कर्णालीका दुर्गम गाउँतिर जंगली जनावरको आतंक बढिरहेकाे छ । विशेषगरी बँदेल र बाँदरले कृषकलाई हैरान बनाएका छन् । जसले गर्दा उनीहरुलाई अन्न उत्पादनमा समेत समस्या भएको छ । पश्चिम सुर्खेतमा समेत बँदेल र बाँदरले कृषकलाई समस्यामा पारेका छन् । चौकुनेका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । बालीमा बाँदरको बिगबिगी बढेपछि वन–जंगल आसपासका बस्तीका किसान समस्यामा परेका छन् । मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि उनीहरू हैरान भएका छन् ।
बाँदर नियन्त्रणको लागि सरकारले उचित विकल्पको खोजी नगर्दा किसानलाई बिहान उठ्ने बित्तिकै बाँदर धपाउन भ्याइनभ्याइ हुने गरेको छ । कतिपय किसानले त बाँदरले अन्नबाली उत्पादनमा बाधा गरेपछि आफ्नो खेतबारी बाँझो छाडेका छन् । खासगरी मकै र धान बालीको सिजनमा बाँदर र बँदेलले धेरै सताउने गरेका छन् । वर्षभरि खानका लागि लगाएको अन्नबाली छिनभरमा नष्ट पारेपछि त्यसकाे राेकथामका लागि स्थानीयले हारगुहार गरिरहेका छन् ।
१०-१२ वर्षसम्म कमै मात्रामा बाँदर लाग्ने गरेपनि पछिल्लो समय बस्तीहरुमा कम उत्पादन गर्न थालेपछि उत्पादन भएका क्षेत्रमा जंगली जनावरको आँखडा बनेका छन् । चौकुनेको वडा नं. १, २, ३, ४ र ५ मा बढी मात्रामा बाँदरले दुःख दिने गरेको गाउँपालिकाले समेत जनाएको छ । बाँदरको व्यवस्थापनको लागि पालिकाले उचित खालको कार्यक्रम समेत ल्याउन सकेकाे छैन ।
संघीय वन मन्त्रालयले जंगली जनावरले पारेको क्षतिको राहत दिने उद्देश्यले राहत वितरण निर्देशिका २०८० जारी गरेपनि लागू नहुँदा नागरिकले क्षतिपूर्ति लिन पाएका छैनन् । वन्यजन्तुबाट जनधनको क्षति भएमा राहत वितरण गर्ने प्रक्रियालाई सरल बनाउन संघीय वन मन्त्रालयले निर्देशिका जारी गरेर प्रदेश सरकारले राहत वितरण गर्ने याेजना ल्याएपनि कार्यान्वयनमा भने दुवै तहका सरकारले तदारुकता देखाएका छैनन् । १६ वटा जनावरबाट मानवीय तथा अन्नबालीमा क्षति भएमा राहत दिने व्यवस्था छ । तर, त्याे व्यवस्थाले प्रदेका किसानलाई छुन सकेकाे छैन ।
हरेक वर्ष न्यून बजेट हुँदा राहत प्रक्रिया प्रभावकारी हुन सकेको छैन । त्यसैले जंगली जनावरकाे आतंक राेकेर किसानलाई सहुलियत गर्नेमा तीनै तहका सरकारले विशेष चासाे देखाउन् ।
खुलानजर । २४ श्रावण २०८१, बिहीबार १२:५०