सुर्खेत: सुर्खेतको लेकबेंसी नगरपालिका–४ का खडकबहादुर बुढा कर्णाली राजमार्ग चढ्दा अझै झस्किन्छन् । २०७१ चैत २ गते जुम्लाको तातोपानी गाउँपालिका क्षेत्रस्थित रारालिहीमा ना–४ ख ४९७० नम्बरको बस दुर्घटनामा परेर गम्भीर घाइते बनेपछि उनको जीवन नै बदलियो । ‘भगवान् भरोसामा बाँचेँ, हातखुट्टा, टाउको र छातीको चोट निको हुन सात महिना लाग्यो, डेढ महिना अस्पतालमै बस्नुप¥यो,’ उनले भने, ‘त्यसपछि गाडी चढ्नै मन लाग्दैन, सकेसम्म प्लेनमै यात्रा गर्छु ।’ उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने १४ जना गम्भीर घाइते भएका थिए । बस सडकदेखि झन्डै दुई सय मिटर तल तीला नदीमा खसेको थियो ।
कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा पुगेर फर्किएका दाङ घोराहीका सन्तोष रोकायाले पनि यात्राको सास्ती सम्झँदै भने, ‘भीरैभीर, एकलेनको धुलाम्मे र हिलाम्मे सडक, तल कर्णाली नदी । दिनभरि गाडी उफ्रिँदा स्वस्थ मान्छे पनि बिरामी हुन्छ । फेरि जाउँजस्तो लाग्दैन ।’
२०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शिलान्यास गरेको २३२ किलोमिटर लामो कर्णाली राजमार्ग २०६३ चैत ३० देखि सञ्चालनमा आएको हो । सडक विभागले १४ पुल निर्माणमा १ अर्ब १३ करोड रुपैयाँ खर्च गरेको छ भने ओटासिल प्रविधिबाट कालोपत्रे र सेफ्टी बार निर्माणमा विश्व बैंकको करिब २ अर्ब रुपैयाँ खर्च भएको तथ्यांक छ । ०७२ सालमा रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्टमार्फत थप १ अर्ब रुपैयाँ खर्चेर कालोपत्र गरिएको थियो । पछिल्ला तीन वर्षमा मात्र झन्डै ७० करोड रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालयले जनाएको छ । तर करिब ८० प्रतिशत कालोपत्र उप्किएपछि सडक वर्षामा हिलाम्मे र घाममा धुलाम्मे बन्दै आएको छ ।
वीरेन्द्रनगर–४ का रतन शाहीका अनुसार सडकको दुरवस्थाकै कारण पर्यटकहरू कर्णाली आउन हिच्किचाउँछन् । ‘एकपटक यात्रा गरेपछि दोस्रोपटक फर्केर जानै डराउने अवस्था छ,’उनले भने ।
बस चालक दीर्घबहादुर केसी भन्छन्, ‘अधिकांश ठाउँमा सडक पाँच मिटर चौडाइमा सीमित छ, घुम्ती नमिलेका कारण ब्याक गरेर साइड दिनुपर्छ । खाल्डा जोगाउन खोज्दा दुर्घटनाको जोखिम हुन्छ ।’ उनका अनुसार यात्रुबाहक गाडीले सुर्खेत–जुम्ला यात्रा गर्दा एक रात कालीकोटमै बास बस्नुपर्ने बाध्यता छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार २०७२ सालयता कर्णाली राजमार्गमा ९०१ जनाको मृत्यु भएको छ भने १,५२७ जना घाइते भएका छन् । २०६६ चैतमा दैलेखको किटुमा ४२ जना र २०६९ मा कालीकोटको सेराबाडामा २८ जनाको ज्यान गएको थियो । पछिल्ला तीन वर्षमै ३०१ जनाले ज्यान गुमाएका छन् । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाका अनुसार साँघुरो सडक, पुराना सवारी, क्षमताभन्दा बढी यात्रु, तीव्र गति र ट्राफिक नियमको बेवास्ता दुर्घटनाका प्रमुख कारण हुन् ।
