मानव अधिकार सम्बन्धी गरेका कामको दस्तावेज राख्न आवश्यक : प्रमुख सुनार

सुर्खेत: जिल्ला समन्वय समिति सुर्खेतका समन्वय प्रमुख गंगाराम सुनारले पालिकाहरूले मानव अधिकार सम्बन्धी गरेका कामहरूको दस्तावेजिकरण गर्नुपर्ने बताएका छन् ।
इन्सेक कर्णाली प्रदेश कार्यालयले जिल्ला समन्वय समिति, सुर्खेतसँगको सहकार्यमा २०८० माघ १८ गते सुर्खेतको वीरेन्द्रनगरमा मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजनासम्बन्धी आयोजित समीक्षात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘तपाईहरूले मानव अधिकारका क्षेत्रमा थुप्रै काम गरिहनुभएको छ । तर, त्यसको केही दस्तावेजीकरण भएको छैन,’ उनले भने, ‘गरेका कामहरूको लिस्ट बनाएर माथिल्लो निकायमा रिपोटिङ्ग गर्दा तपाईंहरूले गरेको काम अरुले थाहा पाउँछन् ।’
उहाँले सुर्खेतका सबै पालिकामा मानव अधिकारको पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि स्थानीय तह समन्वय समिति गठन भइसकेको बताउँदै उक्त समितिले प्रभावकारी ढंगले काम गर्नुपर्ने सुझाव दिए ।
प्रमुख सुनारले मानव अधिकारको राष्ट्रिय कार्ययोजनाका विषयमा समन्वय समितिसँग बजेटको अभाव रहेको भन्दै त्यसमा प्रदेश र केन्द्र सरकारले विषेश ध्यान दिनुपर्ने औंल्याए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका निमित्त प्रमुख सचिव आनन्द सारुले मानव अधिकारसम्बन्धी कार्ययोजनाको प्रगति प्रतिवेदनको ढाँचा प्रस्तुतगर्दै कार्यालयमा आएका प्रतिवेदन व्यवस्थित गरेर राखेको बताए ।


उहाँले महिला बालबालिकाको अधिकार होस या सहिद द्वन्द्वपीडितहरूको न्यायका लागि प्रदेश सरकारले प्राथमिकता दिएर काम गरेको दावी गरे ।

लक्षित समुदाय केन्द्रित नीति तथा कानुन बनाउनेदेखि नागरिकका गुनासो सुनुवाई गर्न सरकारले हेलो सिएम, हाम्मा कुडा हाम्मा मुख्यमन्त्री लगायतका कार्यक्रम ल्याएको जानकारी दिए।
भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले स्थानीय तहलाई मानव अधिकारको संरक्षण र मानव अधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजनाका विषयमा झक्झकाउनुपर्ने बताए ।
उमानव अधिकारको क्षेत्रमा काम गर्न स्थानीय सरकारसँग बजेटको अभाव रहेको उनको भनाई छ ।
लेकवेसी नगरापालिकाका नगरप्रमुख उमेश पौडेलले मानव अधिकारका विषयमा स्थानीय तहले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा थुप्रै काम गरेको बताउँदै रिपोर्टिङ्गको अभाव रहेकाले पालिकामा फोकल पर्सन राख्ने प्रतिवद्धता व्यक्त गरे ।
चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले पालिकाले ल्याउने हरेक नीति तथा कार्यक्रममा मानव अधिकारका विषयलाई महत्व दिइएको बताए ।उनले त्यसको दस्तावेजिकरणका लागि विशेष संयन्त्रको आवश्यक रहेको बताए ।
सुर्खेत जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद पाण्डेले मानव अधिकारका प्रावधानहरू सबै तहका सरकारले उपभोग गरेपनि त्यसको सैद्धान्तिक विषयलाई आत्मसाथ गर्न नसकेको औल्याए ।उनले भएका कामहरू प्रयाप्त नभएको भन्दै मानव अधिकार केन्द्रीत कार्यक्रमहरूमा जोड दिनुपर्ने बताए । मानव अधिकारका सवालमा प्रशासन सदैव सकारात्मक रहेको उनको भनाई छ ।
जिल्ला समन्वय समिति सुर्खेतका निमित्त जिल्ला समन्वय अधिकारी मेघनाथ सापकोटाले हरेक पालिकामा गठन गरिएका समितिले प्रभावकारी रुपमा काम गर्न सके सरकारले लिएको पाँचौ राष्ट्रिय कार्ययोजना सफल हुने बताए ।
जिल्ला समन्वय समिति सुर्खेतका उपप्रमुख सचिन कुमार बडुवालले मानव अधिकार रक्षाको प्रत्याभूति गराउन यस्ता बैठकले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले कार्ययोजनाको पृष्ठभूमि, उद्देश्य, कार्ययोजनामा समेटिएका १७ वटा विषयवस्तु बारे प्रकाश पार्दै त्यसको कार्यान्वयनका लागि व्यवस्था गरिएका चार तहको संयन्त्र र कामको विषयमा प्रकाश पारे ।


उनले समीक्षात्मक कार्यक्रमको उद्देश्यका विषयमा चर्चागर्दै मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजनालाई व्यहारमा कार्यान्वयन गर्न सके नेपालको अन्तर्राष्ट्रिय स्तरमा राम्रो मूल्याङ्कन हुने बताए ।
मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले अनुगमनबाट प्राप्त गरेका तथ्यका विषयमा आयोगको कर्णाली प्रदेश कार्यालयका मानव अधिकार अधिकृत नरेन्द्र खत्रीले प्रकाश पारेका थिए ।
मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकालले मानव अधिकार रक्षाका लागि पालिकास्थित समितिको सक्रियता नै त्यसको मूख्य उपलब्धी रहेको बताए।
उनले मानव अधिकारका क्षेत्रमा काम गर्ने स्थानीय समन्वय समिति र त्यसका फोकल पर्सनलाई सम्मान गर्नुपर्ने सुझाव दिए ।
गैरसरकारी संस्था महासङ्घ सुर्खेतका अध्यक्ष प्रकाश सारुले प्रदेश सरकारले मानव अधिकारका सावालमा चासो नदेखाएको आरोप लगाए । उनले सबै जिल्ला र पालिकामा समिति गठनका लागि सहकार्य गर्न जरुरी रहेको औंल्याए ।
मानव अधिकारका लागि महिला एकल महिला समूह सुर्खेतका अध्यक्ष ममता नगालले संक्रमणकालीन न्यायको विषयमा प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्ने बताइन् । पालिकाले पनि सहिद, घाइते र बेपत्ता परिवारलाई सम्झन सक्ने थुप्रै नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल रक्तकाली गणका एसपी रोसन बुढाथोकी, जिल्ला प्रहरी कार्यालय, सुर्खेतका एसपी योगेन्द्र सिंह थापा, द्वन्द्व पीडित राष्ट्रिय महिला सञ्जाल कर्णाली प्रदेशका अध्यक्ष सितलसिंह राठौर र सुर्खेतस्थित विभिन्न पालिकाका प्रमुख, जनप्रतिनिधि लगायत सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।