सुर्खेत: वीरेन्द्रनगर नगरपालिका–२ की ४६ वर्षीया सरिता चौधरीको बिहानको घामसँगै उनको दैनिकी सुरु हुन्छ । बिहान घरमा खेतिपाती र दिउँसो जनताका काम लिएर नगरपालिकामा जाने गर्छिन्, सरिता । उनी वीरेन्द्रनगर नगरपालिकाको कार्यपालिका सदस्य हुन् । २०७४ मा उनले वीरेन्द्रनगर वडा नम्बर २ बाट महिला सदस्यमा निर्वाचित भइन् । पाँच वर्षको कार्यकाल सकिएपछि फेरि स्थानीयले उनलाई सदस्य उठ्नुपर्ने दबाव दिए । उनी आवद्ध पार्टी नेकपा एमालेले पनि ०७९ मा दोस्रो पटक टिकट दियो । फेरि उनी नगर कार्यपालिका सदस्य छिन् । पहिलेभन्दा बढी मत ल्याएर उनले निर्वाचन जितिन् । ‘साँझ बिहान बचेको समय खेतबारीमा बिताउँछु । दुई कट्ठा जमिनमा तरकारी लगाउँछु, त्यसबाट पनि वर्षमा घर खर्च कमाउँछु,’ सरिताले भनिन्, ‘अन्य समयमा जनताको काम गर्छु । गाउँ टोलमा घुमेर त्यहाँका समस्या ल्याई नगरपालिकामा आवाज उठाउँछु । कमाईको हिसाब भए त मलाई कृषिमा नै राम्रो छ । कार्यपालिकाबाट त मैले साढे ११ हजार मात्रै पाउँछु । तर, जनताको काम गर्दा मन सन्तुष्ट हुन्छ ।’
सरिताको घरमा श्रीमान र छोरा बुहारीसहित चार जनाको परिवार छ । उनका श्रीमान पनि बुलबुले उद्यानमा काम गर्छन् । छोरा बैंकमा काम गर्छन् भने बुहारी स्नातक तहमा पढ्दैछिन् । आफुले पढ्न नपाएपनि छोरा बुहारीलाई उच्च शिक्षासम्म पढाउन सकेकोमा मन खुसी हुने गरेको सुनाउँछिन् । ‘मैंले त एक कक्षा पनि पढ्न पाइन् । नाम मात्रै लेख्न आउँछ । १८ वर्ष नपुगेकै विवाह भयो । छोरा जन्मियो पारिवारिक जिम्मेवारी थपियो,’ उनले भनिन्, ‘मेरा छोरा बुहारी दुबै जनालाई उच्च शिक्षा पठाएँ । खुसी लाग्छ ।’
पहिले घरमा गृहणीको रुपमा काम गरेपनि २०६६ सालमा एमालेको सदस्यता लिएर राजनीतिमा सरिता होमिइन् । राजनीतिमा आउनु पहिले सामाजिक रुपमा दिदीबहिनीको रुपमा हेरिएपनि कार्यपालिका सदस्य भएपछि सबैले कार्यपालिका सदस्यज्यू भनेर सम्मान गर्ने गरेको बताइन् । ‘पहिला कसैकी दिदीबहिनी थिएँ । कसैकी बुहारी थिएँ । मानिसहरुले पनि त्यही रुपमा हेर्थे । जब जनताबाट निर्वाचित भएर कार्यपालिकामा गएँ, त्यसपछि समाजको हेर्ने दृष्टिकोण नै बदलियो,’ उनले भनिन्, ‘मैले समाजका मुद्दाहरु अगाडि बढाउन थालेँ । ती विषयहरु सुनुवाइ हुन थाले । अहिले गाउँ समाज सबैले केही काम गर्दा पहिला मलाई नै सोध्छन् ।’ उनले पहिलो पाँच वर्ष काम सिक्न नै ठिक्क भएको भन्दै अहिले योजना छनोट, प्रशासनिक शाखाहरुको काम, नीति निर्माणको प्रक्रिया लगायतका विषयमा आवाज उठाउन सक्ने भएको बताइन् । ‘अहिले सरकार सञ्चालन, ऐन नियम बनाउनेदेखि हरेक विषयको जानकारी भयो । आफुसँग पढाइ पनि भएन त्यस कारण सिक्नलाई ढिला भयो,’ उनले. भनिन्, ‘अहिले टोलमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी लगायतका पूर्वाधार मेरो प्राथमिकतामा परेका छन् । त्यति मात्रै होइन, महिला, दलित र सिमान्तकृत समुदायका हक अधिकारका विषयमा पनि त्यति नै सक्रिय छौं ।’ उनले आफ्नै पहलमा थारु समुदायमा हुने सिकलसेल रोगको परिक्षण र उपचार, विपन्न थारु बालबालिकालाई छात्रवृत्ति, सिप विकास तथा आयआर्जनका कामहरु नगरबाटै भएको बताइन् ।
