सुर्खेत: कर्णाली प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री तथा कांग्रेसका नेता यज्ञबहादुर बुढाक्षेत्रीको निधन भएको छ । ७१ वर्षीय बुढाक्षेत्रीको सोमबार उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा निधन भएको हो । लामो समयदेखि मिर्गौला रोगबाट पीडित बुढाक्षेत्री पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–६ ब्यूरेनीका स्थायी बासिन्दा हुन् ।
उनको निधनमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले र नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दुःख व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र पश्चिमवासी जनताहरुले उनकोे निधनमा दुःख व्यक्त गरेका छन् ।

बुढाक्षेत्री २०७४ सालको प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिकतर्फ सदस्य बनेका थिए । २०७८ जेठ २३ गते र ०७८ माघ २३ गते उनी कर्णाली प्रदेशको सामाजिक विकास मन्त्री बनेका थिए । एउटै मन्त्रालयमा उनले दुई कार्यकाल (करिब १६ महिना) मन्त्रीका रुपमा काम गरेका थिए ।
कांग्रेसको राजनीतिमा पञ्चायतकालदेखि सक्रिय बुढा पूर्व क्षेत्रीय सभापति समेत हुन् । उनी एक कार्यकाल जिल्ला समितिको उपसभापति थिए । यतिबेला उनी कांग्रेसको महासमिति सदस्य थिए । २०७२ सालमा कांग्रेस सुर्खेत जिल्लाको सभापतिमा कमलराज रेग्मीसँग तीन मतले पराजित भएका थिए ।

शिक्षकदेखि मन्त्रीसम्म
यज्ञबहादुर बुढाक्षेत्रीले कुनै समय शिक्षक थिए । उनले झण्डै डेढ दशक शिक्षण पेशामै बिताए । उनले २०२९ सालदेखि २०४३ सालसम्म शिक्षण गरे । २०४३ सालमा उनले शिक्षण पेशा छोडेर पोखरीडाँडा पञ्चायतको प्रधानपञ्च बने ।
२०४६ सालको जनआन्दोलनपछि उनी नेपाली कांग्रेस तत्कालीन १० नम्बर इलाकाको सभापति भए । २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा उनी पोखरीकाँडा गाविसको अध्यक्षमा निर्वाचित भए । २०५२ सालदेखि २०७२ सालसम्म पार्टीको क्षेत्रीय सभापति बने उनी । बुढाक्षेत्रीले २०६२–०६३ को जनआन्दोलनमा सक्रिय भूमिका खेलेका थिए । छुट्टै प्रदेशको माग गर्दै थालिएको कर्णाली आन्देलनको नेतृत्व पनि गरे उनले ।
२०७२ सालमा भएको पार्टीको १३ औं महाधिवेशनमा जिल्ला सभापतिमा चुनाव लडेका थिए उनले । उक्त चुनावमा तीन मतको झिनो अन्तरले पराजित भए उनी । स्थानीय निकायको नेतृत्व गर्दा उनले शिक्षा क्षेत्रको विकासमा भूमिका खेले ।

प्रधानपञ्चदेखि सामाजिक विकास मन्त्री हुँदासम्म उनले दूरदराजका गाउँमा विद्यालय स्थापना, स्वास्थ्य संस्थाको विकास र स्थापनामा उनको भूमिका छ । ‘शिक्षालाई नै विकासको मूल आधार’ मान्य बुढाक्षेत्री सदैव सामाजिक कार्यमा अग्रसर भए । मृत्यू हुनुभन्दा केही दिन अगाडी उनले आफ्नो गाउँ बराहताल–६ का स्थानीयलाई सम्बोधन गर्दै पहिला पश्चिमको विकासका लागि आफु लडेको र अहिले रोगसँग लडिरहेको बताएका थिए । सामाजिक विकास मन्त्रालयको नेतृत्वसँगै उनले शिक्षा, स्वास्थ्य, खेलकुद र युवा सहभागितालाई प्राथमिकता दिएका थिए ।


खुलानजर । १७ मंसिर २०८२, मंगलवार ०९:५७