सडक डिभिजन कार्यालय जुम्लाका पूर्वप्रमुख लिलाबहादुर भण्डारी भन्छन्, ‘सुरुवातमै दुई लेनको मापदण्डमा निर्माण हुनुपर्ने थियो, तर इन्जिनियरिङ मापदण्ड नपुगेको कारण समस्या दोहोरिएको हो ।’ इन्जिनियरिङ हिसाबले २३२ किमि दूरी ६ घण्टामा पार गर्नुपर्ने भए पनि अहिले यात्रुले २४ घण्टासम्म लगाउँछन् ।
निर्वाचनको बेला राजमार्ग स्तरोन्नति मुख्य एजेन्डा बन्ने गरेको छ । कालीकोटबाट चौथोपल्ट उम्मेदवार बनेका नेकपाका महेन्द्रबहादुर शाही भन्छन्, ‘अबको पाँच वर्षभित्र कम्तीमा दुई लेनको कालोपत्र हुन्छ ।’ जुम्लाबाट उम्मेदवार रहेका राप्रपाका ज्ञानबहादुर शाहीले पनि ‘एक वर्षभित्र स्तरोन्नति सुरु गर्ने’ प्रतिबद्धता जनाएका छन् । मुगुका एमाले उम्मेदवार पूर्णबहादुर रोकायाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार कालोपत्र गर्ने योजना रहेको बताएका छन् । तर स्थानीय शेरबहादुर थापाको भनाइमा ‘चुनावमा वाचा, जितेपछि बेवास्ता’ दोहोरिँदै आएको छ ।
बर्खामा पहिरोले राजमार्ग थप संकटग्रस्त बन्छ । गत वर्ष मात्र १३५ पटक पहिरो जाँदा ४६ दिन सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रदेश प्रहरीको तथ्यांक छ । दहीखोला, गगनेखोला, मोल्फा, सेराबाडा, टाकुल्ला, गाल्जे लगायत १५ स्थान उच्च जोखिममा छन् । डिभिजन प्रमुख दीपेन्द्रकुमार चौधरीका अनुसार कमजोर माटो, भिरालो भूगोल र अत्यधिक विष्फोटनका कारण पहिरो दोहोरिन्छ । बजेट अभावले दीर्घकालीन संरचना निर्माण गर्न नसकिएको उनले बताए ।
राजमार्ग अवरुद्ध हुँदा कर्णालीको अर्थतन्त्रमा प्रत्यक्ष असर पर्छ । जुम्लाको हिमा गाउँपालिका–३ का गोपाल रोकाया भन्छन्, ‘हरेक भदौ–असोजमा सडक बन्द हुँदा स्याउ कुहिन्छ । गत वर्ष झन्डै पाँच लाख घाटा भयो ।’ दैनिक उपभोग्य वस्तु ढुवानी रोकिनु, कृषि उत्पादन कुहिनु र बजार आपूर्ति ठप्प हुनु सामान्य जस्तै बनेको छ ।
दैलेखको जाक्सीखोला पुल १२ वर्ष अलपत्र परेर निर्माणपछि पुनः चर्किएर भत्काइएको छ । नाग्मा पुल पनि पुनर्निर्माण गर्नुपरेको थियो । अर्बौं खर्च, बारम्बार मर्मत र चुनावी वाचाबीच कर्णाली राजमार्ग अझै सुरक्षित, दिगो र स्तरीय बन्न सकेको छैन ।
स्थानीयको एउटै माग छ-‘भगवान् भरोसाको यात्रा अन्त्य होस्, कर्णाली राजमार्ग दुई लेनसहित सुरक्षित बनोस् ।’ कर्णालीको विकासको मेरुदण्ड मानिएको यो सडक स्तरोन्नति नभएसम्म समृद्धिको सपना अधुरै रहने देखिन्छ ।

खुलानजर । २५ फाल्गुन २०८२, सोमबार १०:०८