दुई महिना ठप्प राजनीति, निर्वाचन घोषणासँगै चहलपहल तीव्र!

सुर्खेत: झण्डै दुई महिनासम्म ठप्पजस्तै बनेको कर्णालीको राजनीतिक गतिविधि निर्वाचन घोषणासँगै फेरि चलायमान हुन थालेको छ। सरकारले फागुन २१ गते प्रतिनिधिसभा र माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गरेसँगै राजनीतिक दलहरूले प्रदेशभर गतिविधि तीव्र बनाएका छन्।
शनिबार प्रदेश राजधानी वीरेन्द्रनगरमा नेपाली कम्युनिस्ट पार्टीले ‘एकता सन्देश सभा’ आयोजना गर्‍यो। सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत शीर्ष नेताहरू सहभागी थिए। सभामा सहभागी नेताहरूको मुख्य जोड आगामी प्रतिनिधिसभा निर्वाचनमै केन्द्रित थियो। सबै नेताहरूले निर्वाचनपछि आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गरे।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार कार्यबाहक सभापति डीपी अर्यालसहितका नेताहरूको उपस्थितिमा कर्णाली प्रदेशस्तरीय कार्यक्रम सम्पन्न गर्‍यो। त्यस्तै, एक साताअघि माओवादी परित्याग गरी प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका पूर्वमन्त्री जनार्दन शर्माले गृहजिल्ला रुकुम पश्चिममा आयोजित युवा भेलामा सहभागिता जनाए। अघिल्लो दुई सातादेखि प्रदेशभर एमालेको महाधिवेशन प्रतिनिधि छनोटको चहलपहल देखिएको छ भने नेपाली कांग्रेसले क्षेत्रीय समितिहरूको बैठकमार्फत प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसको काम तीव्र पारेको छ।
कांग्रेसले शनिबारसम्म रुकुम पश्चिम, डोल्पा, सल्यान, कालीकोट, सुर्खेत, जाजरकोटलगायत जिल्लामा प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सम्भावित उम्मेदवार सिफारिस गरिसकेको छ। पछिल्लो एक महिनायता कर्णालीमा दलगत गतिविधि उल्लेख्य रूपमा बढेका छन्।
भदौ २३ र २४ गते जेन–जी नेतृत्वको आन्दोलनपछि भने कर्णालीको राजनीतिक गतिविधि लगभग दुई महिनासम्म शून्यजस्तै बनेको थियो। आन्दोलनका क्रममा सुर्खेतमा कांग्रेस, एमाले, राप्रपालगायत दलका पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको थियो।
पूर्वमाओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले आन्दोलनपछिको अवस्था स्मरण गर्दै भनिन्, ‘करिब एक महिनाजति त जलेका संरचना हटाउनमै समय बित्यो। केन्द्रमा जस्तै यहाँ पनि केही समय अन्योल रह्यो। त्यसपछि सरसफाइ र रंगरोगनको काम गरियो। अझै पुनर्निर्माणका काम बाँकी छन्, तर यस्तो अवस्थामा पनि पार्टी अभियानलाई सुचारु गरेका छौँ।’
पुनर्निर्माण पूर्ण रूपमा नसकिँदै पनि राजनीतिक गतिविधि अघि बढाइएको कांग्रेस सुर्खेतका सभापति खडकबहादुर पोखरेलले बताए। ‘आगलागीबाट पार्टी कार्यालयका सबै सामग्री नष्ट भए। ती सामग्री अझै पूर्ण रूपमा जुटाउन सकिएको छैन,’ उनले भने, ‘तर पनि बैठक र भेलाजस्ता कार्यक्रम जलेकै कार्यालयमा सञ्चालन गरिरहेका छौँ।’ उनका अनुसार कांग्रेसलाई महाधिवेशनको चटारोले छोइसकेको छ। ‘क्रियाशील सदस्यता टुंग्याउने, वडा–पालिका हुँदै निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारीसँगै प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको तयारी पनि तीव्र बनाइएको छ,’ उनले बताए। सुर्खेतका दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस भइसकेको र गाउँगाउँमा पार्टी कार्यक्रम बढाइएको उनको भनाइ छ।
एमाले नेताहरू भने हाल ११औँ महाधिवेशनमै केन्द्रित छन्। एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहले सोमबारसम्म महाधिवेशनमा व्यस्त रहने र त्यसपछि महाधिवेशनको सन्देशसहित गाउँगाउँमा निर्वाचन केन्द्रित अभियान सुरु गरिने बताए। ‘एक साताभित्रै सम्भावित उम्मेदवार सिफारिसदेखि पार्टी गतिविधि ग्रामीण तहसम्म विस्तार गर्नुपर्नेछ,’ उनले भने, ‘अब हाम्रो ध्यान कर्णालीमा कसरी पहिलो पार्टी बन्ने भन्नेमा केन्द्रित हुनेछ।’
जेन–जी नेतृत्वको आन्दोलनपछि दलहरूले आत्मसमीक्षा र पुनर्निर्माण गर्नुपर्ने आवश्यकता देखिएको मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल लम्साल बताउँछन्। ‘झण्डै दुई महिना राजनीतिक गतिविधि ठप्प रह्यो,’ उनले भने, ‘आन्दोलनले नयाँ पुस्ताको असन्तुष्टि र आकांक्षा स्पष्ट रूपमा उजागर गरिदिएको छ। अब दलहरूले युवापुस्ताको मागलाई चुनौतीका रूपमा स्वीकार गर्दै उनीहरूलाई समेटेर आफ्ना गतिविधि केन्द्रित गर्नुपर्छ।’
दलहरूले आन्दोलनका मुद्दालाई संस्थागत गर्ने अवसरका रूपमा आगामी निर्वाचनलाई लिनुपर्ने अधिवक्ता दुर्गाप्रसाद सापकोटाको धारणा छ। ‘परम्परागत संरचना र असफल नेतृत्वप्रति युवापुस्तामा गहिरो आक्रोश छ,’ उनले भने, ‘पारदर्शी, जवाफदेही र अवसरयुक्त नेपाल निर्माणका लागि युवापुस्ताको साथमा दलहरूको नेतृत्व स्थापित हुन जरुरी छ।’