कर्णालीमा पहिलो पटक यु-१६ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै

जित बहादुर तिरुवा 

सुर्खेत: कर्णाली प्रदेशमा पहिलो पटक राष्ट्रियस्तरकाे यु-१६ क्रिकेट प्रतियोगिता हुने भएकाे छ । नेपाल क्रिकेट संघको आयोजना तथा कर्णाली प्रदेश क्रिकेट संघको सह-आयोजनामा जेठ १९ देखि ३१ गतेसम्म सुर्खेतमा प्रतियोगिता हुन लागेको हो । एसियन क्रिकेट काउन्सिलकाे कार्यतालिका अनुसार आगामी जुनमा हुने एसिसि मेन्स यू-१६ कप २०२५ का लागि नेपाली टिम तयार पार्ने उद्देश्यले प्रतियोगिता आयाेजना गर्न लागिएकाे नेपाल क्रिकेट संघका केन्द्रीय काेषाध्यक्ष पदमबहादुर खड्काले बताए । ‘उत्कृष्ट खेल्ने खेलाडीहरूलाई आगामी जुनमा हुने एसिसी मेन्स यु-१६ प्रतियोगिताका लागि छनोट हुनेछन्,’ उनले भने,’पहिलोपटक कर्णालीमा ठूलो प्रतियोगिता हुँदैछ । यसले कर्णालीकाे क्रिकेटमा थप टेवा पुग्नेछ । त्यसैले हामी तिब्र तयारीमा लागिरहेका छौं।’ प्रतियोगितामा सात वटै प्रदेशकाे सहभागिता रहनेछ । त्यस्तै लिग संस्करणमा २१ खेल खेलाइने आयाेजकले जनाएकाे छ । प्रतियोगिताले कर्णाली प्रदेशमा आर्थिक गतिविधीका साथै क्रिकेट खेलको विकास एवम् विस्तारमा थप टेवा पुग्ने विश्वास क्रिकेट संघकाे छ । प्रतियोगिताबाट राष्ट्रियस्तरका दुई टिम छनाैट गरिने छ । प्रतियोगिता सञ्चालन गर्न ९० लाख खर्च लाग्ने जनाइएकाे छ ।