम्पन्न गरेपछि सडक मर्मत तथा सुधार गर्ने क्रममा पाइपहरूमा नोक्सान पुग्ने गरेको छ ।

नोक्सान भएका पाइपको मूल्य, बिछ्याउने, पुर्ने र जडान खर्च समावेश गरी निर्देशनालयले पाइपलाइन क्षतिको गत वर्षसम्म १८ करोड ४१ लाख ७३ हजार रुपैयाँ मूल्यांकन गरेकोमा आर्थिक वर्ष २०७७/७८ मा ५ करोड ८९ लाख ३९ हजार थप भई जम्मा रू. २४ करोड ३१ लाख १२ हजार मूल्यांकन गरेको महालेखाको ५९औं प्रतिवेदनले जनाएको छ ।

महालेखाले आयोजना कार्यान्वयन निर्देशनालय र सडक विभागबीच भएको सम्झौताको दफा ७ मा निर्देशनालयबाट पाइप बिछ्याइसकिएको सडकहरूमा सडक निर्माणको क्रममा पाइपमा क्षति पुग्न गएमा सो क्षातिलाई पुनः निर्माण गर्न लाग्ने रकम सडक विभागले निर्देशनालयलाई उपलब्ध गराउने व्यवस्था रहेको स्मरण गराएको छ ।

‘सडक विभागसँग उक्त रकम माग गरेकोमा प्राप्त भएको छैन । सडक तथा अन्य पूर्वाधार निर्माणको क्रममा उक्त पाइपलाइन क्षति भएकोले पाइपलाइन पुनः स्थापना गर्दा निर्मित सडक तथा पूर्वाधारको पुनः क्षति भई यस्तो रकम अझै बढ्ने अवस्था छ,’ प्रतिवेदनमा भनिएको छ‘अतः सरोकारवाला निकायसँग समन्वय गरी अन्य संरचनाको क्षातिसमेत यकिन गरी कुल क्षतिको मूल्यांकन गर्नुपर्ने र पाइप लाइनको पुनः निर्माण हुनुपर्छ ।’