निर्माण व्यवसायी महासंघको अध्यक्षमा बम


सुर्खेत: कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा मानव बम निर्विरोध निर्वाचित भएका छन् । महासंघको सातौँ साधारणसभा तथा तेस्रो अधिवेशनअन्तर्गत भएको निर्वाचन प्रक्रियामा अध्यक्ष पदमा बमको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
महासंघले सार्वजनिक गरेको अन्तिम उम्मेदवार नामावलीअनुसार वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा उम्मेदवारी फिर्ता भएपछि दुवै पद रिक्त रहेका छन् । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि उक्त पदमा कुनै उम्मेदवार कायम नरहेको जनाइएको छ ।
यस्तै, उपाध्यक्षमा तुलाराज शाही (राज), सचिवमा नबिनकुमार थापा, कोषाध्यक्षमा मनोजकुमार सिंह र सहकोषाध्यक्षमा शिमिला खड्का निर्विरोध निर्वाचित भएका छन् ।
महासंघको सदस्य पदमा मनबहादुर चन्द, ठानबहादुर भण्डारी, रतनबहादुर शाही र खड्कबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । सदस्य पिछडिएको क्षेत्रतर्फ ध्वजबहादुर शाही पनि निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनबाट निर्विरोध निर्वाचित पदाधिकारी तथा नयाँ पदाधिकारीहरूले कर्णाली प्रदेशको निर्माण व्यवसाय क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्ने बताएका छन् । निर्माण व्यवसायीहरूले प्रदेशमा विकास निर्माणका आयोजना सञ्चालन गर्दा देखिएका समस्या समाधान, ठेक्का प्रक्रियामा सुधार तथा व्यवसायीका हकहितका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिएका छन् ।
महासंघको नयाँ नेतृत्वले निर्माण व्यवसायी र सरकारबीच समन्वय बढाउँदै प्रदेशमा विकास निर्माणका कामलाई गति दिन पहल गर्ने अपेक्षा गरिएको छ । अध्यक्षमा निर्वाचित बमसहित पदाधिकारी र सदस्यहरूले निर्माण व्यवसायीका साझा समस्या समाधानका लागि संस्थागत रूपमा पहल गर्ने बताएका छन्।