गोठालाबाट लुकेर स्कुल जाने कल्याणीको संसदसम्मको यात्रा !

बुवा नरबहादुर खड्का र आमा जानुकादेवी खड्काको कोखबाट २०३४ साल फागुन २४ गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ९ मा जन्मेकी कल्याणी खड्का सामान्य परिवारमा जन्मिइन् । खान लाउनकै समस्याले सजिलै पढ्ने वातावरण समेत पाइनन् । गाइभै‌‍‍‍‌सीको गोठालो बनेकी उनी लुकेर विद्यालय जान्थिन् । विद्यार्थी छँदै राजनीतिमा लागेकी खड्कालाई नेकपा (एकीकृत समाजवादी) ले समानुपातिक तर्फबाट कर्णाली प्रदेश सांसद बनायो । हाल उनी प्रदेश मामिला समितिको सभापतिको जिम्मेवारीमा छिन् । उनै सांसद खड्कासँग अंगराज परियारले गरेकाे संघर्ष र सफलताका कुरा :

बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झिनुहुन्छ ?
म रुकुमपश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ९ मा सामान्य परिवारमा जन्मिएकी हुँ । पाँच बहिनी र दुई दाजुभाइको ठूलो परिवार थियो । तर आर्थिक अवस्था कमजोर थियो । म गाई भैसीको गोठालो थिएँ । दाजुहरू विद्यालय जान्थे, मलाई पनि जान मन लाग्थ्यो तर परिवारले पढ्न दिँदैनथ्यो । त्यसैले म गोठालो गएकै बेला भागेर विद्यालय जान थालेँ । १३ वर्षको हुँदा पहिलो पटक विद्यालय पुगेकी थिएँ । त्यसअघि घरमै अक्षर चिन्न थालिसकेकी थिएँ । एक दिन दाजुले विद्यालय गएको भनेर कुटे, तर म खुसी थिएँ, किनभने विद्यालय जान पाएको थिएँ ।

स्कुललाई निरन्तरता कुरी दिनुभयो ?
मेरो उमेर ठुलो भएपछि म कक्षा ५ मा भर्ना भएँ । घरमै अक्षर चिनेको थिएँ । त्यसैले शिक्षकहरूले सिधै ५ कक्षामा भर्ना गरिदिए । बिहान र साँझ घरको काम सकेर दिउँसो मात्र विद्यालय जान्थेँ । २०५७ सालमा एसएलसी उत्तीर्ण गरेँ । तर परिवारको आर्थिक अवस्थाका कारण पढाइ बिचमै रोक्नु प¥यो । मैले गरेको संघर्षकै कारण भाइबहिनीले पनि पढ्ने अवसर पाएँ ।

उच्च शिक्षा कसरी सम्भव भयो ?
केही समय शिक्षण पेसामा पनि लागेँ । २०६८ सालमा आएर मात्र स्नातक तह उत्तीर्ण गर्न सकेँ । अहिले म महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा एलएलबी अध्ययनरत छु ।
राजनीतिमा सक्रियता कहिलेदेखि सुरु भयो ?
विद्यार्थी कालदेखि नै राजनीतिमा लागेँ । कक्षा पाँचमा पढ्दै गर्दा अनेरास्वयूको प्रारम्भिक कमिटीको अध्यक्ष भएकी थिएँ । अन्याय विरुद्ध लड्नुपर्छ भन्ने स्वभाव थियो। कसैमाथि अन्याय भएको देखेँ भने म चुप लाग्न सक्दिनथेँ । म विद्यालय गएपछि साथीहरू पनि ढुक्क हुन्थे । कक्षाको मनिटरको जिम्मेवारी पनि मलाई दिइन्थ्यो ।

राजनीतिमा आउन परिवारबाट साथ मिल्यो?
परिवारको ठूलो साथ पाएको हुँ । दाइले मलाई राजनीतिमा आउन प्रोत्साहन गर्नुभयो । बुबा भने नेपाली कांग्रेसको कार्यकर्ता हुनुहुन्थ्यो । उहाँ चुनावमा उठ्दा पनि मैले र दाइले उहाँलाई भोट हालेनौँ । राजनीतिमा लाग्न दाइको ठूलो योगदान छ ।

पार्टी र संगठनमा तपाईंको भूमिका कस्ता रह्यो ?
२०४९ सालदेखि म राजनीतिमा सक्रिय छु । कोटजाहार निम्न माध्यमिक विद्यालयमा अनेरास्वयूको प्रारम्भिक कमिटीको अध्यक्ष भएँ । २०५१ मा अनेमसंघको सदस्य, २०५३ मा युवासंघको कोषाध्यक्ष, जनसांस्कृतिक महासंघको कोषाध्यक्ष भएँ । २०५८ मा अनेमसंघको सचिव, उपाध्यक्ष हुँदै जिल्ला अध्यक्षसम्म भएँ । पार्टीतर्फ टोल, वडा, गाउँ कमिटी हुँदै इकाका संयोजक, क्षेत्रीय कमिटी सदस्य, जिल्ला कमिटी सदस्यसम्म भएँ । नेकपा (एमाले) विभाजनपछि म एकीकृत समाजवादीतिर लागेँ । अहिले पार्टीको जिल्ला उपाध्यक्ष छु ।

