
सुर्खेत: यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सवाललाई सञ्चारमाध्यमले सम्मानजनक, मर्यादित र संवेदनशील ढङ्गले उठाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
शनिबार वीरेन्द्रनगरमा आयोजित ‘यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकार, सम्मान तथा समावेशितासम्बन्धी विषयमा सञ्चारकर्मीहरूका लागि अभिमुखीकरण कार्यक्रम’मा सहभागीहरूले यस समुदायका विषय समाचारमा समेट्दा प्रयोग गरिने भाषा, शब्दावली र प्रस्तुतिमा विशेष ध्यान दिनुपर्ने बताएका हुन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष मधुवन बिसीले सञ्चारमाध्यम समाजमा रहेका विभेद र गलत धारणालाई परिवर्तन गर्ने प्रभावकारी माध्यम भएकाले पत्रकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सवाललाई जिम्मेवार ढङ्गले उठाउनुपर्ने बताए।
उनले पत्रकारिताले कसैको पहिचान र आत्मसम्मानमा चोट पुर्याउनेभन्दा पनि समाजमा सम्मान, समानता र स्वीकार्यता स्थापित गर्न सहयोग गर्नुपर्ने धारणा राखे। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विषयलाई सनसनीपूर्ण बनाउने वा फरकपनका रूपमा मात्रै प्रस्तुत गर्ने प्रवृत्तिबाट सञ्चारकर्मी सचेत हुनुपर्ने उनको भनाई छ।
लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासंघ नेपालकी सिम्रन श्रेष्ठले संविधान र कानुनले समानताको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा समुदायका व्यक्तिहरूले अझै विभेद, अपमान र बहिष्करण भोग्नुपरेको बताइन्।
परिवारदेखि विद्यालय, कार्यस्थल र सार्वजनिक सेवासम्म यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिले विभिन्न समस्या सामना गरिरहेको उल्लेख गर्दै उनले समुदायका वास्तविक समस्या र अधिकारका सवाल सञ्चारमाध्यममा पर्याप्त रूपमा आउन नसकेको बताइन्। सञ्चारकर्मीले समुदायसँग सम्बन्धित विषयमा समाचार लेख्दा व्यक्तिको पहिचान, गोपनीयता र आत्मसम्मानलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ।
कर्णाली इन्द्रेणी आवाजकी अध्यक्ष अञ्जली बुढाथोकीले कर्णालीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय अझै खुलेर आफ्ना समस्या र अधिकारका विषय राख्न सक्ने वातावरण पूर्ण रूपमा निर्माण भइनसकेको बताइन्। सामाजिक सोच, पारिवारिक अस्वीकार र विभेदका कारण कतिपय व्यक्तिले आफ्नो पहिचान लुकाएर बस्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो।
उनले समुदायका व्यक्तिले शिक्षा, स्वास्थ्य, रोजगारी तथा सरकारी सेवा प्राप्त गर्ने क्रममा समेत विभिन्न समस्या भोगिरहेको उल्लेख गर्दै राज्यका निकायसँगै सञ्चारमाध्यमले उनीहरूको आवाजलाई स्थान दिनुपर्ने बताइन्। सञ्चारमाध्यममा सकारात्मक र अधिकारमुखी सामग्री बढे समाजमा रहेको भ्रम तथा नकारात्मक धारणा कम गर्न सहयोग पुग्ने उनको भनाई छ।
छलफलमा सहभागी सञ्चारकर्मीहरूले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका समाचार लेख्दा प्रयोग गर्नुपर्ने शब्दावली, व्यक्तिको गोपनीयता, लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरणका विषयमा जिज्ञासा राखेका थिए। उनीहरूले यस्ता विषयमा सञ्चारकर्मीलाई समय–समयमा अभिमुखीकरण आवश्यक रहेको बताएका थिए।
कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई समाचारको विषयका रूपमा मात्र नभई अधिकारप्राप्त नागरिकका रूपमा प्रस्तुत गर्नुपर्ने, उनीहरूको सहमतिबिना व्यक्तिगत पहिचान सार्वजनिक गर्न नहुने तथा अपमानजनक र विभेदकारी शब्द प्रयोग नगर्न सञ्चारकर्मीलाई आग्रह गरिएको थियो।
त्यस्तै, समुदायले भोगिरहेका विभेदका घटनासँगै उनीहरूको शिक्षा, रोजगारी, नेतृत्व, सफलता र सामाजिक योगदानका विषयलाई समेत सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने विषयमा छलफल भएको थियो।
‘इन्द्रेणीका रङ सात, स्वीकार र सम्मान एकै साथ’ भन्ने सन्देशसहित भएको कार्यक्रममा सेभ द चिल्ड्रेनकाे सिफ्ट अभियानका विषयमा समेत छलफल गरिएको थियाे ।
कार्यक्रममा सुर्खेतका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

खुलानजर । १५ कार्तिक २०८३, शनिबार १६:२२