वन वातावरणमा वीरेन्द्रनगर देशकै उत्कृष्ट नगरपालिका घोषित


सुर्खेत: कर्णाली प्रदेशको राजधानी रहेको नगरपालिका वीरेन्द्रनगर उत्कृष्ट नगरपालिका घोषित भएको छ । नेपाल नगरपालिका संघले गरेको मुल्यांकन छनौटनमा वीरेन्द्रनगर नगरपालिका वन वातावरण, जलवायु परिवर्तन र उत्थानशीलतामा उत्कृष्ट नगरपालिका घोषणा गरिएको हो ।
संघकाे ‍३० औं स्थापना दिवसकाे अवसरमा कदरपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वीरेन्द्रनगर नगरपालिका नगर प्रमुख माेहनमाया ढकाललाई प्रदान गरेका छन् ।
विभिन्न सूचकका आधारमा उत्कृष्ट नगरपालिका छनोट गर्न समिति निर्माण गरिएको थियो । सोही समितिले गरेको सिफारिसका आधारमा नगरपालिकालाई उत्कृष्ट नगरपालिका छनोट गरिएको नेपाल नगरपालिका सङ्घले जनाएकाे छ ।
वीरेन्द्रनगर नगरपालिका उत्कृष्ट नगरपालिका घाेषित हुनुमा गर्वकाे विषय भएकाे नगर प्रमुख माेहनमाया ढकालले नेपालीरैवारकर्मीलाई बताइन् । ‘हामीले विभिन्न क्षेत्रमा काम गरिरहेका छाैं तर कामगरेअनुसारका  उपलव्धीहरु हासिल भइरहेका छन्,’ ढकालले भनिन्, ‘अझै नगरलाई समुन्नत बनाउने याे अभियानलाई सार्थक बनाउन हाैसला प्रदान गरेकाे छ । आगामी दिनमा नगरवासीका चाहनाअनुसार नै सुन्दर र समुन्नत वीरेन्द्रनगर बनाउनमा कुनै कसर बाँकी राख्ने छैनाैं ।’
साथै ढकालले सामाजिक सञ्जाल फेसबुमा याे सफलता प्राप्त गर्न दिनरात कर्मक्षेत्रमा खट्ने नगरपालिका परिवार सम्पूर्ण सहयोगी निकायहरूलाई धन्यवादसहित आभार समेत व्यक्त गरेकी छन् । उनले नगरका लागि अझै गर्न धेरै काम बाँकी रहेकाे र दिनरात खटेर काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।