सुर्खेत: वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा फागुन २३ गते वीरेन्द्रनग नगरपालिका–१ की १६ वर्षीया इनिसा विकको हत्यामा निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवार तथा आफन्तले फागुन २७ गते वीरेन्द्रनगर बजार र प्रशासन कार्यालयमा प्रदर्शन गरेका छन्।
‘बालिकामाथि हुने बलात्कार, हत्या र हिंसा बन्द गर’, ‘इनिशालाई न्याय देऊ’, ‘हत्यारालाई कारबाही गर’ जस्ता नारा लेखिएका प्लेकार्डसहित पीडित परिवार र आफन्तले खबरदारी र्याली निकाल्दै प्रदर्शन गरेका हुन्। एनिसाका आमा तारा विकले प्रमुख जिल्ला अधिकारीलाई भेटेर ध्यानाकर्षण पत्र समेत दिएकी छन् ।
फागुन २३ गते शनिबार बिहान ‘प्रयोगात्मक छ’ भन्दै घरबाट निस्किएकी इनिशा करिब ९ बजेतिर वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकैको जंगलमा बेहोस अवस्थामा भेटिएकी थिइन्।
उनीसँगै रहेका वीरेन्द्रनगर–९ का १६ वर्षीय बालकलाई प्रहरीले सोही दिन घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो। इनिशा गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन।
मृतकका आफन्तले इनिशामाथि बलात्कारपछि हत्या गरिएको दाबी गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग राख्दै आएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न भएको आशंकामा अन्य १५, १६ र १७ वर्षका तीन जना बालकहरुलाई पनिियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ।
इनिशामाथि बलात्कार भएको वा नभएकोबारे चिकित्सकीय रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ। इनिशा वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा थिइन्। उनी बिहान ८ बजेसम्म फर्किने भन्दै आमा तिलालाई जानकारी गराएर घरबाट निस्किएकी थिइन्। तर समयमा घर नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए।
आमा तिला विकका अनुसार छोरीलाई फोन गर्दा मोबाइल स्विच अफ थियो। उनी पढ्ने विद्यालयमा पनि फोन गर्दा सम्पर्क हुन सकेको थिएन। केही समयपछि अपरिचित नम्बरबाट फोन गर्दै कसैले ‘तपाईंकी छोरी शहीद पार्कको जंगलमा बेहोस अवस्थामा छिन्’ भन्दै जानकारी दिएको थियो।
घटनास्थल पुग्दा इनिशाको शरीर रक्ताम्मे अवस्थामा रहेको, कपाल लुछिएको, घाँस मडारिएको र एकातिर जुत्ता तथा अर्कोतिर मोजा परेको अवस्थामा भेटिएको आफन्तले बताएका छन्।
सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तले फागुन २४ गते दिएको उजुरीको आधारमा शवको पोष्टमार्टम प्रदेश अस्पताल सुर्खेतमा भयो । हालसम्म परिवारजनले शवको सद्गत गरेका छैनन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी मोहनजंग बुढथापाका अनुसार प्रारम्भिक अनुसन्धानबाट इनिशामाथि बलात्कारपछि मृत्यु भएको देखिएको छ। इनिशाको घटनामा निष्पक्ष छानविन नहुँदासम्म परिवारले शव नबुझ्ने बताएका छन् ।
फागुन २६ गते इन्सेक कर्णाली प्रदेश कार्यालय, मानव अधिकार रक्षक सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, आवाज संस्था, नवज्योति केन्द्र, फेडो, डब्लुएचआरडी, एड्भोकेसी फोरम र वाम संस्था लगायतका संस्थाहरूले जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी सुधिरराज शाहीलाई ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानविन गर्न माग गरेका छन् । उक्त घटनाको प्रहरीले निष्पक्ष रुपमा अनुसन्धान गरिरहेको जनाएको छ।

प्रज्वल चुनारा । २७ फाल्गुन २०८२, बुधबार १४:५३