महिलालाई राजनीति गर्न सहज छ ?
पहिलो कुरा त महिलालाई राजनीति गर्नु भनेको एकदमै कठिन यात्रा हो । खासगरी,घरपरिवारको हेरचाह र समाजमा रहेको परम्परागत भूमिकाबाट माथि उठेर राजनीति गर्नु एउटा ठूलो संघर्ष हो । विशेष गरी महिला भएको कारणले त झनै बढी चुनौतीहरूको सामना गर्नुपरेको छ । धेरैजसो समय मैले राजनीति र सामाजिक क्षेत्रमा बिताएँ । राजनीतिमा होस् वा सामाजिक क्षेत्रमा, म सधैं इमान्दार भएर भूमिका निर्वाह गर्दै आएकी छु । विद्यार्थी छँदै राजनीतिमा लागेँ, सामाजिक क्षेत्रमा पनि सक्रिय भएँ । जुनसुकै क्षेत्रमा महिलाका लागि काम गर्न सहज छैन । पाइलैपिच्छे चुनौतीका तगारा छिचोल्नुपर्छ । मैले पनि थुप्रै चुनौतीहरू पार गरेकी छु र संघर्ष पनि गरेकी छु ।

सामाजिक अभियानमा तपाईंको भूमिका कस्तो रह्यो ?
स्कुल पढ्न थालेपछि नै सामाजिक कामहरू सुरु गरेँ । गाउँगाउँमा मदिरा बिक्री–वितरणमा रोक लगाउन अभियान चलाएँ । मलाई लाग्छ, कर्णालीमा महिलामाथिको हिंसा मदिरा र कुसंस्कारकै कारण हो । द्वन्द्वकालमा यौन हिंसामा परेका महिलाको क्षेत्रमा न्याय संवादाताको रूपमा काम गरेँ । पछि परेको वर्गको उत्थानमा लागेँ । सिँचाइ महासंघको केन्द्रीय सदस्य, पोखरा सामुदायिक वनको अध्यक्ष, पुष्पाञ्जली बहुउद्देश्यीय सहकारीको अध्यक्ष, महिला मानव अधिकार रक्षक सञ्जालमा काम गरेँ । म रुकुमपश्चिमको जिल्ला समन्वय समितिको उपप्रमुख पनि भएँ ।

समग्रमा राजनीति कस्तो रहेछ ?
सजिलो छैन । अझ महिलाका लागि त अझै पनि चुनौतिपूर्ण छ । पुरातन सोच, मान्छेपिच्छेका फरक–फरक दृष्टिकोण यी सबै छन् । तर म भन्छु, सहजता आफैं बनाउनु पर्छ । दृष्टिकोणलाई सकारात्मकतर्फ लैजाने वातावरण बनाउनुपर्छ ।
कर्णालीका महिलाको अवस्थाबारे तपाईंको बुझाई कस्तो छ ?
सोचेजस्तो अवस्था अझै आएको छैन, तर केही सुधार देखिन्छ । स्थानीय तहदेखि संसद्सम्म महिलाहरू पुगेका छन्, जसले सकारात्मक संकेत दिएको छ । तर नेतृत्व तहमा महिला पु¥याउन अझै जोड दिनुपर्छ ।

कर्णाली प्रदेश सभासम्मको यात्रा कस्तो रह्यो ?
नेकपा एकीकृत समाजवादीले मलाई समानुपातिक सांसद बनायो । पहिलो पटक संसद भवन आउँदा गर्व लागेको थियो । मैले समाजमा धेरै काम गरेकी छु । अब गहन जिम्मेवारीसहित जनताको आवाज बनेर संसदमा आएकी छु । हाल म प्रदेश मामिला समितिको सभापतिको जिम्मेवारी पदमा छु । सरकारलाई प्रदेश सभा प्रति उत्तरदायी र जवाफदेही बनाउनका लागि प्रदेश सरकारबाट भए गरेका काम कारवाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह लिने दिने ठाउँमा छु । यात्रा निकै कठिन छ ।

अन्त्यमा, के भन्नुहुन्छ ?
महिलाहरूलाई म भन्छु डराउनुपर्दैन । संघर्ष गर्नुहोस्, अवसर सिर्जना त आफुले बनाउने हो । परिवर्तन आफैँबाट सुरु हुन्छ । हामी आफैंलाई सक्षम बनाउँदा मात्र समाज परिवर्तन हुन्छ ।