संघ–प्रदेशको आरोप प्रत्यारोपले फेरि अन्योलमा दसौं राष्ट्रिय खेलकुद


सुर्खेत: संघीय र प्रदेश सरकारबीचको आरोप–प्रत्यारोपका कारण चौथोपटक मिति तोकिएको दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्योलमा परेको छ । दुई तहका सरकारबीच मंगलबार सार्वजनिक रूपमा चर्काचर्की भएपछि प्रतियोगिताको भविष्य थप अनिश्चित बनेको हो ।
मंगलबार संघीय सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाई कर्णाली प्रदेशमा दसौं राष्ट्रिय खेलकुदको तयारीको अवस्था बुझ्न सुर्खेत पुगेका थिए । उनीहरूले प्रदेश रंगशालालगायतका संरचनाको स्थलगत निरीक्षण गरेपछि छलफलका लागि मुख्यमन्त्री यामलाल कँडेललाई भेटेका थिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको उक्त भेटघाटमा दुई पक्षबीच चर्काचर्की र आरोप–प्रत्यारोप चलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । छलफलका क्रममा मुख्यमन्त्री कँडेलले रंगशालालगायत पूर्वाधार निर्माणमा संघीय सरकारले खरिद प्रक्रिया ढिला गरेको र आवश्यक सहकार्य नगरेको आरोप लगाए । जवाफमा संघीय सरकारका मन्त्रीद्वयले भने प्रदेश रंगशालाको १ प्रतिशत काम अझै सम्पन्न हुन नसकेको, भुक्तानी नदिँदा निर्माण अलपत्र परेको र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को पदाधिकारी नियुक्त गर्न प्रदेश सरकार असफल भएको आरोप लगाए ।
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरुमा २०८१ मंसिरमा गर्ने गरी तय गरिएको थियो । त्यसपछि दोस्रोपटक २०८१ चैत २३ देखि ३०, तेस्रोपटक २०८२ जेठ ३ देखि १० र चौथोपटक आगामी फागुन १ देखि ७ गतेसम्मका लागि मिति तोकिएको हो । तर तयारी कमजोर रहेको भन्दै फेरि मिति सार्नुपर्ने अवस्था सिर्जना भएको छ ।
सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबन्डा नमिल्दा कर्णाली प्रदेश खेलकुद विकास परिषद् २०८१ पुस ६ गतेदेखि सदस्य-सचिवसहित पदाधिकारीविहीन छ । परिषद् नेतृत्वविहीन हुँदा प्रतियोगिता व्यवस्थापन, खेलाडी तयारी र समन्वयका काम प्रभावित भएका छन् । परिषद् पदाधिकारी नियुक्तिका लागि भर्खरै प्रक्रिया सुरु गरिएको छ । बुधबार सदस्य-सचिव पदका लागि आवेदन दिएका २१ जनामध्ये १० जनाको प्रारम्भिक योग्यताक्रम सूची सार्वजनिक गरिएको सामाजिक विकास मन्त्रालयका सचिव तथा सदस्य-सचिव सिफारिस समितिका संयोजक धोलकराज ढकालले जानकारी दिए । उनका अनुसार माघ ३ गते अन्तर्वार्ता लिइनेछ ।
प्रदेश सरकारले २०७८ मंसिरदेखि प्रदेश गौरवको पहिलो आयोजनाका रूपमा करिब ९ विगाह क्षेत्रफलमा १ अर्ब ५९ करोड ४७ लाख रुपैयाँको लागतमा प्रदेश रंगशाला निर्माण थालेको थियो । सरकारका अनुसार रंगशालाको झण्डै ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ भने १ प्रतिशत मात्र काम बाँकी छ । तर ठेकेदार कम्पनी एमएसिजिएसएल जेभीले सम्पन्न भइसकेको करिब ९ करोड रुपैयाँ भुक्तानी नभएको भन्दै काम रोकेको छ । भुक्तानी विवादका कारण निर्माण सम्पन्न संरचनासमेत अलपत्र परेका छन् ।
प्रदेश रंगशालामै दसौं राष्ट्रिय खेलकुदका मुख्य खेल सञ्चालन गर्ने सरकारको योजना रहेको छ । तर समयमै भुक्तानी र हस्तान्तरण नहुँदा रंगशाला प्रयोगमा ल्याउन सकिने–नसकिने विषय अनिश्चित छ ।
संघीय सरकारले दसौं राष्ट्रिय खेलकुदका लागि ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रामचरित्र मेहताले मंगलबार सुर्खेतमा भएको छलफलका क्रममा निर्धारित मितिमा प्रतियोगिता आयोजना गर्न कठिन देखिएको बताएका थिए । उनका अनुसार खेलकुद सामग्री खरिद प्रक्रिया अझै सुरु हुन सकेको छैन ।
‘खेलकुद सामग्री खरिद गर्दा सार्वजनिक खरिद ऐनअनुसार कम्तीमा ३५ दिन कुर्नुपर्ने हुन्छ,’ मेहताले भने, ‘त्यसपछि प्राविधिक मूल्यांकन र खरिद प्रक्रिया पूरा गर्न थप समय लाग्छ, जसले निर्धारित मितिमा प्रतियोगिता नहुने जोखिम देखिएको छ ।’
कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले पनि स्पष्ट तयारी र कार्ययोजना बिना प्रतियोगिता सम्भव नहुने दोहोर्‍याएका थिए । दुवै पक्ष आ–आफ्नो अडानमा अडिग भएपछि सामूहिक छलफल निष्कर्षविहीन बनेको थियो ।
प्रतियोगिता अन्योलमा परेपछि खेलाडीहरू निराश बनेका छन् । भलिबल प्रशिक्षक सुधीर शाहले पटक–पटक मिति सर्दा खेलाडीको मनोबल खस्किएको बताए । ‘प्रदेश सरकारले पनि खेलकुद परिषद्मा भागबन्डा नमिल्दा आयोजकका तर्फबाट गर्नुपर्ने आन्तरिक काम गरेन,’ उनले भने, ‘रंगशाला कहिले हस्तान्तरण हुने हो स्पष्ट छैन, संघीय सरकारले सामग्री खरिदमा ढिलाइ गरिरहेकै छ ।’
तेक्वान्दो खेलाडी सुनील केसीले आफ्नै प्रदेशमा हुने राष्ट्रिय प्रतियोगितामा खेल प्रदर्शन गर्न नपाउने जोखिम बढेको बताए । ‘पटक–पटक प्रतियोगिता सर्दा नियमित अभ्यासको उत्साह घटेको छ,’ उनले भने, ‘आफ्नो क्षमता देखाउन पटक–पटक कुर्नुपर्ने अवस्था आएको छ ।’
यसैबीच सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सदस्य-सचिव नियुक्तिको प्रक्रिया एक साताभित्रै टुंग्याइने र प्रदेश रंगशालाको बाँकी कामलाई सुचारु गरिने प्रतिबद्धता जनाएका छन् । तर संघ–प्रदेशबीचको समन्वय कमजोर रहँदा दसौं राष्ट्रिय खेलकुद कहिले र कसरी हुने भन्ने प्रश्न अझै अनुत्तरित छ ।