जयन्तीद्धारा सरस्वती माविमा एक लाखको अक्षयकोष स्थापना

सुर्खेत: अमेरिकामा बसिरहेकी समाजसेवी जयन्ती थापाले एक लाख एक हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरेकी छन् । वीरेन्द्रनगर—२ स्थित सरस्वती माध्यामिक विद्यालय रागसपाइलामा उनले उक्त अक्षयकोष स्थापना गरेकी हुन् ।
विद्यालयलमा अध्ययन गर्ने गरिब, जेहेन्दार र सिमान्तकृत विद्यार्थीको पढाईमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोषको स्थापना गरेको थापाले बताएकी छन् ।
उनले आफु अमेरिकामा रहेपनि मन भने नेपालमै रहेको र जन्मभूमीलाई सम्झिरहेको बताइन् । जयन्तीका बुवा धर्मजंग थापा उक्त अक्षयकोष स्थापना कार्यक्रममा सहभागी भएका थिए । उनले आफ्नी छोरीले गरेको समाजसेवाप्रति खुसी व्यक्त गर्दै अक्षयकोषबाट धेरै बालबालिका लाभवान्वित हुने अपेक्षा राखे ।
जयन्तीले कर्णाली र नेपालका विभिन्न विद्यालयमा अक्षयकोष र गरिब, जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री, पोषाक र खाद्यान्न समेत सहयोग गर्दै आएकी छन् । उनकै अभिभाकत्वमा दर्जनभन्दा बढी बालबालिकाले अध्ययन समेत गरिरहेका छन् ।