नेपाललाई चिनाउन आदिवासी जनजाति समुदायको ठुलो योगदान छ : मन्त्री बुढाक्षेत्री

सुर्खेत: कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले नेपाललाई विश्वसामु चिनाउन आदिवासी, जनजाति समुदायको महत्वपुर्ण भूमिका रहेको बताएका छन् ।
मंगलबार  २८ औं विश्व आदिवासी दिवसको अवसरमा आदीवासी जनजाति महासंघ सुर्खेतले आयोजना गरेको कार्यक्रममा  बोल्दै उनले यस्तो बताएका हुन् ।
‘विश्वमा नेपाललाई चिनाउन आदीवासी जनजातिको महत्वपुर्ण भूमिका छ,’मन्त्री बुढाक्षेत्रीले भने, ‘चाहे सगरमाथाको शिखर चढ्ने कुरा होस् या विभिन्न लडाईंको सफलता । यी कुराहरुमा यो समुदायको नाम र पहिचान जोडिएकै हुन्छ ।’
मन्त्री बुढाक्षेत्रीले आदिवासी, जनजाति समुदायको पहिचान जल, जमिन र जंगलसँग जोडिएको भन्दै परम्परागत स्वागत, संस्कार र इमान्दारिता सिक्न यो समुदायलाई हेर्नुपर्ने बताए ।           
उनले प्रदेश सरकारले लोपउन्मुख सिमान्तकृत समुदायका लागि छुट्टै नीति ल्याएर हरेक वर्ष कार्यक्रम गर्नका लागि  पाँच करोड रुपैयाँ बजेट ल्याउने गरेको बताए ।
‘पहिचान, पहुँच प्रतिनिधित्व र समावेशीकरणको लागि आदिवासी जनजातिको आन्दोलन जाति, भाषा, धर्म र संस्कृति संरक्षणको लागि देशव्यापी राष्ट्रिय जागरण’ भन्ने मूल नाराका साथ यो दिवस मनाइएको हो ।