सुर्खेत: कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले सामाजिक सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । शनिबार गते ४४ औं सामाजिक सेवा दिवसको अवसरमा गैरसरकारी संस्था महासंघले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताएका हुन् ।
सामाजिक सेवामा सरकारी र गैरसरकारी संस्थाले नागरिकलाई अनुभूति गर्नेगरी काम गर्न आवश्यक रहेको बताए ।
समाजसेवामा कुनैपनि स्वार्थ नराखी सरकार र सरोकारवालाबिच समन्वय आवश्यक रहेको मन्त्री जिसीले औंल्याए । ‘कति काम गरिएको छ भन्ने तिरभन्दा पनि अर्कोले काम गर्न दिएन, मैले राम्रै गरिरहेको थिए भन्ने बुझाइ सबैमा देखियो,’ उनले भने, ‘अर्कोले राम्रो गरेकोलाई राम्रो नभन्ने परिपाटी हावी भएको छ । हामी सबै आफैले राम्रो गरेको भन्ने तर जनताले अनुभूति नै नगर्ने अवस्था आएको छ ।’
समाजसेवा गर्न सबैमा समान दृष्टिकोण राख्नुपर्ने मन्त्री जिसीको भनाई छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुन्दर नेपाल, किर्डाक नेपाल, एफआइएन, स्याक नेपाल र अन्तरनिर्भर समाज संस्थाहरुको समन्वयमा आयोजित नागरिक सम्मान तथा अन्तरक्रिया कार्यक्रममा कर्णालीका तीन जनालाई सम्मान समेत गरिएको छ ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य मीनबहादुर शाही, कलाकार प्रेमदेव गिरी र शिक्षा क्षेत्रका अभियन्ता शिला गुरुङ सम्मानित भएका हुन् ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाहीले समाज रुपान्तरणको क्षेत्रमा गैससले खेलेको भूमिकाको प्रसंशा गर्न आवश्यक रहेको बताए । ‘विकास निर्माणमात्रै समाजसेवा होइन । समाजको सकारात्मक रुपान्तरणमा सबैले ध्यान दिनुपर्छ,’ उनले भने,‘मान्छेमा जातीय, धार्मिक, भौगोलिक विभेद कायमै छ । अब परोपकारको क्षेत्रमा अघि बढ्न आवश्यक छ ।’
समाज रुपान्तरण क्षेत्रमा लागेका व्यक्तिहरुलाई सम्मानले अरुलाई पनि समाजसेवामा लाग्न प्रेरित हुने गैर सरकारी संस्था महासंघ, नेपाल सुर्खेतका अध्यक्ष प्रकाश सारुले बताए ।
कार्यक्रममा सहभागी अन्य गैरसरकारी संस्थाका प्रतिनिधिहरुले समाजिक ार्य गर्नका लागि विभिन्न संघ संस्थाहरु २०३४ को ऐनअनुसार चलेको भन्दै त्यसलाई परिमार्जन गर्नुपर्ने सुझाव राखेका थिए ।
दिवसकै अवसरमा मानवसेवा आश्रम सुर्खेतमा फलफूल समेत वितरण गरिएको इन्सेकका कार्यक्रम अधिकृत परिस्कृत पौडेलले जानकारी दिए ।
खुलानजर । ७ आश्विन २०८०, आईतवार ०८:५४