सुर्खेत: कर्णाली प्रदेशको शिक्षा क्षेत्रका विविध चुनौती र समाधानका उपायहरूबारे सञ्चारकर्मीहरूले प्रश्न उठाएका छन् । शिक्षा तथा मानवस्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरको वार्षिक कार्यक्रम अन्र्तगत आइतबारे वीरेन्द्रनगरमा गरिएको पत्रकार भेटघाट कार्यक्रममा सञ्चारकर्मीहरूले उक्त प्रश्न उठाएका हुन् । कार्यक्रममा सहभागी पत्रकारहरूले कर्णाली प्रदेशका विद्यालयमा देखिएका समस्या, जनशक्तिको अभाव, बजेटको प्रभावकारी प्रयोग, र शिक्षामा समान पहुँचका विषयमा गम्भीर प्रश्न उठाएका थिए । साथै, स्थानीय सरकारको कमजोरी र संघीय सरकारको नीतिगत सहकार्यलाई प्रभावकारी बनाउन गरिनुपर्ने कदमहरूबारे पनि धारणा व्यक्त गरेका थिए । पत्रकारहरूले शिक्षा क्षेत्रमा भइरहेको भौतिक संरचनाको सुधार, विद्यालयमा वितरण गरिने दिवा खाजा , सेनेटरी प्याड, बिद्यालय कर्मचारी ब्यवस्थापन अनुदान लगायत बालबालिकाको सिकाइमा देखिएका कमीहरू औंल्याउँदै यसलाई प्राथमिकताका साथ समाधान गर्न सुझाव दिएका छन् । कार्यक्रममा शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक हरि प्रसाद अर्यालले नेपालको संविधान २०७२ अन्तर्गत रहेका शिक्षा सम्बन्धी प्रावधानहरूबारे जानकारी गराउँदै संघीय सरकारले स्थानीय तहमा बजेट हस्तान्तरण गरेको भए पनि जनशक्ति र कानुनी प्रावधानको अभावले काम गर्न चुनौती थपिएको बताए । उनले पछिल्लो समय तयार गरिएको शिक्षा गाइडलाइनले समस्याको समाधानमा मद्दत गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक हरिप्रसाद अर्यालले संघीय सरकारले विभिन्न शिर्षकमा स्थानीय तहमा बजेट पठाउने गरेको भए पनि जनशक्ति र कानूनी प्रावधानको अभावले काम गर्न चुनौती रहेको बताए । उनले पछिल्लो समय तयार गरिएको शैक्षिक मार्गदर्शनले शिक्षा क्षेत्रमा रहेका समस्या समाधानमा मद्दत गर्ने दावी गरे ।
त्यसैगरी, शिक्षा विकास तथा समन्वय इकाइ सुर्खेतका प्रमुख महेशदत्त देवकोटाले सुर्खेतका विद्यालयहरूमा भएका सुधार प्रयासहरू बताउँदै भौतिक संरचना, शिक्षकको क्षमता अभिवृद्धि, र सिकाइ सुधारमा केन्द्रीय सरकार र स्थानीय सरकारको सहकार्यले सोचे अनुरुप उपलब्धी हाँसिल गर्न नसकेपनी निरन्तर प्रयासका कामहरु भइरहेको जानकारी दिए । कार्यक्रमले पत्रकार र शिक्षा क्षेत्रबीच आपसी संवाद र सहकार्यलाई थप प्रगाढ बनाएको विश्वास गरिएको छ ।
खुलानजर । १३ माघ २०८१, आईतवार २०:१५