कर्णालीमा बढे मानवअधिकार उल्लंघनका घटना

सुर्खेत: कर्णाली प्रदेशमा पछिल्लो एकबर्षमा मानव अधिकार उल्लंघन तथा ज्यादतीबाट झन्डै पाँच सय पिडीत भएको पाइएको छ । आइतबार इन्सेक कर्णाली प्रदेशले पत्रकार सम्मेलन मार्फत मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिक गर्दै अघिल्लो बर्षको तुलनामा यो बर्ष मानवअधिकार उल्लंघनका घटनामा बृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेको हो ।
कर्णाली प्रदेशमा सन् २०२१ को तुलनामा सन् २०२२ मा मानवअधिकार उल्लंघन तथा ज्यादतिका घटनामा बृद्धिभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । वर्ष पुस्तकमा कर्णालीमा मानव अधिकार उल्लंघन र ज्यादतिका घटनामा चार सय ९६ जना पीडित भएको उल्लेख छ ।
जसमा राज्यपक्षबाट ३३ जना पीडित भएका छन् भने अन्य पक्षबाट चार सय ६३ पीडित भएको वर्ष पुस्तकमा उल्लेख गरिएको छ । कर्णालीमा सन् २०२१ मा तीन सय ९६ जना पीडित भएको जनाइएको छ ।
सबैभन्दा धेरै महिला अधिकार सम्बन्धी दुई सय ११ जना पीडित भएका छन् भने बालअधिकारका ८०, कुटपिटबाट एक सय ११ जना पीडित भएका छन् ।
यस्तै १३ जनाको हत्या भएको छ भने २७ जना घाइते भएको वर्ष पुस्तकमा उल्लेख गरिएको छ । वर्ष पुस्तकमा पश्चिम सुर्खेतको पञ्चपुरी– २ मा श्रीमान्ले श्रीमतीको विभत्स हत्या गरेको, वीरेन्द्रनगर–१३ भुतचोकका धनिराम लामिछानेको डिभिजन वन कार्यालय वीरेन्द्रनगरमा भएको मृत्युको घटनालाई गम्भीर रुपमा लिएको इन्सेकले जनाएको छ ।
यस्तै गुर्भाकोट नगरपालिका–२ का सात बर्षिय बालिकाको बलात्कारपछि भएको हत्यालाई इन्सेकले गम्भीर घटनाको रुपमा लिँदै प्रतिवेदनमा समावेश गरेको छ । कर्णालीमा ८८ जना बलात्कारको घटनामा, बलात्कार प्रत्यासका ११ जना गरी एक सय २१ जना पीडित भएको जनाइएको छ । यसैबीच कर्णालीका ७९ स्थानीय तहमध्ये नांै स्थानीय तहमा मात्रै मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना नभएको पाइएको हो । सबैभन्दा धेरै वीरेन्द्रनगरका ३८ जना पीडित भएको जनाइएको छ, भने ५६ स्थानीय तहमा एकदेखी १० जनासम्म पीडित भएको घटना इन्सेकको अभिलेखमा उल्लेख गरिएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले पछिल्ला वर्षहरुमा मानवअधिकार उल्लंघनका घटनाहरु बढ्दै गएको बताए ।
उनले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि पारिवारिक हत्याका विभत्स घटनाहरुको संख्या धेरै रहेको बताए ।
संयोजक सुवेदीले गत वर्षको तुलनामा यसवर्ष पनि मानव अधिकारको घटनामा सुधार हुन नसकेको भन्दै यसको लागि सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।
उनले कालिकोटमा भएको बम विष्फोटमा परी तीन जनाको मृत्यु घटना पनि गम्भीर भएको भन्दै घाइते र मृतकका परिवारले अहिलेसम्म पनि क्षतिपुर्ति नपाएकोप्रति चिन्ता व्यक्त गरे ।
कार्यक्रममा सहभागी पत्रकारहरुले घटनाको सत्यतथ्य बुझेर सम्बन्धित निकायलाई जवाफदेखी बनाउन सञ्चार क्षेत्र तयार रहेको बताएका थिए । पत्रकारहरुले अहिले विभिन्न गाउँ समाजमा थुप्रै खालका मानवअधिकार उल्लंघनका घटना भएपनि त्यस्ता घटनाहरु बाहिर आउन नसकेकोले इन्सेकले मसिनो तरिकाले खोजबिन गर्नुपर्ने सुझाव दिएका थिए ।