बलात्कारपछि भेरीमा फालिएकी उनी भन्छिन्–नयाँ जीवन पाएँ, तर समाजको डर छ !

सुर्खेत: सुर्खेतको भेरीगंगा नगरपालिकाकी १६ वर्षीय छिञ्चु (२३) (परिवर्तित नाम) यही चैत १७ गते वीरेन्द्रनगरमा आफ्नो गाउँकै मिल्ने साथीको घरमा आइन् । त्यो बास बसेर उनी भोलीपल्ट १८ गते घरतर्फ लागिन् । साँझको ५ बजे उनी जहरे बजार पुगिन् । घर जानको लागि अटोको खोजीमा थिइन् उनी । त्यतिकैमा एकजना चिनेजानेका अटोचालक गुर्भाकोट–८ का विवश घर्तिमगर भेटिए । आफुलाई पुर्याइदिने बताएपछि उनी अटोमा बसिन् । घर्तिसँग एकजना अर्का व्यक्ति पनि थिए । उनलाई भने पीडित किशोरीले चिनेकी थिइनन् । केही वर्षदेखि अटो चलाउँदै आएका घर्तिले उनलाई चक्लेट खान दिए । उनले खाँदिन भनेपछि गुलियो त हो भनेर कर गरेपछि खाइन् । खाएपछि उनको विस्तारै होस् गुम्दै गयो । विवशले चक्लेटमा े बहोस् बनाउने औषधी राखेर दिएका रहेछन् । उनको घर बजारदेखि तीन किलोमिटर टाढा थियो । तर, विवशले डेढकिलोमिटरसम्म लिएर बजारदेखि नजिकै भेरी किनारमा लिए । त्यहाँ लिएर फेरि विवश र उनका साथीले घाँटी अँचेट्दै झोलजस्तो देखिने औषधी खुवाए । त्यसपछि त उनले केही पनि थाहा पाउन सकिनन् । बलात्कार गरेर उनलाई भेरी नदी छेउमा आधा शरिर पानीमा आधा किनारमा हुनेगरी फालिएके रहेछ । करिब आधा घण्टापछि पछि छिञ्चु (२३) को अली–अली होस् आउँदा उनको अवस्था कहालीलाग्दो थियो । त्यसपछि मात्रै उनले आफुलाई बलात्कार गरेर पानीमा फालेको थाहा पाइन् । पानीमा भिजेको जकेटको प्याकेटमा रहेको मोबाईलबाट आमालाई फोन गरेर बोलाएपछि घरका मान्छे आए । त्यो अवस्था देखेर आमा र आफन्तहरु रोइकराई गरे । भेरी छेउमै आगो बालेर कठ्याङग्रीएकी उनलाई स्याहारसुहार गरे । उनलाई झन्–झन् गाह्रो भयो । त्यसपछि चैत १८ गते प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि ल्याइयो ।
‘म वीरेन्द्रनगरबाट जहरे बजार पुगेर घर जान अटो खोजिरहेकी थिएँ मैले चिनेका एक जना अटोवाला विवश घर्तीमगर भेटिए मलाई घरसम्म पुर्याइदिन्छु भनेर अटोमा बसालेर चक्लेट खुवाएर अर्धवेहोस बनाए,’पीडित किशोरी छिञ्चु (२३) ले भनिन् ‘भेरी नदीमा लिएर फेरी मेरो दुवै जनाले घाँटी समातेर झोलजस्तो औषधी खुवाए त्यसपछि मैले केही थाहा पाएन करिब २० मिनेपछि होस आउँदा आधा शरिर पानीमा र आधा किनारमा थियो । माथिका मात्रै कपडा थिए, पछि मम्कीलाई फोन गरेर बोलाएँ ।’
चारदिनसम्म मानसिक रोग वार्डमा उपचाररत उनी मंगलबार मात्रै डिस्चार्ज भइन् ।
घटना भएको दिनको अवस्था हेर्दा अली गाह्रो नै भएको र निरन्तरको उपचारपछि उनी ठिक भएर डिस्चार्ज गरिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत मनोरोग विषशेज्ञ डाक्टर सुशील समदर्सीले बताए ।
‘पहिलो दिन त एकदमै समस्या थियो, निरन्तरको उपचारपछि ठिक भएको छ । यस्ता अघातजन्य घटनामा मान्छे बेहोस हुने, चिच्याउने, ननिदाउने, शरिर झमझमाउने र मान्छे देख्दा डराउने हुन्छन्,’डाक्टर समदर्शीले भने, ‘उनीहरुलाई त्यस्ता कुरा सम्झाउने, घटनास्थल या स्थानमा लिने जस्ता कार्यहरु गर्नुहुँदै, धेरै कुरा सोचेर उनीहरुको हेरविचार गर्नुपर्छ ।’
अर्को जन्म पाएर बाँच्न सफल भएपनि भोलीका दिनमा गाउँ समाज र यस्त अनैतिक मानिसहरुको डरले अझै मन झस्काउने गरेको भन्दै छिञ्चु (२३) ले पीडा पोखिन् ।
‘मानिसको मृत्यु भएपछि भेरी नदिमा लिई आगो बालेर जलाइन्छ, मेरा आमा बुवाले मलाई जिउँदो अर्धवेहोस अवस्थामा आगोले सेकाए,’ उनी भन्छिन्, ‘कालको मुखबाट त बाँच्न सफल भर नयाँ जीवन त पाएँ, तर भोलीका दिनमा यो समाज र दानवरुपी व्यक्तिहरुको डरले मन नै खिन्न हुन्छ ।’
पक्राउ परेका घर्तिले आफु मैनतडा दिदिको घर गएका बेला पहिला पनि पछि लागेर जबरजस्तीकरणी गर्न खोजेको पीडित छिञ्चु (२३) को भनाई छ ।
पीडित कक्षा आठको परीक्षा दिएकी थिइन् । उनी एक दाई र दुई दिदी मध्येकी कान्छी छोरी हुन् । उनका बुवाआमा कृषि गर्छन् ।

दोषीलाई कारबाहीका पीडितका आफन्तले मंगलबार इलाका प्रहरी कार्यालय छिन्चुमा जाहेरी दिएका थिए । जाहेरीका आधारमा सोही घटनाका आरोपी गुर्भाकोट–८ मेहेलकुनाका २५ वर्षीय विवश घर्तिमगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी तथा निरीक्षक रमेश राईले जानकारी दिए ।
‘पीडित पक्षद्धारा आएको जाहेरी अनुसार एक जनालाई पक्राउ गरेका छौं, भने घटनामा संलग्न अर्का एक जना को हुन् भन्ने पहिचान नभएकोले खोजी गरिरहेका छौं,’प्रमुख राईले भने, ‘आवश्यक अनुसन्धान गरी पीडकलाई कानुन अनुसार कारबाहीका लागि अदालतमा पठाइनेछ ।’