सामान्य परिवारमा जन्मेका नारायणकाे संघर्षले पुर्यायाे सरकारी सेवासम्म !

बुवा लाल प्रसाद जैसी र आमाको नाम देविकन्या जैसीको कोखबाट २०४७ साल ५ महिना ११ गते कालीकोटको शुभकालिका गाउँपालिका -७ सेरामा जन्मिएका नारायण भट्टराई सिअहेब पाँचौ तहको बराहताल गाउँपालिकाकाे कुनाथरी स्वास्थ्य चौकी सुर्खेतमा कार्यरत कर्मचारी छन्। संगै कर्मचारी युनियनमा पनि राष्ट्रिय तहसम्मको प्रतिनिधित्वमा पनि उत्तिकै सक्रिय छन् । उनै भट्टराईसँग अंगराज परियारले गरेको कुराकानी:

बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झनुहुन्छ ?
म २०४७ साल भाद्र ११ गते कालिकोटको शुभकालिका गाउँपालिका -७ सेरामा जन्मिएको हुँ । बुबा लालप्रसाद जैसी र आमा देविकन्या जैसीका चार सन्तानमध्ये म जेठो छोरा हुँ । दुई दाजुभाइ र दुई दिदीबहिनी छौं । मेरो बाल्यकाल एकदम गरिब परिवारमा बित्यो । आर्थिक रुपले एकदम कमजोर परिवार भएकाले हाम्रो परिवारले दुःख पायौं । हाम्रो आर्थिक अवस्था कमजोर थियो । त्यो बेला धेरै कठिन थियो । पढ्न चाहन्थेँ तर घरको अवस्थाले सधैं पढाइभन्दा काममा सघाउनपथ्यने । पैंसाको लागि बुबा कालापहाड जानुहुन्थ्यो । काम गरेर ल्याएको पैसाले मात्रै कापीकिताब किन्न पाउँथ्यौं । बुवाले बर्खामा खेतबारीमा किसान गर्नुहुन्थ्यो र जाडोमा भने कमाइका लागि कालापहाड जानुहुन्थ्यो । एक कक्षा देखि आठ कक्षासम्म कालिका माध्यमिक विद्यालयमै पढें । त्योभन्दा माथि पढ्न हाम्रो गाउँमा विद्यालय थिएन । त्यसैले नौ कक्षादेखि पढ्न डेढ घण्टा पैदल हिँडेर अर्को विद्यालय जानुपर्थ्याे । पढाइमा दोस्रो आउँथें, तर पढाइमै ध्यान केन्द्रित गर्न पाइनँ । घरआउँदा किताब फालेर सिधै काममा लाग्नुपर्थ्याे । तर आज हेर्दा, त्यही समयले मलाई संघर्ष गर्न सिकाईदियो । पढाइ सकेपछि संघर्ष गर्दै, अवसर खोज्दै लागिरहें । अहिले पाँचौँ तहको सिमए कर्मचारीको रुपमा बराहताल गाउँपालिकामा कार्यरत छु ।
विद्यार्थी जीवनमा के बन्ने लक्ष्य थियो ?
त्यो बेला के बन्ने भन्ने कुरा नै प्रस्ट थाहा थिएन । हामीजस्ता गाउँका गरिब विद्यार्थीले सपना देख्नु भन्दा पहिले पेट पाल्न र किताब किन्न चिन्ता हुन्थ्यो । यति हुँदाहुँदै पनि म एसएलसीमा हाम्रो विद्यालयबाट प्रथम भएर पास भएँ । त्यसपछि गाउँमै प्लसटुमा विज्ञान लिएर पढ्न थालेँ । तर आर्थिक अवस्था कमजोर भएकाले अब ठुलो पढाइ गर्न त सकिन्न जस्तो लाग्थ्यो । त्यसैबीच, एकजना सरसँग मैले आफ्नो चाहना सुनाएको थिएँ । सर, सिमए पढ्न पाए हुन्थ्यो । सरले पनि उत्साह दिनुभयो । पढ्नुपर्छ तिमी सक्ने मान्छे हौ । त्यसपछि उहाँसँग निरन्तर सम्पर्कमै रहिरहेँ । उहाँकै पहलमा म दाउन्ने देवी हेल्थ ट्रेनिङ्ग सेन्टर बर्दघाट नवलपरासी पुगें र त्यहींबाट सिमए अध्ययन गर्ने अवसर पाएँ । सिमएमा पनि कलेज टप्पर भएरै निस्किएँ ।