उनी आफ्नो सफलताको श्रेय परिवारको साथ र समुदायको विश्वासलाई लिन्छिन् । ‘यदि मेरा श्रीमान र परिवारले साथ नदिएको भए म राजनीतिमा आउन सक्थेन । परिवारले साथ दिएपछि काम गर्न सजिलो हुँदो रहेछ,’ सरिता भन्छिन्, ‘त्यसमा जनताको विश्वासले यो स्थानमा छु । भोलिका दिनमा यसभन्दा अगाडि पनि बढ्न सकिनेछ ।’ काम गरेकै कारण पार्टीमा पहिलेभन्दा अहिले आफ्नो कुराहरु सुनुवाइ हुने गरेको भन्दै ०८४ मा वडा अध्यक्षको दाबी गर्ने बताउँछिन् । ‘जहाँ पनि काम गरेपछि आफ्नो पहिचान बनाउन सकिन्छ भन्ने लागेको छ । मलाई पार्टीमा पनि अहिले राम्रो तरिकाले नै हेरिन्छ । दुई पटक जनताको मन जितिसकेँ, अब एक पटक वडाध्यक्ष उठेर अझै राम्रो काम गर्न मन छ,’ उनले थपिन् ।
जनप्रतिनिधि बनेपछि पढ्न थालिन् लक्ष्मी
वीरेन्द्रनगर नररपालिका–१० की ४१ वर्षीया लक्ष्मी चौधरी पनि नगर कार्यपालिका सदस्य हुन् । उनी पनि नेकपा एमालेबाट ०७९ सालमा वडा नम्बर १० बाट महिला सदस्यमा निर्वाचित भइन् । पछि उनी कार्यपालिका सदस्यमा निर्वाचित भइन् । उनी पहिलो पटक कार्यपालिका सदस्यमा निर्वाचित भइन् । लक्ष्मीको पनि दिनचर्या उस्तै छ । बिहान छोराछोरीलाई विद्यालय पठाउने, खेतीबाली लगाउने लगायतका घरायसी काममा व्यस्त हु्न्छिन् उनी । दुई ठाउँको जिम्मेवारी पुरा गर्दा पनि आफुलाई आनन्दित हुने गरेको उनी सुनाउँछिन् ।
‘घरको काम त बानी नै हो, तर अब जनताको काम पनि मेरोे दैनिकीमा अटाएको छ,’ लक्ष्मी भन्छिन्, ‘नगरका बैठक, योजना निर्माण, र सेवाग्राहीसँगको भेटघाटले दिन गएको थाहा नै हुँदैन । समय व्यवस्थापन गर्न सके घर र बाहिर दुवै जिम्मेवारी सम्हाल्न सकिन्छ भन्ने कुरा मैले जनप्रतिनिधि बनेपछि अझ राम्ररी बुझेँ ।’ उनी २०६६ सालमा एमालेमा संगठित भइन् । त्यसभन्दा पहिला खुद्रा पसलको व्यापार गर्थिन् । १० वर्षसम्म स्वास्थ्य स्वयंसेविका भएर काम गरेको अनुभव पनि उनीसँग छ ।
जनताको समस्या तत्काल समाधान गर्न नसक्दा कहिलेकाहीँ आलोचना पनि सुन्ने गरेको लक्ष्मीले बताइन् । ‘कहिलेकाहीँ गाउँ समाजका मान्छेहरुको माग एउटा हुन्छ । निर्णय अर्कै भइदिन्छ । त्यति बेला आलोचना हुन्छ,’ उनले भनिन्, ‘त्यस्तो बेला विकासको गति सबैको अपेक्षाअनुसार छिटो हुँदैन, प्रयास जारी छ भनेर सम्झाउनुपर्छ ।’ उनले थारु समुदायका महिलाहरुको चुनौती भनेको समयको व्यवस्थापन भएको भन्दै व्यवस्थापन गर्न सके नीति निर्माणमा आफ्नो आवाज सहजै पुर्याउन सकिने बताइन् । ‘हामी थारु समुदायका महिला पनि क्षमता र नेतृत्वमा कमजोर छैनौं भन्ने देखाउन चाहन्छौं । तर हामीलाई हरेक कुराले समस्या पार्छ । पढाइ लेखाइदेखि समुदायको विभाजनले गर्न खोजेको काम गर्न सकिदैन ।’
