एमयूको आयोजनामा ‘साफ २०२५’ अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालय, सुर्खेतको आयोजनामा वैशाख १२ र १३ गते ‘साफ २०२५ – परिवर्तनशील विश्वमा शिक्षा, समाज र व्यवसायका प्रवृत्तिहरू’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । मंगलबार सम्मेलनको तयारीबारे आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै संयोजक प्रा. डा. पुर्णमान श्रेष्ठले यो सम्मेलन अनुसन्धान, बहस र ज्ञान साझेदारीको साझा मञ्च हुने बताएका छन् ।
सम्मेलनको उद्देश्य शिक्षा, समाज र व्यवसायसँग सम्बन्धित समसामयिक तथा बहु–विषयगत संवादलाई प्रवर्द्धन गर्नु रहेको उनले बताए । ‘विभिन्न देशका अनुसन्धानकर्ता, शिक्षाविद्, नीतिनिर्माता तथा नेतृत्वकर्तालाई एउटै मञ्चमा ल्याएर विचार आदानप्रदान, अनुभव साझेदारी र समाधानमुखी बहसको वातावरण बनाउने हाम्रो लक्ष्य हो,’ संयोजक श्रेष्ठले भने ।
सम्मेलनमा शिक्षामा नवप्रवर्तन र प्रविधिको प्रयोग, समावेशी शिक्षामा पहुँच, दिगो विकास लक्ष्यअनुसारको शैक्षिक उत्तरदायित्व, सामाजिक न्याय र समावेशी नीति निर्माण तथा उद्यमशीलता र जिम्मेवार नेतृत्व विकासजस्ता विषयमा बहस गरिनेछ । साफ २०२५ सम्मेलनले कर्णाली प्रदेशका विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक वातावरणमा सहभागिता जनाउने अवसर प्रदान गर्नेछ । विश्वविद्यालयले अनुसन्धान प्रवर्द्धन, युवा सम्मेलन र कार्यशालाजस्ता कार्यक्रममार्फत युवाको वैज्ञानिक सोच, नवप्रवर्तन र नेतृत्व क्षमताको विकासमा सहयोग गर्नेछ ।
नेपाल, भारत, बङ्गलादेश, अमेरिका लगायतका देशका दुईसय भन्दा बढी प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलनमा २०३ वटा कार्यपत्र दर्ता गरिएमा १६३ वटा छनोट भइसकेका छन् । ती कार्यपत्रहरू शिक्षा, नीति निर्माण, उद्यमशीलता र सामाजिक अभियानसँग सम्बन्धित विषयमा दुई दिने अवधिमा प्रस्तुत गरिनेछ । संयोजक श्रेष्ठले विश्वास व्यक्त गरेअनुसार, साफ २०२५ सम्मेलनले विश्वविद्यालयलाई अनुसन्धानमुखी, समावेशी र उत्तरदायी शैक्षिक संस्थाका रूपमा स्थापित गर्न टेवा पुग्ने बताए । यस्तै, कर्णाली प्रदेशको समग्र शैक्षिक रूपान्तरणमा पनि यस सम्मेलनको सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।