केन्द्रको सहयोगबिना नै दशौं राष्ट्रिय खेलकुद गर्न तम्सिएको छ कर्णाली

सुर्खेत: आगामी वर्ष, २०८१ साल मंसिरमा कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नका लागि खेलकुद परिषद र कर्णाली प्रदेश सरकार जुटिरहेको छ। तर, केन्द्र सरकार र आयोजक संस्था राष्ट्रिय खेलकुद परिषद ९राखेप० को बेवास्ताका कारण खेलकुद प्रतियोगिता गर्न चुनौती देखिएको छ।
राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नका लागि वीरेन्द्रनगर सुर्खेत स्थित निर्माणाधीन रंगशाला बाहेक अन्य जिल्लामा खेलकुद पूर्वाधारको अभाव छ। त्योसँगै पूर्वतयारीको लागि समेत प्रदेश सरकालाई बजेटको अभाव छ।
यति ठूलो प्रतियोगिता कर्णालीमा हुन लाग्दा अहिलेसम्म राखेपले कर्णालीबारे कुनै ध्यान नदिएको गुनासो कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव विश्वमित्र सञ्ज्यालले गुनासो गरे।

‘यति ठूलो प्रतियोगिता कर्णालीमा हुँदैछ। यो त समग्र नेपालको गौरवको विषय हो। केन्द्र सरकारसँग पनि पटक–पटक बजेटको माग गर्दा पनि सहयोग भएन,’ सञ्ज्यालले भने, ‘राखेपले पनि यसबारे कुनै ध्यान दिएको छैन। केन्द्रको उपेक्षाकाबीच पनि हामी प्रतियोगिता गर्ने लक्ष्यका साथ संरचना निर्माणमा रातदिन नभनी लागेका छौं।’

प्रदेशकै बजेटमा प्रतियोगिता गर्ने तयारी
प्रतियोगिताको मिति नजिकिंदै गर्दा पनि केन्द्र सरकारले कर्णालीको खेलकुद र पूर्वाधारको लागि बजेटको समेत व्यवस्था नगरेको सदस्य सचिव सञ्ज्यालले बताए।
वीरेन्द्रनगरमा निर्माणाधीन रंगशालाको अहिलेसम्म ६० प्रतिशत भौतिक प्रगति भएको प्रदेश खेलकुद परिषदले जनाएको छ। रंगशालाको वित्तीय प्रगति ४६ प्रतिशत गरेको छ भने दर्शक प्याराफिटमा चार हजार कुर्सीको जडान गरिसकिएको छ।
सदस्यसचिव सञ्ज्यालका अनुसार भीआईपीतर्फको प्याराफिटमा निर्माण कार्यको अन्तिम चरणमा रहेको छ भने फिनिसिङ र छाना निर्माण कार्य भने बाँकी रहेको छ। यस्तै, रंगशालमा पौडी पोखरी, व्यावसायिक सटर गेट निर्माण कार्यको सिभिल स्ट्रक्चर कार्यको अन्तिम चरण तथा फुटबल मैदानमा दुबो लगाई स्तर वृद्धिको काम भइरहेको छ।
यसैगरी एथ्लेटिक्स ट्रयाकको सब बेस र नाली निर्माण सम्पन्न भई रुख रोप्ने र हरियाली गर्ने कार्य जारी छ। निर्माणाधीन रंगशालाको काम तोकिएको समयभित्र सम्पन्न गर्ने गरी तालिका अनुसार नै अगाडि बढेको कर्णाली प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमालले जानकारी दिए।
अहिलेसम्म रंगशालामा ६५ करोड ८५ लाख रकम खर्च भएको उपाध्यक्ष हमालले बताए। ‘केन्द्रले हामीलाई बजेट र पूर्वाधारमा सहयोग गरेको छैन। प्रदेश सरकारले छुट्याएको बजेट पूर्वाधार निर्माण र १० औं राष्ट्रिय खेलकुदका लागि खेलाडी तयार गर्न पनि अपुग छ,’उपाध्यक्ष हमालले भने।
तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले २० मंसिर २०७८ मा रंगशालाको शिलान्यास गरेका थिए। एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रूपैयाँ लागत रहेको रंगशाला निर्माणको जिम्मा पाएको एमएसी–जिएसएल कम्पनीले पनि तोकिएको समयमै रंगशाला सम्पन्न गर्नेगरी काम अगाडि बढाएको छ।
२०८१ जेठ ११ गतेभित्र रंगशाला निर्माण सम्पन्न गरिसक्ने कम्पनीको लक्ष्य छ। अत्याधुनिक प्रविधिको प्रयोगमा निर्माण भइरहेको रंगशालामा १० हजार दर्शक अट्ने क्षमताको बनाइने छ।

​​​​​​​खेलकुदमा कर्णालीको बजेट

गत वर्ष कर्णालीले विभिन्न खेलमा राम्रो प्रदर्शनी गरेको थियो। २०७९ असोज २८ देखि कार्तिक ३ सम्म पोखरामा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीबाट ३० वटा खेलमा पाँच सय चार जना खेलाडी सहभागी भएका थिए।

उक्त प्रतियोगितामा कर्णाली प्रदेशले दुई वटा स्वर्ण, चार रजत र १२ कास्य गरी १८ पदक प्राप्त गरेको थियो। यस प्रतियोगिताको छनोट, प्रशिक्षण र सहभागिता बापत दुई करोड ५० लाख खर्च भएको थियो।

त्यस्तै यसै वर्ष वैशाख १५ गतेदेखि १७ गतेसम्म काठमाडौंमा सञ्चालन भएको केन्द्रीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कर्णाली प्रदेश मधेस प्रदेश र गण्डकी प्रदेशलाई पछाडि पार्न सफल भएको थियो। जसमा कर्णाली चार स्वर्ण, तीन रजत र १० कास्यसहित १७ वटा पदक प्राप्त गरी पाँचौं स्थानमा आउन सफल भयो।

उक्त प्रतियोगिताको सञ्चालन, प्रशिक्षण र सहभागितामा ७० लाख खर्च भएको खेलकुद परिषदले जनाएको छ। त्यस्तै खेलकुद परिषदले कर्णाली प्रदेशबाट विभिन्न अन्तर्राष्ट्रिय स्तरका पदक प्राप्त गर्ने खेलाडीहरूलाई पुरस्कार स्वरुप २७ लाख ५५ हजार खर्च भएको जनाएको छ।

प्रदेश सरकारले यही आर्थिक वर्षका लागि खेलकुद अन्तर्गत चालुतर्फ आठ करोड ३२ लाख ७६ हजार र पुँजीगत तर्फ ९१ करोड ८० लाख गरी जम्मा एक अर्ब १९ लाख ७६ हजार विनियोजन गरेको छ।

जसमा निर्माणाधीन प्रदेश रंगशालाको निर्माणका लागि ८५ करोड छुट्याइएको छ। त्यस्तै हुम्ला हक्की खेल मैदान निर्माणका लागि ५० लाख, कालिकोटमा कबर्ड हल निर्माणका लागि ३० लाख, दशौं राष्ट्रिय खेलकुद लक्षित विभिन्न खेल मैदान मर्मत सुधारका लागि दुई करोड, चिसापानी खेल मैदान निर्माण सुर्खेतका लागि २४ लाख बजेट विनियोजन गरिएको छ।

उकेरा