पीडित महिलालाई नेतृत्व विकास र पैरवी तालिम

सुर्खेत: मानव अधिकार उल्लङ्घनका घटनाबाट पीडित महिलालाई नेतृत्व विकास तथा पैरवी तालिम दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा असोज ८ गतेबाट सुरु भएको दुई दिने तालिम असोज ९ वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न गरिएको हो ।
सिसू र डिसिएको सहयोगमा सञ्चालित तालिममा सुर्खेत, जाजरकोट, सल्यान, दैलेख, जुम्ला र कालिकोटका ३४ जना पीडित महिलाहरुलाई तालिम दिइएको इन्सेकका कार्यक्रम संयोजक किरण पौडेलले कार्यक्रमकाे समापन सत्र सञ्चालनकाे क्रममा जानकारी दिए ।
समापन कार्यक्रममा बोल्दै उच्च अदालत सुर्खेतकी न्यायाधिस पुनम सिंह चन्दले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिइन् । न्यायधिस चन्दले महिलामाथि हुने हिंसा र अधिकार वञ्चितका विषयमा समाजमा सचेतना फैलाउन तालिममा सहभागी महिलाहरुको काँधमा आएको भन्दै सिकेका कुरालाई व्यवहारमा प्रयोग गर्न सके हिंसा न्यूनिकरण हुने विश्वास व्यक्त गरिन्।
त्यस्तै राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख लोकनाथ बास्तोलाले तालिमबाट सिकेका कुरा व्यवहारमा लागू गर्न सके त्यसको परिणाम सकरात्मक हुने बताए। उनले समाजमा महिलामाथि हुने हिंसाको न्यूनिकरण गर्न तालिममा सहभागी महिलाहरुले नेतृत्वकर्ताका भूमिका खेल्नुपर्ने बताए।
इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले इन्सेकले विगत र वर्तमानमा गरेका कामहरुको बारेमा जानकारी गराउँदै तालिममा सिकेका कुराहरु उद्देश्य अनूरुप व्यवहारमा लागू गरे मात्रै तालिमको औचित्य पुरा हुने बताए। यो तालिमलाई इन्सेकले उपलब्धीमूलक लिएकोले व्यवहारमा कार्यान्वयन गर्न संयोजक सुवेदीले अनुरोध गरे । तालिममा सहभागी निर्मला विसीले मन र समाजबिचको भूमिका, मनोसामाजिक रोगको व्यक्तिमा देखिने लक्षण, अधिकारवादी संघसंस्थाको जानकारी, नेतृत्व र सामुहिक उद्देश्य, लैङ्गिक हिसा र कानुनी उपचार, जीवनउयोगी सिप, सञ्चार सिपका विषयमा सिकाई भएको बताइन् ।

तालिमबाट सिकेका कुराहरु व्यवहारमा उतार्ने उनको भनाई छ । त्यस्तै तालिमकी अर्की सहभागी रविनाकुमारी खड्काले घरको चुलोचौकोमा सिमित आफुहरुले कानुनी र व्यवहारिक ज्ञानका विषयमा जानकारी पाउँदा खुसी लागेको बताइन्। अन्याय र हिंसा भए कहाँ न्याय पाउने? अधिकार प्राप्तिका लागि के गर्न जस्ता कुराहरु बारे जानकारी पाइएकाे बताइन् । उनले यो तालिमले अन्धकारमा रहेकी आफुजस्ता अन्य महिला दिदीबहिनीहरुले उज्यालो बाटोतिर जाने अवसर मिलेको बताइन् ।
मानव अधिकार उल्लङ्घनका घटनाबाट पीडित महिलालाई इन्सेकको हेल्प डेस्कले विभिन्न चरणमा कानुनी सहायताका लागि आर्थिक सहयोग समेत गरेको थियो । तालिममा अधिवक्ता गिता काेइराला,  ब्राइट फ्यूचरका निर्देशक उमाशंकर आचार्य, जिल्ला अदालतका श्रेस्तेदार ठाकुर प्रसाद पाैडेल, र मनाेपरामर्शकर्ता शर्मिला विसीले प्रशिक्षण दिएका थिए ।