आजको मौसम : तराईमा कुहिरो पहाडमा घाम

सुर्खेत :  हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार यतिबेला (शनिबार बिहान) देशका पहाडी भेगका अधिकांश स्थानमा घाम लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली (आकाशमा थोरै बादल) को अवस्था छ। तराईका धेरैजसो स्थानमा हुस्सु/कुहिरो लागिरहेको उनले बताए।

‘मध्याह्नपछि हुस्सु/कुहिरो हटेर जान्छ, तर कतिपय स्थानमा बेलुकासम्मै रहने सम्भावना पनि छ’, मौसमविद् पौडेलले भने। आज वर्षा र हिमपात हुने सम्भावना भने कतै नभएको उनले बताए।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै स्थानमा भने हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

बुलेटिनअनुसार आज राति पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै स्थानमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।