अहेब नै किन रोज्नुभयो त ?
मलाई सानैदेखि स्वास्थ्य क्षेत्रमा काम गर्ने धेरै इच्छा थियो । हाम्रो गाउँमा त्यो बेला स्वास्थ्य चौकी त थियो तर सिएमए पास गरेको मान्छे नै थिएनन् । कसैले सिएमए पास गरेको भेटिन्थ्यो भने गाउँलेहरू उसलाई डाक्टरसाब भनेर सम्मान गर्थे । त्यो बेलाको अवस्था अहिले जस्तो कहाँ थियो र ? सरसफाइबारे चेतना नै थिएन । झाडापखाला, हैजा जस्ता रोगहरूले मान्छेहरू अकालमै मर्थे । सुत्केरी महिलालाई झन् थप सास्ती हुन्थ्यो । औषधी चाहिँ स्वास्थ्य चौकीमा पनि पुग्न मुस्किल हुन्थ्यो । गाउँमै बसेर गाउँलेलाई सेवा गरौं भनेर मैंले सिएमए रोजें । मलाई पढेर ठुलो जागिर खाने भन्दा पनि गाउँमा काम गरेर केही फरक पार्ने चाहना थियो । गाउँमा अझै पनि धेरै मानिसहरू रोग लागेपछि धामीझाँक्रीमा विश्वास गर्छन् । औषधी खानै नमान्ने । कहिलेकाहीँ त औषधी नभएर बिरामीलाई खाली सान्त्वना दिनुपर्ने अवस्था आइपथ्र्यो ।

अहेब पढाइ पछिको यात्रा कस्तो रह्यो?
सिएमए पास गरेपछि म सुर्खेत आएँ । यहाँका विभिन्न प्राइभेट अस्पतालहरूमा काम गर्ने मौका पाएँ । त्यहीँ काम गर्दा मैले औषधी, रोगनिदान र व्यवहारिक पक्षमा धेरै कुरा सिक्न पाएँ । त्यसैबीच, पार्टटाइम काम गर्दागर्दै म लोकसेवाको तयारीमा पनि लागें । बिहान बेलुका पढ्ने, दिनको समय अस्पतालमा काम गर्ने दिनचर्या बनाएँ । अन्ततः २०७२ साल पुस ११ गते मेरो लोकसेवामा नाम निस्किएपछि मेरो पोष्टिङ कालिकोटको मुग्राहाँ स्वास्थ्य चौकीमा भयो । नाम निस्किएपछि मैंले गरेको दुःख मेहनेत र सारा थकाइह्रु एकैछिनमा भुलेको महशुस भयो । गाउँको गरिब केटोले लोकसेवाको जागिर खान पाउँदो मेरो जीवनकै अविस्मरणीय मोड भयो ।

सेवाग्राहीप्रति कत्तिको सन्तुष्टि हुनुहुन्छ ?
म पुर्ण रुपमा सन्तुष्टि छु । किनकी विरामीको सेवा गर्नु भनेको त धर्म हो । एउटा बिरामीलाई उपचार गरेर ठिक पार्नका लागि निकै खटिनपर्छ । सन्चोपछि बिरामीको अनुहारमा देखिएको खुसी मलाई एकदम सन्तुष्टि मिल्छ । बिरामीहरुको सेवा गर्दागर्दे आफ्नो थकान बिर्सन्छु । यसकारण सेवाग्राहीप्रति सन्तुष्टि नै छु ।

कर्मचारी युनियनमा पनि राष्ट्रिय तहसम्म सक्रिय हुनुहुन्छ नि ?
हो, म पेशागत जिम्मेवारीसँगै कर्मचारी अधिकार र हकहितका सवालमा पनि सक्रिय छु । लामो समयदेखि विभिन्न तहका युनियनहरूमा काम गर्दै आइरहेको छु । २०७३ सालमा नेपाल निजामती कर्मचारी युनियन संघ कालिकोट जिल्ला कार्यसमितिको सदस्यको जिम्मेवारीबाट मेरो यात्रा सुरु भयो । त्यसपछि २०७४ मा नेपाल स्वास्थ्यकर्मी संघ, जिल्ला कार्यसमिति कालिकोटको उपाध्यक्ष भएँ । २०७५ मा स्थानीय तह कर्मचारी युनियन नेपाल, कर्णाली प्रदेश कार्यसमितिको सचिव भएँ । २०७७ मा मलाई सोही युनियनको कर्णाली प्रदेश संयोजकको जिम्मा दिइयो । हाल म २०७९ सालदेखि केन्द्रीय सचिवको रूपमा स्थानीय तह कर्मचारी युनियन नेपालमा कार्यरत छु । २०८० सालमा म नेपाल ट्रेड युनियन को सातौं राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको रूपमा सहभागी हुन पाएँ । त्यो महाधिवेशनमा सहभागी हुँदा देशभरका विभिन्न तहका कर्मचारीका मुद्दा, आवाज र अनुभवसँग जोडिन पाएँ । त्यसपछि २०८१ सालमा मलाई पार्षदको जिम्मेवारी दिइयो । यी जिम्मेवारीहरू मैले स्वेच्छाले, निष्ठापूर्वक र कर्मचारीका हक–अधिकारको लागि लिएको हुँ ।