बादी समुदायका ६० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण


दैलेख: जिल्लाको सदरमुकाममा बसोबास गर्दै आएका बादी समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। भियतनामिसेस समुदाय युरोपली समुदायको आर्थिक सहयोगमा शुक्रबार जनता आधारभूत विद्यालयमा र बालमन्दिर प्रावि नयाँबजारमा अध्यनरत बादी समुदायका आर्थिक रूपमा विपन्न बादी समुदायका ६० जना बालबालिकालाई स्कुल ब्याग, कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गरिएको हो।
शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्दै आर्थिक अभावका कारण विद्यालय जान समस्या भोगिरहेका बालबालिकालाई अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको दलित उत्थान युवा रोजगार तथा सांस्कृतिक संस्थाका अध्यक्ष ललित सुनारले बताए । उनले अनाथ, गरिब तथा आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई लक्षित गरी सहयोग गरिएको जानकारी दिए। संस्थाका सचिव प्रेम सुनारका अनुसार बादी समुदाय अझै पनि शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सेवामा अपेक्षाकृत पछाडि परेको छ। उनले आर्थिक अभावका कारण बालबालिकाको शिक्षामा निरन्तरता दिन समस्या भइरहेको भन्दै करिब २ लाख ४४ हजार ९ सय रुपैयाँ बराबारको शैक्षिक सामाग्री बितरण्म गरिएको बताए। उनले बालबालिकाको शैक्षिक पहुँच विस्तार गर्न आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
शैक्षिक सामग्री प्राप्त गरेपछि अभिभावक मैनकला बादीले खुसी व्यक्त गर्दै सहयोगी संस्थालाई धन्यवाद दिइन्। उनले घरको आर्थिक अवस्था कमजोर हुँदा कहिलेकाहीँ बालबालिकालाई आवश्यक पर्ने कापी, कलमसमेत किन्न नसक्ने अवस्था रहेको बताइन् । उनले आवश्यक शैक्षिक सामग्रीको अभावमा बालबालिकालाई विद्यालय पठाउनसमेत समस्या हुने गरेको उल्लेख गर्दै यस किसिमको सहयोगले बालबालिकाको पढाइमा ठूलो राहत पुग्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले आर्थिक अवस्था कमजोर भएका बालबालिकाको शिक्षामा सबै पक्षले सहयोग र सहकार्य गर्नुपर्ने बताए। उनले शिक्षा प्रत्येक बालबालिकाको आधारभूत अधिकार भएकाले आर्थिक अभावकै कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने धारणा राखे। नगरप्रमुख शर्माले महिला सामुदायिक सेवा समाजले विगतका वर्षदेखि नै समाजमा रहेका अनाथ, गरिब तथा आर्थिक रूपमा विपन्न बालबालिकाको शिक्षामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको भन्दै प्रशंसा गरे। उनले संस्थाले बालबालिकाका लागि शैक्षिक सामग्री सहयोग गर्दै आएको उल्लेख गर्दै यस्ता सामाजिक कार्यले विपन्न समुदायका बालबालिकाको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।