कार्यपालिकामा योजना पास गर्ने मात्रै नभएर महिलालाई सचेत पार्ने, अधिकारका विषयमा जागरूक बनाउने र सामाजिक समानताको मुद्दा उठाउने काम गरिरहेको उनको भनाई छ । उनको घरमा छोरा बुहारी र ससुरासहित ६ जनाको परिवार छ । उनका श्रीमान एअरपोर्टमा काम गर्छन् । जेठा छोरा नेपाल प्रहरी छन् । कान्छा छोरा बुलबुले उद्यानमा काम गर्छन् । १४ वर्षको उमेरमा विवाह गरेकी लक्ष्मीले सात कक्षासम्म मात्रै पढ्नै सकेकी थिइनन् ।
जनप्रतिनिधि भइसकेपछि उनले एसईईसम्मको पढाइ पुरा गरेकी छिन् । छोराहरुले पनि उच्च शिक्षा अध्ययन गरिसकेका छन् । जनप्रतिनिधि हुँदा पार्टी र समाजले सकारात्मक रुपमा हेरेको लक्ष्मीले सुनाइन् । ‘पार्टीले पनि हामीलाई प्राथमिकताका साथ हेर्छ । नगरमा हुने हरेक योजना छनोटमा पनि हामीले भनेका विषयहरु समेटिन्छन्,’ उनले भनिन्, ‘समुदायभित्र पिँधमा रहेका वर्गहरुको हितमा काम गर्दै आएका छौं । निशुल्क स्वास्थ्य बिमा, अपांगता परिचयपत्र, सिकलसेल लगायतका कामहरु भएका छन् ।’ नगरबाट प्रवाह हुने नीति निर्माणमा समेत अनुभव भइसकेको भन्दै आगामी निर्वाचनमा फेरि नेतृत्व तहमा अगाडि बढ्ने उनले बताइन् ।
वीरेन्द्रनगरकीे यी दुई थारु महिला जनप्रतिनिधिले घरायसी जिम्मेवारी र जनताको सेवा एकसाथ गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन् । थारु समुदायका महिलाहरु राजनीतिमा नआउने, चासो नदेखाउने भएका कारण पनि आफ्नो प्रतिनिधित्वले उनीहरुलाई समेत राजनीतिमा आउन प्रेरणा मिल्ने उनीहरु बताउँछन् । वीरेन्द्रनगरका महिला जनप्रतिनिधिको क्षमता अभिवृद्धिका लागि दलित महिला केन्द्र नेपालले निरन्तर मेन्टरसिपका कार्यक्रम सञ्चालन गर्दै आएको छ । अहिले वीरेन्द्रनगरका १६ वटा वडाहरुमध्ये दुई वडामा थारु समुदायबाट दुई जना पुरुष र महिलाबाट कार्यपालिका सदस्यमा दुई जना गरी जनाको उपस्थिति छ । कर्णाली प्रदेशमै थारुको बसोबास भएको एकमात्र जिल्ला हो, सुर्खेत । सुर्खेतमा पनि वीरेन्द्रनगर नगरपालिकामा यो जातिको बसोबास छ । थारु समुदायका तर्फबाट राजनीतिक क्षेत्रमा सबैभन्दा पहिले उपल्लो पदमा पुग्ने जागुराम नै पहिलो व्यक्ति हुन् । उनी विसं २०५४ मा जिविस सदस्यमा निर्वाचित भएका थिए । वीरेन्द्रनगर नगरपालिकाको वडा नं २, ३, ८, ९, १०, ११ र १२ मा थारु बस्ती छ । यो समुदायको जनसंख्या छ हजार १११ रहेको छ ।

जगतदल जनाला विक । ३० श्रावण २०८२, बिहीबार १५:२३