शिक्षा सुधारको जिम्मेवारी विश्वविद्यालयले लिनुपर्छ : शिक्षामन्त्री पौडेल

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ। मंगलबार मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा सुधारको जिम्मेवारी विश्वविद्यालयहरूको काँधमा रहेको बताएका छन्।
दक्ष जनशक्ति उत्पादन गरी मुलुकलाई समृद्धिको मार्गचित्रमा डोर्याउने दायित्व विश्वविद्यालयको रहेको उनले बताए। विश्वविद्यालयका सह–कुलपतिसमेत रहेका पौडेलले सरकारले तीनै तहका शिक्षा प्रणालीलाई कानूनी, शिक्षण सिकाइ र भौतिक सुधारको प्रयत्न गरिरहेको बताए। ‘माध्यमिक, उच्च शिक्षा र व्यवसायीक तथा प्राविधिक शिक्षालाई व्यवस्थित गर्न ५५ बुँदे सुधारको मार्गचित्र अघि बढाएका छौं,’उनले भने, ‘तीनै तहका शिक्षा प्रणालीलाई सुधार गरी अन्तराष्ट्रिय मापदण्डको शैक्षिण गुणस्तर अभिवृद्धि गर्न सरकारले शैक्षिक पुनर्संरचनामा जोड दिएको छ।’
उनले संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन र प्रतिष्ठानलाई व्यवस्थित गर्न बनेको ऐनको मस्यौदा तयार भइसकेको जानकारी दिए। शिक्षासम्बन्धी यी ऐन बनेपछि समग्र शैक्षिक प्रणालीमा सुधार आउनेमा विश्वास व्यक्त गरे। विश्वविद्यालयको पुनर्संरचनाको जरुरी रहेको भन्दै मन्त्री पौडेलले शिक्षालाई सीप र सीपलाई रोजगारीसँग जोड्नुपर्ने धारणा राखे।

यसका लागि सरकारले सात वटै प्रदेशमा मेडिकल शिक्षा पढाइ हुने कलेज स्थापना गर्ने प्रक्रिया थालनी गरेको तथा १४० वटा विद्यालयमा पढ्दै–कमाउँदै कार्यक्रम लागू गरेको उनको भनाइ छ। विश्वविद्यालयका उपकुलपति प्रा। डा। नन्दबहादुर सिंहले विश्वविद्यालयका ६ वटा भवनहरू निर्माण सम्पन्न भई हस्तान्तरण प्रक्रियामा रहेका, सात वटा बहुवर्षीय परियोजनाहरु शुरु गरेको, स्मार्ट टेक्नोलोजीमा आधारित संरचनाको विकास गर्ने लक्ष्य अनुरुप चालू आवलाई ‘एकेडेमिक एक्सेलेन्सी र भौतिक पूर्वाधार विकास वर्ष’का रूपमा कार्यसम्पादन भइरहेको बताए।

शिक्षामन्त्री पौडेल, नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थी र उपकुलपति सिंहले कुलपति, उपकुलपति पदकका साथै सुर्खेत उद्योग वाणिज्य संघ स्वर्ण पदक प्राप्त विद्यार्थीहरूलाई दीक्षित गरेका हुन्। दीक्षित हुने ५१९ विद्यार्थीमध्ये कुलपति पदक ९, उपकुलपति पदक १८ र सुर्खेत उद्योग वाणिज्य संघ स्वर्णपदक ५ जनालाई प्रदान गरिएको थियो।