नन्द बहादुर रोकाया
मुगु : मुगुम कार्मारोङ गाउँपालिका–८, माग्री गाउँकी ६२ वर्षीया कुन्जुम पाल्पु लामा ६ दशकदेखि ‘अनागरिक’ भएर जीवन बिताउन बाध्य छिन् । राज्यले कुनै पनि नागरिक सेवा–सुविधाबाट बञ्चित नहुने नीति दोहो¥याइरहे पनि कुन्जुमको वास्तविकता भने त्यसको ठिक विपरित छ । नागरिकता अभावकै कारण उनी आधारभूत अधिकार र सरकारी सेवा–सुविधाबाट टाढा रहँदै आएकी छन् । शारीरिक रूपमा अशक्त कुन्जुमको दैनिकी अत्यन्त कष्टकर छ ।
उनको सहाराका रूपमा रहेका दाइ यांगेप लामा स्वयं पनि पूर्ण रूपमा सक्षम छैनन्। उनी पनि शारीरिक रूपमा अशक्त छन् । दुवै जना एकअर्काको भरमा जीवन धानिरहेका छन् । ‘बहिनी शारीरिक र मानसिक रूपमा अशक्त छिन् । म आफैँ पनि पूर्ण रूपमा सक्षम छैन,’यांगेपले भने, ‘कुन्जुमको अहिलेसम्म नागरिकता बन्न सकेको छैन ।’ नागरिकता नबनेकै कारण कुन्जुमले अपांगता परिचयपत्र बनाउन सकेकी छैनन् । वृद्धभत्ता, अपांगता भत्ता, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा लगायत राज्यले उपलब्ध गराउने आधारभूत सेवाबाट उनी बञ्चित छिन्।
आमा एउटै भएपनि बुवा फरक भएकोले कुन्जुमका बुबाको नागरिकता सम्बन्धी कुनै अभिलेख फेला परेको छैन । यही कारण उनको नागरिकता प्रक्रिया थप जटिल बनेको छ । आवश्यक कागजात अभाव, विकट भौगोलिक विकटता र प्रशासनिक पहुँचको अभाव मुख्य बाधक बनेको वडा नम्बर ८ का वडाअध्यक्ष पेमा टोन्डुल लामाले बताए । वडा कार्यालयले कुन्जुमको नागरिकता र अपांगता परिचयपत्र बनाउन आवश्यक पहल गर्दै आएपनि पुराना अभिलेख नभएका कारण समस्या भएको लामाले बताए ।
नागरिकता व्यक्तिको पहिचानसँगै व्यक्तिगत अधिकार प्राप्त गर्ने आधार भएपनि कुन्जुमले जीवनका ६ दशक पार गर्दा पनि त्यो अधिकार पाउन सक्नुभएको छैन । नागरिकता नबनेकै कारण उहाँलेसामाजिक सुरक्षा भत्ता पाउन सक्नुभएको छैन । नेपालको संविधानले प्रत्येक नागरिकलाई शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर, दुर्गम क्षेत्रमा बसोबास गर्ने गरिब, अशक्त तथा असहाय नागरिक अझै पनि ती अधिकारबाट वञ्चित भएका छ्न ।
प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले आवश्यक कागजात र प्रक्रियाका आधारमा नागरिकता दिन सकिने बताए । ‘सम्बन्धित व्यक्तिको अवस्था संवेदनशील भएकाले प्रशासनले आवश्यक सहजीकरण गर्नेछ,’उनले भने, ‘वडाबाट आवश्यक सिफारिस र प्रमाण जुटेपछि कानुन अनुसार नागरिकता उपलब्ध गराउने विषयमा प्रशासन सकारात्मक छ ।’
कुन्जुम र उहाँका दाइ यांगेप लामाको आर्थिक अवस्था पनि अत्यन्त कमजोर रहेकोले दैनिक खान–लाउनको समेत समस्या भएको स्थानीयवासीले बताएका छन् ।

खुलानजर । २६ जेष्ठ २०८३, मंगलवार ०९:२१